सिन्धुलीमा पुनः निर्माणमा झण्डै आठ अर्ब रुपैया खर्च

सिन्धुली साैगात संवाददाता २०७५ माघ २६ गते शनिवार सिन्धुली

 

बिनासकारी भुकम्प गएको झण्डै चार बर्षको अवधिमा सिन्धुली जिल्लामा सरकारीस्तरबाट पुनःनिर्माणमा झण्डै आठ अर्ब खर्च भईसकोको छ ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका अनुुसार निजी आवास, विद्यालय, सडक र अन्य पुर्वाधार निर्माणमा हालसम्म सात अर्ब ९६ करोड २३ लाख ९६ हजार ६१ रुपैया खर्च भईसकेको हो ।

 

“उक्त खर्च सरकारीस्तरबाट मात्र भएको हो,” आयोजना प्रमुख देवनारायण प्रसाद यादबले भने, “गैरसरकारी संस्थाहरुबाट के कति रकम खर्च भएको छ, त्यसको तथ्यांक नै छैन ।” उनका अनुसार निजी आवासीय भवनतर्फ सात अर्ब २० करोड ५१ लाख ५० हजार रुपैया, सडक निर्माणतर्फ २३ करोड २४ लाख १५ हजार ६३४ रुपैया र विद्यालय निर्माणमा ५२ करोड ४८ लाख ३० हजार ४२७ रुपैया खर्च भईसकेको छ ।

 

जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा प्रमुख डम्बरध्वज आङदेम्बेले विद्यालय निर्माणमा हालसम्म भएको खर्चले १४७ विद्यालयका ५५१ वटा कक्षा कोठा तयार भएको जानकारी दिए । उनका अनुसार जिल्लामा दुई हजार ६६७ कक्षा कोठा आवश्यक रहेकोमा अहिले एक हजार ७९ वटा कक्षा कोठा बन्दै गरेको छ । “यि कक्षा कोठा चालु आर्थिक बर्षको असार मसान्तसम्ममा तयार हुन्छ,” उनले भने ।

 

जिल्लामा २७५ वटा विद्यालय भवन बन्दै गरेको उनले बताए । शिक्षा प्रमुख आङदेम्बेका अनुसार जिल्लामा रहेका कुल ५७५ विद्यालय भवनमध्ये भुकम्पबाट ५१३ वटा विद्यालय प्रभावित भएका थिए ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका अनुुसार जिल्लामा रहेका कुल ३७ हजार ९१५ जना लाभग्राही मध्ये ३३ हजार ९०२ जनाले मात्रै नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेका छन् । पहिलो किस्ताबापत एक अर्ब ६९ हजार ५१ लाख रुपैया खर्च भई सकेको छ । त्यस्तै दोस्रो किस्ताका लागि २६ हजार ३५९ जनाले सम्झौता गरेका र तीन अर्ब ९५ करोड ३८ लाख ५० हजार रुपैया खर्च भई सकेको छ । तेस्रो तथा अन्तिम किस्ताका लागि १४ हजार ७१२ जनाले सम्झौता गरेका र एक अर्ब ४७ करोड १२ लाख रुपैया खर्च भई सकेको छ ।

 

निजी आवास १२ हजार १५६ लाभग्राहीले पुननिर्माण गरि सकेको आयोजना प्रमुख यादबले जानकारी दिए । उनका अनुसार जिल्लामा प्रबलिकरणका लाभग्राही १३ हजार ६४ जना छन् । ती मध्ये अहिलेसम्म एक हजार सात सय लाभग्राहीसँग मात्र अनुदान सम्झौता भई प्रथम किस्ता लगेका र सो बापत आठ करोड ५० लाख रुपैया खर्च भई सकेको छ ।

 

भुकम्पीय आपतकालिन सहायता आयोजना अन्तर्गत २९ किमि लम्बाईको पिपलभञ्ज्याङ – हायुटार – नेत्रकाली सडक निर्माण भई रहेको र २३ करोड २४ लाख १५ हजार ६३४ रुपैया खर्च भई सकेको आयोजना प्रमुख यादबको भनाई छ । दुई प्याकेजमा काम भई रहेको यो सडकको निर्माण कार्य अहिलेसम्म ७० प्रतिशत सकिएको छ ।

 

कुल लाभग्राही मध्ये पनि एक हजार ५३३ जना लालपुर्जा विहिन (सुकुम्बासी) रहेकोले उनीहरुलाई नीजि आवास बनाउन समस्या भएको छ । सिन्धुली जिल्लामा निजी आबास निर्माण कार्यले राम्रोसँग गती लिन नसकेको जानकारी दिदै आयोजना प्रमुख यादबले भने, “पाँच बर्षभित्रमा पुनःनिर्माणको काम सक्ने सरकारी लक्ष्य छ । यही गती हो भने तोकिएको समयमा आधा पनि प्रगती होला जस्तो देखिदैन ।”

 

यस अवधिमा तीन जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । नीजि आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरुले रकम फिर्ता गरेका हुन् । प्रबलिकरणका लाभग्राहीले घर मर्मतका लागि दुई किस्तामा एक लाख रुपैया पाउछन् । घरको प्रबलिकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीहरुले प्रबलिकरणको किस्ता बुझेर लैजान त्यती धेरै रुचि देखाएका छैनन् ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top