रोजगारीको केन्द्र बन्दै साना उद्योग

सिन्धुली साैगात संवाददाता २०७५ चैत ११ गते सोमवार सिन्धुली

 

दुधौली नगरपालिका वडा नम्बर ४ का टंकप्रसाद सापकोटा दुना टपरी बनाउँछन् । वनमा त्यसै खेर गईरहेका सालका पातबाट दुना टपरी बनाउँदै मनग्ये आम्दानी गरिरहेका छन् ।

 

विंसं.२०६५ सालमा सुरु गरेको दुना टपरी उद्योगलाई अहिले व्यवसायीकरुपमा अगाढी बढाएका छन् । आफ्नै घरमा सञ्चालन गरेको उद्योगलाई उनले वरपीपल नामकरण गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा स्थापना भएको वरपीपल दुनाटपरी उद्योगले स्थानीयलाई रोजगारीसमेत दिएको छ ।

 

समूहको पहलबाट उद्योग खोलियो सञ्चालक सापकोटाले भने, “अहिले समूहका सबैलाई रोजगार मिलेको छ, स्थानीयले जगंलबाट पात ल्याउँछ, त्यसको पारिश्रमिक दिइन्छ ।” जंगलबाट पात ल्याउनेलाई पारिश्रमिक दिएर पनि राम्रै आम्दानी भएको उनले बताए । “घरखर्च राम्रोसँग चलेको छ, त्यसको अलावा केही रकम बचतसमेत हुने गरेको छ,” उनले भने ।

 

उद्योगमा ५० जनाभन्दा बढीले पात संकलनको रोजगारी पाएका छन । पात संकलकको पारिश्रमिक कटाएर नै मासिक ४० हजारभन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए । मिहिनेत गरे घरआँगनमै कमाउने आधार धेरै भएको उनको ठहर छ ।

 

पात संकलन गरेबापत् सामुदायिक वनलाई रोएल्टी बुझाउने गरिएको छ । उद्योगबाट बनेका दुनाटपरी सदरमुकाम सिन्धुलीमाढीका अलावा बनेपा, भक्तपुर, काठमाडौंलगायत देशका विभिन्न सहरमा बिक्रीवितरण हुँदै आएको छ ।

 

दुनाटपरी उद्योग भनेर हेला हुन्छ, तर आम्दानी राम्रो देखिन्छ, लघु उद्यमीलाई सघाउँदै आएका श्री सिन्धुलीका सचिव वेदराज दाहालले भने, “खेर जाने पातको सदुपयोग पनि भएको छ, गाउँमै रोजगारी र मनग्ये आम्दानी पनि छ ।” कमलाखोंज क्षेत्रमा सालका रूख प्रशस्त भएकाले पातको समस्या नरहेको सञ्चालक सापकोटा भनाइ छ ।

 

मरिण गाउँपालिका ६ धमिलेकी बेलीमाया गिलेल ढाका कपडा उद्योगबाट मनग्य आम्दानी गरिरहेकी छन् । वि.सं. २०७२ सालमा ढाका कपडा सिलाई तालिम लिएकी गिलेललाई कहिले लागेको थिएन म उद्योगी बन्छु । उनले भनिन, “परिवारबाट सहयोग पाइदैन थियोे, छिमेकीले त झन् कुरा काट्ने मौका पाएका थिए ।”

 

आफ्नै गाउँमा २ महिना र तनहुँमा २ महिना तालिममा सहभागी भएकी बेलिमाया तनहुँमा दिइएको २ महिने तालिम पछि विभिन्न डिजाईनका बुट्टा भर्न तथा आधुनिक किसिमका कपडा उत्पादन गर्न र अरुलाई तालिम दिन पनि सक्षम भइन् ।

 

त्यसपछि आँगन अगाडि पुराना बाँसको कटेज बनाएर उनले कपडा उत्पादन गर्न थालिन् । ढाका कपडाको माग गाउँमा भन्दा पनि बजारमा बढि हुने भएपछि उनले आफ्नो व्यवसायलाई अहिले बढाएकी छन् । मरिण ढाका कपडा उद्योग सिन्धुली सदरमुकाममा पनि विस्तार गरेकी छन् । “मरिण र सदरमुकाममा श्रीमान, श्रीमती कहिले यता, कहिले उता बस्छौं । पसलमा काम गर्ने अरु ६ जना छन् । भ्याईरहेकी छु ।” उनले भनिन, “कमाउन थालेपछि त सबैको प्यारो हुने रैछ । रुमाल बुनेर के नै गर्छे र भनेर गाली गर्ने श्रीमान अहिले मँसगै काममा खट्छन् ।”

 

उमेरले भरखर २७ लागेकी बेलीमायालाई परिवार र उद्योग सम्हाल्ने जिम्मेवारी छ । काम गर्न भ्याई नभ्याई छ । ‘बजारको माग धान्नै गारो छ’ उनले भनिन, “हाम्रो जनशक्तिले नभ्याएपछि गाउँका अन्य महिला दिदी बहिनीहरूलाई तालिम दिएर रोजगारी दियौँ ।”

 

हालसम्म उद्योगले २ सयभन्दा बढी महिलालाई स्वरोजगार बनाइसकेको छ । विभिन्न समयमा दिइएको तालिमले जिल्लाका २ सय महिलाले आफ्नै ठाउँमा व्यवसाय गरिरहेका छन् । उनले भनिन “अहिले महिलाहरूले तान र धागो घरमा लगेर त कोहीले पसल खोलेर कपडा बुनिरहेका छन् ।”

 

मरिण ढाका उद्योगमा महिनामा झण्डै ३ लाखको व्यापार हुन्छ । ढाका कपडा उद्योगमा काम गर्ने हो भने सजिलैसँग जीविकोपार्जन गर्न सकिने उनको भनाइ छ ।

 

तिनपाटन गाउँपालिकाकी ३७ वर्षीया सूर्याकुमारी श्रेष्ठ सफल मुढा व्यवसायी हुन् । गाउँमै खेर गइरहेका बाँसको प्रयोग गरी उनिहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

 

‘मुढा बनाउनलाई बाँस घरमै थियो । धागो र टाएर किन्नेर व्यवसाय सुरु गरेँ । बिक्री हुने हो कि होइन भन्ने चिन्ताले निकै सतायो । तर सोचे जस्तो गारो भने भएन ।’ उनले व्यवसाय गर्न थालेपछि त्यतिकै बस्नुपर्ने अवस्था नआएको सुनाइन् ।

 

एउटा मुढाको ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ । अहिले सिन्धुलीमा मात्र होइन छिमेकी जिल्ला रामेछाप, दोलखालगायतका जिल्लामा पनि तालिम दिन पुग्छन् । “पहिले गाउँघरमा महिलाहरूले मुढा बनाउने काम गरेको राम्रो मानिदैन थियो’ सूर्याकुमारीले भनिन, “मुढा बनाउँछु भन्दा हाँस्नेहरू नै अहिले मलाई पनि सिकाइदेउन है भन्छन् । मान्छेको सोच परिवर्तन भयो भन्ने लाग्छ, यस्तो सुन्दा ।”

 

सानो पुँजीमै व्यवसायिक बन्न सकिने भएपछि गाँउ–गाँउमा यस्ता साना उद्योग खोल्ने लहर चलेको छ । जिल्लाका उद्योगीहरूले अल्लो प्रशोधन गर्ने, ढाका कपडा बुन्ने, वातावरणमैंत्री झोला उत्पादन गर्ने, खेर गइरहेको सालको पातबाट दुना टपरी बनाउने र विषेशगरी तरकारी, पशुपालन, माछापालन, डेरी, फर्निचर जस्ता साना उद्योग दर्ता गर्नेको संख्या बढिरहेको कमलामाई नगरकार्यपालिका उद्योग विकास शाखाले जनाएको छ । यसरी गाँउ गाँउमा खुलेका उद्योगले रोजगारीको अवसर प्रदान गरेको छ ।

 

गाउँ–गाउँमा खुलेका यस्ता साना तथा घरेलु उद्योगले रोजगारको अवसर प्रदान गरेको छ । घरेलु तथा साना उद्योगबाट स्थानिय युवाहरुले रोजगार पाएका छन् । जसमा महिलाको तुलनामा पुरुष बढी स्वरोजगार छन् । जिल्लाका हजारौँ युवाहरुले रोजगार पाएका छन् ।

 

एउटै गाउँका ६० जनासम्मले रोजगारी पाएका छन् । यसबाट पनि प्रमाणित हुन्छ आर्थिक उत्पादनमा लघुउद्योगको माध्यमबाट उनिहरुले ठूलो योगदान गरेका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top