सामाजिक संजाल प्रतिबन्ध लाग्न सक्ने प्रबल सम्भावना !

सिन्धुली साैगात संवाददाता २०७५ चैत २४ गते आइतवार काठमाडौं

 

सामाजिक सञ्जालमा आतंकवाद, बालशोषण, यौनशोषण लगायतका हिंसात्मक पोस्टहरु हुने गरेकोले बेलायतमा फेसबुक, इन्स्टाग्राम र ट्विटर लगायत अन्य सामाजिक सञ्जाल बन्द हुने सक्ने संकेत देखिएको छ ।

 

सामाजिक संजालसम्बन्धि पेश भएको नयाँ कानुनअनुसार सामाजिक सञ्जालमा आतंकवाद, बालशोषण, यौनशोषण लगायतका हिंसात्मक पोस्ट वा यस्ता गतिविधि बढावा दिने पोस्ट भएमा कम्पनीले तुरून्त हटाउन प्रयास गर्नुपर्नेछ । अन्यथा कि जरिवाना तिर्नुपर्नेछ वा पूरै बेलायतमा प्रतिबन्ध गरिनेछ ।

 

ब्लुमवर्गका अनुसार यी सामाजिक सञ्जालमा फैलिने हिंसात्मक गतिविधि हटाउन बेलायतको नयाँ कानुनले कम्पनीहरूलाई निश्चित समयसीमा पनि दिएको छ । जतिसक्दो चाँडो र समयसीमा भित्रै हटाउन नसके यसको प्रष्टिकरण कम्पनीका प्रमुख कार्यकारीले नै दिनुपर्नेछ ।

 

कम्पनीहरूलाई जरिवाना कति तिराउने भन्नेबारे टुंगो लागेको छैन । हिंसात्मक पोस्टका साथै अफवाह फैलाउने झुटा समाचार र चुनावमा प्रभाव पार्ने पोस्टहरू पनि ठेगान लगाउँदै जाने बेलायतको योजना छ ।

 

न्युजिल्यान्डका मस्जिदमा ५० जनाको ज्यान जाने गरी भएको गोलिहमलाको ‘लाइभ’ भएको थियो । योबाहेक अन्य घटना पनि सामाजिक सञ्जालमा भयानक रूपमा लाइभ भएका छन् । यी सबै गतिविधि रोक्न बेलायतले नयाँ कानुन बनाएको गृह सचिव साजिद जभिदले जानकारी दिएका छन् ।

 

‘कुरा सिधा छ, यी कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको सुरक्षानिम्ति सक्ने जति कामै गरेका छैनन्,’ उनले भनेका छन्, ‘उनीहरूले यस्ता हिंसात्मक पोस्ट हुनुअघि नै रोक्नुपर्छ। यस्ता पोस्ट फैलिन समय लाग्दैन । त्यसैले सुरूदेखि नै नियमन हुनुपर्छ ।’

 

यो नयाँ कानुनले बेलायती नागरिकको साइबर सुरक्षास्तर बढ्ने र यी सामाजिक सञ्जाल कम्पनीहरू पनि आफ्नो जिम्मेवारीबाट उम्कन नपाउने जभिदले बताएका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top