उस्तै छ बेनाम नारीका दुःख

पत्रपत्रिकाबाट २०७५ फागुन २४ गते शुक्रवार काठमाडौं

 

इँटाभट्टाको गेटमै लेखिएको छ, ‘बाल श्रममुक्त छ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा। बन्दै गरेका इँटाका आकार असरल्ल छन्। छेउछाउमा मजदुर बस्न इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरू (एककोठे छाप्रो) देखिन्छ।

 

टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन्। च्यातिएको एकसरो लुगामा लगाएका छन्। उनीहरूका खुट्टामा चप्पल छैन। कुनै बालबालिकाले ठूला मान्छेको चप्पल लतारिरहेका छन्। कतिपयले त कट्टु पनि लगाएका छैनन्। न उनीहरू स्कुल जान पाएका छन् न आमाबाबुलाई स्कुल पढाउनुपर्छ भन्ने चेतना छ।

 

 

भक्तपुर चाँगुनारायणमा रहेको कुमारीमाता इँटाभट्टाको दृश्य हो। भट्टामा सबै मजदुर व्यस्त छन्। कोही इँटा पकाउँदैछन् त कोही इँटा बोकेर ट्याक्टरमा लोड गर्दैछन्।

 

मजदुरका दैनिकी दुःखपूर्ण हुन्छ नै। उनीहरूलाई सास धान्नुसँग मात्रै सरोकार छ। आफन्तलाई दुईछाक पेटभरि खुवाउनु छ। कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीलाई पढ्न किताबकापी किन्नु छ। घाम लागेका दिन उनीहरू फुरुंग पर्छन्। कारण राति १२ बजे उठेर बनाएको इँटा सुक्छ। इँटा सुकेपछि मात्रै उनीहरूले ज्याला लिन इँटाको संख्या गन्न पाउँछन्।

 

बिहानदेखि बादल लागेको दिन मजदुरका अनुहारमा पनि बादल लाग्छ। पानी परेर इँटा बिगारिदिने हो कि ? मेहनतको फल बगेर जाने हो कि ? भन्ने त्रासमा हुन्छन् उनीहरू।

 

भट्टामा भेटिए रामेछाप मसनटारी, गाईखुरा माझीबस्तीका महिला– ठूली माझी, माइली माझी, मर्गनी माझी र लक्ष्मी माझी। उनीहरूलाई आफ्नो नाम भन्न पनि लाज लाग्छ। ‘दिदी तपाईंको नाम के हो ? ’ ठूली माझीको जबाफ आयो, ‘किन चाहियो ? नाम भनेर के हुन्छ ? ’ कुरा गर्दा थाहा भयो, उनीहरूसँग खास नामै रहेनछ। माइतकी कान्छी छोरी घरकी जेठी बुहारी रैछन्। त्यसपछि बोलाउने नाम रह्यो, ठूली। नागरिकता बनेकै रहेनछ। माझी बस्तीमा बुहारीको नागरिकता बनाइदिने चलन छैन रे। वृद्ध भएपछि मात्रै नागरिकता बनाइन्छ।

 

माइलीले श्रीमान्सँग नागरिकता बनाउन अनुरोध गरेकी थिइन्। काम गर्ने मान्छेलाई किन चाहियो नागरिकता भनेर जबाफ दिए उनले। नागरिकता नभएपछि विवाह दर्ता हुने भएन, विवाह दर्ता नभएपछि सन्तानको जन्मदर्ता कसरी गर्नु ? बेनाम यी नारीहरूलाई नारी दिवसबारे थाहा हुने कुरै भएन न आफ्नो अधिकारबारे।

 

‘स्कुल जानु भएन ? ’ २५ वर्षीया माइली माझीले भनिन्, ‘ह्या स्कुल न सिस्कुल, के पाइन्छ पढेर ? काम सिक्यो अलिअलि पैसा कमायो। स्कुल गएर पैसा पाइने हो र ? ’ छोरीलाई घरमा काम गर्न सिकाइन्छ। दाउरा, घाँस, गाईबस्तु छोरीकै जिम्मा। हुर्केबढेपछि बिहे गरिहाल्छन्। श्रीमान्सँग काम खोज्न हिँड्छन्।

उनीहरू इँटाभट्टामा काम गर्न गत कात्तिकमा आएका हुन्। पानी नपर्दा एकै दिनमा तीन हजारदेखि चार हजार वटा इँटा तयार गर्छन् एक जोडीले। उनीहरू आफ्ना श्रीमान्सँगै इँटाको झ्यालीमा बस्छन्। एउटा इँटा बनाएको एक रुपैयाँ पच्चीस पैसा ज्याला पाइन्छ। दसदस दिनमा पारि श्रमिक दिन्छन् साहुले। काम गाह्रो भए पनि ज्याला समयमा पाइने हुँदा उनीहरूको रोजाइमा इँटाभट्टा परेको हो।

 

यस वर्ष उनीहरूले भनेजति काम गर्न पाएनन्। ठूली भन्छिन्, ‘काम गर्न नपाउँदा खर्च धान्न धौधौ पर्छ। अघिल्लो वर्ष केही रकम जोगाएर लान पाएका थियौं। यस वर्ष पेस्की तिर्नै हम्मेहम्मे छ।’

 

इँटाभट्टामा कात्तिकदेखि वैशाखसम्म काम हुन्छ। भूकम्पले घर भत्काएपछि १० लाख ऋण लाग्यो माइलीको परिवारलाई। सासूससुरा, श्रीमान्सँगै माइली पनि पैसा कमाउन रामेछापबाट भक्तपुर झरेकी हुन्।

 

भट्टाभन्दा माथिल्ला कान्लामा इँटा चाङ लगाउँदै गरेको भेटिए मगर्नी माझी र कमला माझी। उनीहरू पनि रामेछापकै हुन्। सुनकोसी किनारमा घर भएकी मगर्नी माझीको परिवार पुरानो पेस्की चुक्ता गर्न गत कात्तिकमै भक्तपुर आएको हो। परिवार ठूलो भएकाले घरमा बसेर खानै पुग्दैन उनलाई।

 

रामेछाप जिल्लामा २१ गाउँमा माझी बस्ती छ। माछा मार्ने पुख्र्यौली पेसा बोकेका माझी समुदायले माछा मार्न छाडेको वर्षैां बितेको छ।

 

भट्टामा इँटा बोक्दै गरेकी भेटिइन् फूलकुमारी देव। भारत विहारकी फूलकुमारीले भक्तपुरमा इँटा बोक्न थालेको पाँच वर्ष भयो। उनी श्रीमान् र दुई छोरीका साथ भट्टामा मजदुरी गर्छिन्। जेठसम्म इँटा बोकेर केही पैसा संकलन गरी विहार फर्कने उनको योजना छ। पानी नपरेको दिन फूलकुमारी दम्पतीले दुई हजार रुपैयाँसम्म कमाउँछन्।

 

छोराछोरीलाई स्कुल पठाउनुहुन्न ? फूलकुमारीले भनिन्, ‘गरिब काम गर्न जन्मिएका हुन् नि। कसले स्कुल पुर्‍याउनु ? को लिन जानु ? काम कसले गर्छ ? ’आजको अन्नपुर्णपोष्टमा खवर छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top