माओवादी पूर्वबालसेना लेनिन विष्टले हेगमा मुद्दा हाल्दै ?

सिन्धुली साैगात संवाददाता २०७५ चैत १३ गते बुधवार काठमाडौं

 

माओवादी द्वन्द्वको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट नेदरल्यान्ड पुगेका छन् ।

 

लेनिन विष्टले युरोपियन युनियनको हेडक्वार्टरमा आयोजित बैठकमा भाग लिनेछन् । जर्मनीका सांसदहरूसँग उनको छुट्टै छलफल हुने बुझिएको छ । उनको स्वीट्जरल्यान्डको जेनेभामा उच्च तहका मानव अधिकारकर्मी, सांसद, मन्त्रीलगायतसँग भेटघाट तथा छलफल कार्यक्रम तय भएको छ ।

 

विष्टलाई कतार विमानस्थलमै रोक्न प्रयास भएको थियोे । नेपालको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन विभागमा यथावत् भएकाले केहीबेरको छलफलपछि मात्र आफूलाई ‘जान दिने’ निर्णय भएको उनले फेसबुकमा उल्लेख गरेका छन् ।

 

तीन महिनासम्म युरोपमा रहँदा लेनिनले माओवादीले बालबालिकाहरूलाई कसरी हिंसात्मक युद्धमा दुरुपयोग गरेका थिए, सम्झौतामार्फत उनीहरू सत्ता राजनीतिमा आइसकेपछि तीन हजारभन्दा बढी बालसेनालाई कसरी अलपत्र बनाइयो र आफ्ना अधिकार एवं हितका निम्ति संगठित आवाज उठाउँदा माओवादीले कसरी दुःख कष्ट दियो भन्नेलगायतका विषयमा विश्व समुदायलाई जानकारी गराउने बताइएको छ ।

 

लेनिन विष्ट माओवादीले दुरुपयोग गरेका तीन हजारभन्दा बढी बालसेनामध्ये एक हुन् । बाह्र वर्षको उमेरमै माओवादीको सम्पर्कमा पुर्‍याइएका विष्ट २०६३ को परिवर्तनलगत्तै आफूहरूलाई उपेक्षा गरिएपछि बाल सैनिकलाई संगठित गरी त्यसको प्रमुख बनेका थिए । उनले निर्माण गरेको संस्थामा माओवादीले दुरुपयोग गरेका २९७३ जना किशोरकिशोरी संगठित भएका छन् ।

 

बालसेनालाई संगठित गर्न थालेपछि माओवादीले लेनिनलाई निकै दुःख, कष्ट र सास्ती दिएको थियो । ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित लेनिनको डेरामा आक्रमण गरी लुटपाट गरिएको थियो ।

 

आफ्नो हकअधिकार प्राप्तिका निम्ति ०६९ सालको वैशाखमा माओवादी कार्यालय (पेरिसडाँडा) घेराउ गर्न जाँदा लेनिनलाई कार्यालयकै ट्वाइलेटमा थुनी बन्दी बनाइएको र त्यसबेला उनी कुनै तरिकाले ट्वाइलेटबाट निस्की दुई तलामाथिबाट हामफाले र भाग्दै ज्यान जोगाउन सफल भएका थिए ।

 

गत कात्तिकमा बैंककमा आयोजित कार्यक्रममा सहभागी हुन जान लाग्दा गृह मन्त्रालयको निर्देशनमा उनलाई विमानस्थलबाटै जबर्जस्ती फर्काइएको थियो । तर, यसपटक भने उनी युरोप पुगेका छन् । उनको भ्रमणको सम्पूर्ण खर्च नेदरल्यान्ड सरकारले व्यहोर्ने भएको छ ।

 

नेदरल्यान्डस्थित अन्तर्राष्ट्रिय अदालत (हेग) मा आयोजना हुने विशेष कार्यक्रममा लेनिनले आफू तथा आफूजस्तै बालबालिकालाई माओवादीले कसरी दुरुपयोग गर्‍यो र उनीहरूले सत्ता पाइसकेपछि कसरी दुःख दिए भन्ने विषयमा जानकारी गराउने भएका छन् ।

 

लेनिन विष्टको युरोप भ्रमण प्रचण्डलगायत तत्कालीन माओवादी नेताहरूको निम्ति निकै महँगो सावित हुने भएको छ । १० वर्ष हिंसात्मक द्वन्द्वकालमा भएको विभिन्न आपराधिक कार्यका लागि माओवादी नेताहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ । लेनिन विष्टलाई युरोपेली मुलुकहरूले उच्च महत्व दिनुे अर्थपूर्ण मानिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top