सिन्धुलीका स्थानीय तहको प्राथमिकतामा विकास निर्माणमा तर बजेट खर्च कम

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २८ गते मंगलवार सिन्धुली

 

स्थानीय तहहरुले आफ्नो पालिकालाई समृद्ध बनाउन भन्दै विकास निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखेका छन् । तर तीनै स्थानीय तहहरुको विकास बजेट खर्च भने सन्तोषजनक छैन ।

 

९ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लाका अधिकांश स्थानीय तहले लक्ष्य अनुसारको काम गर्न सकेका छैनन् । कर्मचारी अभावकै कारण विकासको काम प्रभावित भएको भन्दै विकास बजेट खर्च गर्न नसकिएको पालिका प्रमुखहरु बताउछन् ।

 

फिक्कल गाउपालिकाले २६ करोड ४१ लाख ६४ हजार ३९ रुपौयाँ विकास बजेट मध्ये २ करोड १७ लाख ७० हजार ६५१ रुपैयाँ मात्र खर्च गरेको छ । वडा कार्यालयबाट हुने योजनाको उपभोक्ता समिति गठनमा ढिलाई भई सम्झौता गर्न ढिलो भएकाले विकास बजेट कम खर्च भएको गाउपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना तिमल्सिना शर्माले बताइन ।

 

तिनपाटन गाउपालिकाले हालसम्म १८ करोड ५९ लाख विकास बजेट मध्ये २ करोड ७८ लाख अर्थात करिव १५ प्रतिशत खर्च गरेको गाउपालिकाले जनाएको छ । कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाई लगाएतका कारणले विकास बजेट कम खर्च भएको गाउपालिकाका लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगरले बताए ।

 

त्यस्तै सुनकोेशी गाउपालिकाले १९ करोड ८८ लाख ७ हजार ४ सय ८८ रुपैया विकास बजेट मध्ये ६ करोड ३ लाख मात्रै खर्च गरेको गरेको छ । काम भईरहेको तर निकासी काम सकिएपछि अन्तिममा मात्रै हुने भएकाले वित्तिय प्रगती नदेखिएको गाँउपालिकाका लेखापाल जयप्रकास चालिसेले बताए । उनले भने, “विकास निर्माणका काम भईरहेका छन् । दोस्रो चौमासिक सकिनै लाग्दा हामीले ३० प्रतिशत निकासी गरिसक्यौं । अव अर्को निकासी गर्दा वित्तिय प्रगती पनि देखिन्छ ।”

 

दुधौली नगरपालिकाले २८ करोड ९१ लाख ४२ हजार ६३५ रुपैया विकास बजेट मध्ये करिव ६ करोड ७ लाख४ हजार ७ सय ३ रुपैया खर्च भएको सुचना अधिकारी चुडामणी आचार्यले बताए । विकास निर्माणको काम भर्खर सुरु हुन थालेकोले पुँजीगत बजेट खर्च कम भएको उनले बताए ।

 

हरिहरपुरगढी गाँउपालिकाले २२ करोड ९४ लाख पुँजीगत बजेट मध्ये ३२ प्रतिशत मात्रै खर्च गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल श्रेष्ठले जानकारी दिए । कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाई जस्ता कारणले ८ महिनामा विकास बजेट कम खर्च भएको उनले बताए ।

 

सिन्धुलीको मरिण गाँउपालिकाको पनि बजेट खर्च सन्तोषजनक छैन । चालु आर्थिक वर्ष २०७५÷०७६ को १६ करोड ३७ लाख विकास बजेट मध्ये हालसम्म ३० प्रतिशत मात्रै खर्च भएको गाँउपालिकाका लेखा अधिकृत विदुर शर्माले बताए ।

 

कमलामाई नगरपालिकाको २७ करोड ५ लाख १६ हजार पुँजीगत बजेट मध्ये ३० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

 

घ्यालेख गाउपालिकाको १६ करोड ४६ लाख ८२ हजार विकास बजेट मध्ये २५ प्रतिशत खर्च भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष नेपालीले बताए ।

उता गोलञ्जोर गाउपालिकाले भने विकास बजेटको ७५ प्रतिशत रकम खर्च गरेको छ । अन्य स्थानीय तहको तुलनामा यस गाँउपालिकाले दोस्रो चौमासिक सकिन्नै लाग्दा २६ करोड २१ लाख ५२ हजार विकास बजेट मध्ये १९ करोड ६६ लाख १४ हजार खर्च भएको जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top