मार्च ८ को सार्थकता

सम्पादकीय २०७५ फागुन २४ गते शुक्रवार सिन्धुली

 

सन् १९०८ को ८ मार्चको दिन अमेरिकाको न्यूयोर्क शहरको एक गार्मेन्ट कारखानामा कामगर्ने हजारौं श्रमिक महिलाहरूले आफ्नो मतदिने अधिकार, समान काममा समान ज्यालाको अधिकार र ट्रेड यूनियन अधिकारका मागलाई लिएर सडकमा उत्रिए पछि प्रशासनले गरेको ठूलो दमन र उक्त घटनाक्रमको स्मरणमा संसार भरि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिएको छ । सन् १९११ देखि विश्वभर आठ मार्चमा महिला दिवस मनाउने क्रम निरन्तर रहेको छ । नेपालमा भने २०१७ सालमा मात्र पहिलो पल्ट महिला दिवस मनाईएको थियो । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेपालमा पनि आज (शुक्रबार)विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला दिवसको अवसरमा थुप्रै कार्यक्रमहुने गर्दछ जहाँ असमानता र भेदभाव व्यहारको विरोध गरिन्छ । तर, अहिले पनि देशका विभिन्न भागमा कुप्रथाको शिकारबाट महिलाको ज्यान गइरहेको छ । नेपालमा महिलाकालागि भनेर थुप्रै अधिकारहरु छुटाए पनि त्यसलाई कार्यान्वयन र व्यहारमा उतार्न जिम्मेवार निकायले कदम चालेको देखिदैँन ।

 

 

हाम्रो समाजमा व्याप्त अशिक्षा, रूढीवादी एवं परम्परागत सामाजिक मान्यता र धारणा, महिलामाथि महिलाले समेत शोषण गर्ने प्रवृत्तिजस्ता कारणले गर्दा लैंगिकविभेद अहिले पनि एक जटिल समस्याको रूपमा रहेको छ। त्यसैगरि, दूरदराजका सीमान्तकृत महिलाहरुको अवस्था त झनै भयावह छ । दिगो विकासको लागि लैगिंक समानता आवश्यक रहेकोले जिम्मेवार निकायले समानताका लागि महिला सशक्तिकरण र शिक्षामाजोड दिनुपर्छ । त्यसैगरि, महिलाको हकहितकालागि भनेर खोलिएका संघ संस्थाले पनि महिलाको विकासका लागि कामगर्न आवश्यक छ । अतःमार्च ८ को सार्थकतालाई कायमगर्दै लैगिंकमैत्री सोचको विकास होस्, दिवसको शुभकामना !

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top