भारत–पाकिस्तान युद्धको असर सन्दिप लामिछानेलाई पनि

सिन्धुली साैगात संवाददाता २०७५ फागुन १६ गते बिहीवार काठमाडौं

sandeep-lamichanne
 

भारत–पाकिस्तानबीच हवाइ आक्रमणसम्मको स्थिति आउँदा यसको शिकार धेरै बनेका छन् । दुई देशको सीमा क्षेत्रका नागरिक र दुई देशका सैनिक त यसको शिकार भए नै पछिल्लो समय नेपाली खेलाडी सन्दिप लामिछाने समेत भारत–पाकिस्तान युद्धको शिकार बनेका छन् ।

 

सन्दिप अहिले पाकिस्तान सुपर लिग खेलिरहेका छन् । उनी भारतको घरेलु प्रतियोगिता इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्समा आबद्ध छन् । एक वर्षअघि सन्दिप टिममा आबद्ध भएसँगै दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स)ले उनको बारेमा लगातार ट्वीट गरिरहन्थ्यो । सन्दिप कुनै पनि प्रतियोगितामा खेलिरहेका बेला उनको प्रदर्शनबारे दिल्लीले आफ्नो सामाजिक संजालमा लेख्थ्यो । तर अहिले यस्तो भएन ।

 

रोचक त के भने सन्दिपको अत्यन्तै औसत प्रदर्शनमा पनि ट्वीट गरिहाल्ने दिल्लीले हिजो केही पनि लेखेन । हिजो बेलुका पाकिस्तान सुपर लिग खेल्दै गर्दा सन्दिपले आफ्नो अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । हिजो सन्दिपले आफ्नो ४ ओभरमा मात्रै १० रन दिएर ४ विकेट लिए । तर, दिल्लीले यसबारे केही पनि लेखेन ।

 

दिल्लीले हिजो केही नलेख्नुको एउटै कारण बुझ्न सकिन्छ त्यो हो सन्दिप पाकिस्तान सुपर लिग खेलिरहेका छन् । भारतमा पाकिस्तानप्रति यतिसम्म नकारात्मक धारणा विकसित भइरहेको छ कि खेललाई पनि राजनीतिसँग जोडेर हेर्न थालिएको छ । भारतमा पाकिस्तानसँग खेल्नै नहुने आवाज उठिरहेको बेला दिल्लीले पनि पाकिस्तानलाई बाहेक गर्न खोजेको हो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top