पूर्वको ‘पशुपतिनाथ’ मा भक्तजनको घुइँचो (फोटोफिचर)

सिन्धुली साैगात संवाददाता २०७५ चैत ३० गते शनिवार खोटाङ

halesi-main
 

रामनवमीको अवसरमा पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको बाक्लो भीड लागेको हो ।

 

halesi-8

 

मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थीहरुको उपस्थिति रहेको छ । किरात, बौद्ध र हिन्दुधर्मालम्बीहरुको त्रिवेणी(धाम मानिने हलेसीमा सडक बिस्तार भएसँगै दर्शनार्थीहरु उल्लेख्य रुपमा आएका छन् ।

 

 

उदयपुरको कटारी–घुर्मी तथा घुर्मी–दिक्तेल सडक खण्डमा पर्ने सुनकोशी र दुधकोशीमा बेलीब्रीच बनेपछि यस पल्ट हलेसी आउने दर्शनार्थीहरुको संख्या बढ्दै गएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोशी तथा उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोशीमा बेलीब्रीज बनेपछि सिधै काठमाडौं, धरान, बिराटनगर, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् ।

 

 

धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुंदेलो गुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको स्थानीय बताउछन् ।

 

 

हलेसी महादेवको दर्शन गर्न र मेला भर्न आउनेहरु बाहेक आफुलाई आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नेहरुको पनि उत्तिकै भीड लागेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । तराईसँग सिधा यातायात जोडिएकाले आवश्यक सामाग्री सस्तोमा पाइने भएपछि सामग्री खरिद गर्ने उपभोक्ताहरुको पनि उत्तिकै भीड लागेको हो ।

 

 

मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको छ ।

 

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायत अवसरमा ठूलो मेला लाग्ने गरेको छ ।

 

यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत ठूलो मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने मेला लाग्ने गरेको छ ।

न्युज २४ बाट साभार

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top