आन्दोलनको समाधान खोज

सम्पादकीय २०७५ चैत २९ गते शुक्रवार सिन्धुली

 

कर्मचारी समायोजनका क्रममा केन्द्र सरकार मातहत मात्र राखिनुपर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् । समायोजन प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि एक हप्तादेखि स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई निकै सास्ती भएको छ ।

 

 

सरकारी सेवा ठप्प हुँदा बिरामीहरु महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन जान बाध्य भएका छन् । ७ दिनदेखि अस्पतालको सेवा ठप्प हुँदा पनि सरकारले आन्दोलनरत चिकित्सकहरुसँग वार्ताको पहलसम्म गरेको छैन । बिहिबार भने सरकारले आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले जायज माग पूरा गर्ने भन्दै एक दुई दिनमा समस्या समाधान हुने दावी गरेका छन् । चिकित्सहरुको जायज माग पूरा गर्ने आश्वासन दिएपनि चिकित्सहरु सहमतिमा आउने कि नआउने भन्नेमा प्रश्न उब्जीएको छ ।

 

औषधी उपचार जस्तो क्षेत्रमा हड्ताल हुँदा सर्वसाधरण समस्यामा परेका छन् । यस्ता समस्या विगतमा पनि देखिदै आएको हो । सरकारसँग सहमति नजुट्दा चिकित्सकहरु आन्दोलनमा उत्रिदा सधैँ सर्वसाधरण मर्कामा पर्ने गरेका छन् । औषधी उपचार जस्तो संवेदनशिल क्षेत्रमा देखिएको लापर्वाहीले बिरामीहरु सधैँ समस्यामा पर्ने गरेका छन् । अति नै संवेदनशील क्षेत्रका रुपमा रहेको सो क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सरकारले विशेष कदम चाल्नुपर्छ । त्यसैगरि, चिकित्सकहरुले पनि लचकता अपनाउन जरुरी छ । अतः वार्ताबाट समाधान खोज्न दुवै पक्ष गम्भिर हुनुपर्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top