यस्ती भइन् एसिड आक्रमण पिडित सिमा (हेरौँ २१ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २९ गते शुक्रवार काठमाडौं

sima-basnet-acid
 

०७१ साल फागुन १० गते सिमा बस्नेत र संगीता पुलामी मगरमाथि एसिड प्रहार भएको थियो । त्यसबेला उनी एसएलसी परीक्षाको तयारी गरिरहेकी थिइन्। बिहानको ६ बजेतिर ट्युसन कक्षामा बसेर साथीहरूसँग हिसाब सिकिरहेको अवस्थामा एक्कासि एसिड छ्यापेर फरार जीवन विक सजाय भोगिरहेका छन् ।

 

उनले वीर अस्पतालबाटै परीक्षा दिइन्। पास पनि भइन्। कलेज पढ्न सुरु गरिन्। सीमा एसिडको दाग भुल्न चाहन्थिन् तर सहपाठीले घरीघरी गर्ने अप्ठ्यारो व्यवहारले उनलाई पीडा हुन्थ्यो। घटनाअघि अत्यन्तै मिल्ने साथीहरू तर्केर हिँड्न थालेका थिए, समाजले हेर्ने दृष्टि बदलिएको थियो ।

 

 

अरु तस्बिरहरु तल छ ।

 

 

अहिले भने उनको अनुहारमा छ्यापिएका एसिडका दागहरु देखिन्छन् । उनी सुन्दर भएकि छिन् ।

 

मानिसको त्यस्तो व्यवहारले उनलाई झन् आत्मबल दिलायो। यही क्षेत्रमा केही गर्छु भन्ने आत्मविश्वास बढ्यो। उनी भन्छिन्, ‘म यसै क्षेत्रमा निरन्तर लागिरहेँ। विश्वमा भएका एसिडपीडितबारे खोज्न थाले, सबैभन्दा बढी भारतमा एसिड आक्रमण हुँदोरहेछ। त्यहाँका साथीहरूसँग सम्पर्क  गरौँ। बुझ्नकै लागि नोयडासम्म पुगेँ ।’

 

भारत सरकारले एसिड पीडितका लागि नोयडामा होटल खोलिदिएको रै’छ। वैशाखमा उनी त्यहाँ तीन महिनासम्म काम गरेर आइन्। उनीहरूले त्यहाँ गरेको काम र मिहिनेत देखेर उनलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लाग्यो। दुई महिनाअघि नेपाल फर्केर यही क्षेत्रमा काम गरिरहेकी छन् ।

 

रौतहटको बाग्मतीमा जन्मिएकी सीमा जन्मँदै बाबुको मायाबाट वञ्चित थिइन्। उनलाई बुवा को हो भन्ने थाहासम्म छैन। जन्मनुअघि नै बुवाआमाको सम्बन्ध बिग्रिसकेको थियो। आमाको माया पनि उनले पाउन सकिनन् । उनी हजुरबुवा, हजुरआमासँग वसन्तपुरमा बस्दै आएकी छन्। उनका हजुरबुवा सुन पसलमा सेक्युरिटी गार्ड छन् ।

 

सानै उमेरमा अनुभवले खारिएकी उनीसँग केही राम्रा योजना पनि छन्। नेपालमा एसिड आक्रमणलाई रोक्न सचेतना जरुरी देख्छिन् उनी। जसले जहाँ मन लाग्यो त्यहीँ एसिड किन्न पाइने अवस्था बन्द हुनुपर्छ। धेरैजसो एसिड आक्रमणको कारण एकोहोरो प्रेम देखिन्छ। यो एकदम गलत कुरा हो ।

 

 

सरकारसँग उनका केही माग पनि छन्। भन्छिन्, ‘एसिडबाट जलेका सबै पीडितलाई जागिर दिनु सरकारको कर्तव्य हो। तत्कालै यो व्यवस्था कानुनमै सुनिश्चित गरिनुपर्छ। उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्छ। पीडित व्यक्ति सहज तरिकाले समाजमा बस्न पाउने र जीवनयापनको बाटो अपनाउन सक्ने अवस्था सिर्जना हुनुपर्छ ।’

 

एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ । र, त्यसले निकै पीडाबोध हुन्छ । उनी केहि वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।

 

सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी । सीमा भन्छिन्, ‘मानसिक, शारीरिक र आर्थिक रूपमा एसिड पीडितलाई सधैं हौसलाको खाँचो पर्छ। आफूले नपाएको साथ म अरू दिदीबहिनीलाई दिन चाहन्छु ।’

 

उनलाई अहिले पनि केहि घट्नाले घोचिरहन्छ । रौतहटमा एसिड आक्रमणमा परेका दिदीबहिनी सम्झना र सुस्मिता दासलाई उपचार खर्च जुटाउन सीमा हरेक दिन सक्रिय रूपमा लागेकी थिइन् । उपचार गर्दागर्दै सम्झनाको मृत्यु भयो । हरेक दिन अस्पताल जाने बिरामीको सहयोगमा जुट्ने, परिवारलाई सहयोग गर्ने काममा उनी तल्लीन भइन् ।

 

 अरु तस्बिरहरु तल छ ।

 

 

सम्झनाको मृत शरीरसँगै उनी जब रौतहट पुगिन्। बाग्मती किनारमा सम्झनाको परिवारसँगै लास जलाउन लाग्दा उनको मोबाइलमा एउटा कारुणिक म्यासेज आयो। डाटा खोलेर समाचार हेरिन्, नवलपरासी डण्डाकी २८ बर्से वसन्ती परियारलाई एसिड खन्याएर चक्कु प्रहार गरी अनुहार क्षतविक्षत पारिएको खबर थियो ।

 

उनी भन्छिन्, ‘त्यो खबरले एकछिन त केही बोल्नै सकिनँ, सोच्न थालेँ, कहिलेसम्म खुल्लमखुला चलिरहने हो यो एसिड आक्रमण ? कति जना कुरुप भएर बाँच्नुपर्ने हो ? यसविरुद्ध अब केही गर्नै पर्छ भन्ने अठोट लिएँ ।’

 

उनी सोही दिन काठमाडौं फर्किइन्। केही खर्चको जोहो गरिन्। अर्को दिन भरतपुर अस्पताल पुगिन्। जहाँ वसन्तीको उपचार गराइँदै थियो। वसन्तीको अनुहार हेर्न नसक्ने अवस्थामा थियो। एसिड प्रहार भएको अनुहारमा चक्कुको आक्रमणले एउटा आँखा पूरै ड्यामेजजस्तै देखिन्थ्यो। सीमा भन्छिन्, ‘वसन्तीको अनुहार हेर्न नसकेर रुन मात्रै आयो मलाई ।’

 

अरूलाई सहयोग गर्ने एउटा निःस्वार्थी मन सिमामा छ। जहाँ एसिड आक्रमणको घटना हुन्छ, सहयोग गर्न त्यहीँ टुप्लुक्क पुग्छिन् उनी ।

 

उनले एसिड पीडितलाई सहयोग गर्नु आफ्नो कामभन्दा पनि कर्तव्यका रूपमा बुझेकी छन्। पीडितलाई जीवित राख्नु आफ्नो कर्तव्य ठान्छिन् उनी। पैसा अभावमा कुनै एसिडपीडितले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सोचसाथ आफूले काम गर्न खोजेको उनले बताइन् । नेपालमा एसिड जहाँतहीँ पाइने, खुलेआम व्यापार भइरहेकाले पनि अपराध बढिरहेको उनको बुझाइ छ। एसिड व्यापारमा सरकारले कडाइ गर्नुपर्ने र अपराधीलाई कडा सजाय हुनुपर्ने उनको माग छ। एसिड प्रहार गर्नेलाई फाँसी दिनुपर्ने उनको माग छ । देउराली पोष्टबाट साभार

गायिका होइन, नेता बन्ने

 

मलाई थाहा छ मैले राजनीति गर्छुभन्दा धेरैले उडाउन सक्छन्, म त राजनीतिको क, ख सिक्न अघि बढेकी छु ।

गायिका बन्ने कोमल फूलको बाटो त्यागेर, नेता बन्ने काँडाको बाटो नै किन रोजिन् त यी घाइते किशोरीले ?

 

सीमाले भनिन्, एसिड आक्रमणपछि अस्पतालमा बस्दा मलाई लाग्यो कि, समाजमा परिवर्तन ल्याउन र महिला वालिकाको अधिकारका लागि लड्न राजनीतिभन्दा सशक्त माध्यम अरु छैन ।

 

नेतालाई सरापेर देश बन्दैन

 

सीमाको उमेरका साथीहरु अझ भनौं युवा पुस्ताका नेपालीले राजनीति र नेतालाई धेरै गाली गर्छन् । उनलाई थाहा छ कि भविष्यमा राजनीति गर्ने उनको घोषणालाई त्यो उमेर समूहका धेरैले खिल्ली उडाउन सक्छन् । तर, सीमाको अन्तरमनले भनिसकेको छः समाजलाई परिवर्तन गर्ने हो भने राजनीतिको विकल्प राजनीति नै हो ।

 

‘मलाई थाहा छ मैले राजनीति गर्छुभन्दा धेरैले उडाउन सक्छन्, म त राजनीतिको क, ख सिक्न अघि बढेकी छु’ सीमा भन्छिन् ‘नेतालाई गाली गरेर वा घृणा गरेर राजनीति सप्रिँदैन, राम्रा मान्छे राजनीतिमा लागेपछि नराम्रा स्वतः पाखा लाग्छन्’ ।

 

नेतालाई गाली गरेरमात्रै नागरिक दायित्व पूरा हुँदैन भन्ने उनले अस्पताल बसाइकै क्रममा बुझ्नि । त्यसैले भन्छिन्, सबै नेता खराब छैनन् । किनारामा बसेर राजनीतिलाई गाली गर्नेहरुले नदीमा पस्ने आँट गर्नुपर्छ । होइन भने राजनीतिलाई घृणा गरेर नागरिक दायित्व पूरा हुँदैन ।

 

सिमाले प्रधानमन्त्री ओलीलाई केहि समयअघि लेखेको पत्र

 

सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओलीज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ ।

 

विषयः ध्यानाकर्षण गराइएको ।

 

आज म यो पत्र कोर्न विवश छु । त्यसो त यो पत्र मैले आजमात्र कोरेको पनि होइन । पूर्वप्रधानमन्त्री सुशील कोइराला, पुष्पकमल दाहाल र हजुरसम्म आइपुग्दा तेस्रो शृंखला पूरा भइसकेको छ । र पनि म पत्र लेखिरहन अभिशप्त छु । सायद अरू पनि ।

 

भनिरहनु नपर्ला म सीमा बस्नेत हुँ । चिन्नुभयो पक्कै, आजभन्दा झन्डै चार वर्षअघि बसन्तपुर झोँछेमा एसिड आक्रमणमा परेकी प्रताडित चेली ।

 

सोही आक्रमणकी मुख्य निशाना संगीता मगर त अझै घरबाहिर निस्कन सक्दिनन् । अपराधकर्मको सिकार भएकी संगीता स्वयम् अपराधीझैँ घरभित्र मुन्टो लुकाएर बसिरहन बाध्य छिन् ।

 

मलाई थाहा छ– यो पत्रले केही हुने छैन । ऐनकानुनका ठेली सिरानी हालेर सुतको विशाल हात्तीको तिघ्रामा भुसुनाले टोकेर सरह नै हो यो । सत्ताको कुर्सीमा बिराजमान तपाईंलाई पनि यो पत्र पढ्ने फुर्सद नै कहाँ होला र !

 

तै पनि दिनहुँ बढेको बलात्कारका घटना, काखेनानीदेखि उमेरले डाँडापारी पुगिसकेका वृद्धासम्म रक्तमुच्छेल भएका, वस्त्रविहीन, हिलोमा उँधोमुन्टो बनाएर गाडेको अवस्थामा फेला परेको घटनाले आहत भएर पत्र कोर्ने धृष्टता गर्दैछु ।

 

सम्माननीय प्रधानमन्त्रीज्यू !

 

नेपालमा बलात्कार, तेजाब आक्रमण सामान्य भइसक्यो । मानौँ न यो कुनै अपराध नै होइन । मूल्यविहीन बस्तुलाई पैतालाले दबाएजस्तै हो । आजैमात्र समाचार पढ्नुभयो होला दुईमहिनाको अवधीमा झन्डै तीन सय बलात्कारका घटना भए । के तपाईंको राज्यमा हामी छोरीहरूको बाँच्ने कुनै अधिकार छैन ? छोरी भएर जन्मनु अभिशाप हो ?
अर्को एउटा कारूणिक घटना सुनाउँदैछु । हुन त पत्रपत्रिका पढ्ने तपाईंलाई ज्ञात भएकै कुरा हो– रौतहट, चन्द्रनिगाहपुरका दुई किशोरीलाई कुनचाहिँ अपराधीले तेजाब खन्याइदियो ।
तीजको रामरमितामा तपाईं बालुवाटारमा मस्त भइरहँदा दरखाने दिनको रात उनीहरूमाथि तेजाब खन्याइयो, घरमा सुतेको अवस्थामा ।
अस्पताल गएर हेर्नुहोला प्रधानमन्त्रीज्यू तपाईंका नातिनीतुल्य ती छोरीहरू एसिडको जलनले तड्पिइरहेका छन् ।

 

१८ वर्षीया सम्झना त आज मर्छिन् कि भोलि कुनै टुंगो छैन । बाँचे पनि संगीताजस्तै घरबाहिर निस्कन सक्दिनन् । जिन्दगीलाई तेजाबले सदाका लागि डडाइसकेको छ उसको । मुढोजस्तै बाँच्ने हो ऊ । कलेजोको टुक्रा छोरी जलेको पीडामा बाबु आँसु बनेर बगिरहेका छन् । उपचार गर्ने पैसा नहुँदा अप्रेसन थिएटरमा रहेकी सम्झनाको शरीरमा कतिखेर स्लाइनको थोपा रित्तिने हो, भन्न असमर्थ छु ।

 

अस्पताल पुग्ने जो कोहीको मन थामिदैन । प्रधानमन्त्रीज्यू तपाईंको राज्यमा छोरी भएर जन्मिएवापत् तेजाबको आगामा जल्नुपर्छ हो ? विवाह गर्न नमान्दा, भनेजति दाइजो नदिँदा, मनपराउने केटासँग बिहे नगर्दा तेजाबको सामना गर्नुपर्छ हो ?

 

तपार्ईंंको गृहप्रशासनलाई अपराधी खोजिदेओ न त भनेर जाहेरी लिएर गयो दर्ता गर्नै मान्दैन । प्रमाण लिएर आइजो भन्छ । बलात्कृत चेलीहरूको अवस्था त झन् नाजुक छ । बलात्कृत भएको सबुद बटुल्नेदेखि अपराधीको पहिचानसम्म आफैँ गर्नुपर्छ । फेरि प्रहरीले सबुद जोगाइदिने हो होइन !

 

थाहा पाइहाल्नुभयो, कञ्चनपुर, भीमदत्तनगरकी निर्मला पन्त प्रकरण ।
प्रहरी आफैँले प्रमाण नष्ट गरेको । बलात्कृत निर्मलाको रगत, वीर्य लत्पतिएको सुरुवाल प्रहरीले स्वयम्ले पखालेको । यस्तो घटना भिडियोमार्फत थाहा पाउँदा तपाईंलाई कस्तो लागेको छ प्रधानमन्त्रीज्यू ? रक्षक प्रहरी, सुरक्षाकर्मी आफैँ भक्षक भनिरहँदा न्यायका लागि हामी छोरीचेली कहाँ जाने ? कुन लोक जाने ? देखाइदिनुप¥यो प्रधानमन्त्रीज्यू !

 

बलात्कृत भएर अपराधी समात्न प्रहरी प्रशासनकहाँ पुग्यो तलदेखि माथिसम्मका हाकिमले मुख मिठ्याईमिठ्याई सोध्छन्– कहाँ बलात्कार भयो रे ! कसले बलात्कार ग¥यो रे !

 

रक्तमुच्छेल छोरीचेलीले कसरी भनुन्– आफूमाथिको बज्रपात । कसरी सुनाउन् चिताउँदै नचिताएको घटना ? तपाईंको राज्यको न्याय यही हो प्रधानमन्त्रीज्यू ?

 

सरकारमा बसेका मान्छेका पनि छोरीचेली होलान् । निर्मलाका बाबुआमाजस्तै उनीहरूको दुख्ने मुटु र रसाउने आँखा होला । कदाचित् उनीहरूको छोरीचेली उखुबारीमा भेटिएको भए, तेजाब खन्याएर जिन्दगी क्षतविक्षत तुल्याएको भए न्याय दिन यत्तिकै ढिला हुन्थ्यो ? सरकार यस्तै चिसो, निर्जीव हुन्थ्यो ? जवाफ दिनैपर्छ तपाईंले प्रधानमन्त्रीज्यू !
म भन्दिनँ बलात्कारी र तेजाब प्रकरणका दोषी ठहर गरिएकाले फाँसीको तख्तामा झुन्ड्याउनुहोस् । इरानमा जस्तै सार्वजनिक स्थलमा ढुंगाले हानीहानी मार्नूहोस् । तर आफैँले बनाएको कानुन कार्यान्वयन गर्न किन यति जुम्सो ? किन यति लाचार ? किन यति निरिह ? मलाई नदिए पनि सायद यसको जवाफ इतिहासलाई तपाईंले दिनैपर्छ ।

 

मध्ययुगमा पनि छोरीचेली सुरक्षित थिए । उनीहरूको सम्मान थियो । अहिले त घरकै छानामुनि, आफ्नै हाडनाताबाटै, आफन्तकै हातले चिथोरिएर, कोपरिएर, रक्तमुच्छेल भएर छोरीहरू मारिइरहँदा तपाईंको मन कत्ति पनि रोएको छैन प्रधानमन्त्रीज्यू !

 

हामीलाई आशा थियो– तपाईंको शासनमा हामी छोरी चेलीको आँसु नबग्लान् । विडम्बना रगत पो बग्यो । न्याय माग्न जाँदा निहत्था, निमुखाले न्याय होइन गोली पुरस्कार पाए ।

 

यो घटना घटेदेखि मेरो शीर लाजले निहुरिएको छ । तपाईंप्रतिको आशा निराशामा बदलिएको छ । तपाईंलाई मत दिने मेरा हातले पश्चाताप गरिरहेका छन् । ठूलो ग्लानी छ प्रधानमन्त्रीज्यू मलाई !

 

समय अझै घर्किइसकेको छैन प्रधानमन्त्रीज्यू ! अपराधी दण्डित तुल्याएर न्यायको गजुर हल्लन नदिनूस् । दुईतिहाई मतको सम्मान गर्नूहोस् ।
तपाईं र तपाईंको पार्टीलाई मत दिने जनताको एक–एक मतप्रति तपाईं जिम्मेवार हुनैपर्छ । एकएक हिसाब चुक्ता गर्नैपर्छ । कर्तव्यनिष्ठ बन्नैपर्छ । अन्यथा बलात्कृत, तेजाबले डढेका चेलीको आँसु लाग्छ प्रधानमन्त्रीज्यू ।

 

तपाईंलाई थाहा छ, दोषीलाई दण्ड नदिनु भनेको अपराधीको संरक्षण गर्नु हो । अपराधी संरक्षित हुनु भनेको राज्य नै अपराधमैत्री बन्नु हो ।
अपराधमैत्री यस्तो तुच्छ राज्य हाम्रा पूर्वज, पुर्खाहरूले कहिल्यै कल्पना गरेनन् प्रधानमन्त्रीज्यू ! तपाईंले पनि यस्तो राज्यको सपना देख्नुभएन होला । नत्र जीवनको ऊर्जाशील १४ वसन्त सायदै जेलमा व्यतीत गर्नुहुन्थ्यो ।

 

अन्तिममा,

 

महिलाको आँसुको जगमा खडा भएको हो यो राज्य । रगगको भेलले पखालिने दिन नआओस् । प्रकान्ड विद्वान् तपाईंलाई थाहा छ– नारी सृष्टिकर्ता हुन् र संहारकर्ता पनि ।

 

नारीमाथि बर्बर आक्रमणको शृंखला नरोकिने हो भने दुनियाँको कुनै तागतले तपाईंको सत्ता जोगाउनेवाला छैन प्रधानमन्त्रीज्यू !
तपाईंलाई मत दिने आधा जनसंख्या महिलाको छ, तिनैको आँसुले तपाईंका सपनालाई क्षणभङ्गुर नबनाऊन् !

 

शुभकामना !
सम्पूर्ण पीडितहरूको तर्फबाट
सीमा बस्नेत
तेजाब आक्रमणकी घाइते
हाल वसन्तुपुर
मितिः २०७५, १ असोज

हेरौँ उनका २१ तस्बिर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

sima-18

 

पहिलेको तस्बिर

 

 

 

 

 

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top