सरकारले आड नदिँदा बमजनमाथिको प्रहरी अनुसन्धान सुस्त

शोभा शर्मा २०७५ माघ २५ गते शुक्रवार काठमाडौं

ram-bahadur-bomjan-sindhulisaugat
 

सरकारको यथेष्ट आड नपाएपछि रामबहादुर बमजनमाथि प्रहरीले अघि बढाएको छानबिन सुस्त बनेको छ।

 

बमजनको आश्रमबाट बेपत्ता भएका ५ जनाको परिवारले दिएका जाहेरीमाथि डेढ महिनादेखि जारी प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको त छैन नै, यसको गति पनि धेरै सुस्त बनेको छ।

 

डेढ महिनाअघि सेतोपाटीले बमजनका आश्रममा भएका बलात्कार, हत्या र हिंसाबारे खोजमूलक स्टोरीहरू प्रकाशन गरेको थियो। त्यसलगत्तै आश्रममा हत्या भएका र बेपत्ता पारिएका व्यक्तिका परिवारले प्रहरीमा जाहेरी दिए।

 

अनुसन्धान अघि बढाउन सुरू गर्नुपहिले प्रहरी नेतृत्वले गृहमन्त्री रामबहादुर थापासँग भेटेर बमजन प्रकरणबारे जानकारी गराएको थियो।

 

‘बमजनको सिन्धुपाल्चोक आश्रममा खानतलास गर्न प्रहरी जानुअघि हाम्रो नेतृत्वले गृहमन्त्री थापालाई यसबारे जानकारी गराउँदै निर्देशन मागेको थियो,’ अनुसन्धानमा सक्रिय एक अधिकृतले भने ‘उहाँले यो ‘केसमा’ त्यतिखेर चासो र सक्रियता देखाउनु भएको भए, अनुसन्धानको गति अर्कै हुने थियो।’

 

निर्मला पन्त बलात्कार र हत्या प्रकरणपछि ‘रक्षात्मक’ अवस्थामा पुगेको नेपाल प्रहरीलाई गृह मन्त्रालयको राम्रो आड प्राप्त नभएपछि बमजनमाथि अनुसन्धानको गति पनि सुरूदेखि नै सुस्त बनेको छ।

 

नेपाल प्रहरीले अनुसन्धानबाट हात पूरै झिकेको भने छैन। सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीको नेतृत्वमा अनुसन्धान जारी छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले त्यसमा सघाइरहेको छ। प्रहरीले घटनामा संलग्न केहीको बयान पनि लिएको छ।

 

तर प्रहरीले सजिलै गर्न सक्ने र गर्नु पर्ने कतिपय परिणाममूलक काम गरेको छैन।

 

उदाहरणको लागि गंगामायाकै ‘केस’ हेरौं।

 

भदौ ३० गते रौतहटकी गंगामायाले काठमाडौं आएर बमजनमाथि बलात्कारको आरोप लगाउँदै पत्रकार सम्मेलन गरिन्। उक्त पत्रकार सम्मेलनमै प्रहरी उपस्थित थिए। आफूमाथि बलात्कार भएको भन्दै पत्रकार सम्मेलन गरेकी बालिकालाई प्रहरीले तत्काल संरक्षण दिनुपर्थ्यो। उजुरी लिएर अनुसन्धान सुरू गर्नुपर्थ्यो।

 

प्रहरीले त्यस्तो पहल गरेन।

 

गंगामाया भोलिपल्ट प्रहरीमा उजुरी दिन आफैं गइन्। तर हदम्याद नाघेको भन्दै उनको उजुरी लिन प्रहरीले मानेन। बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाएर पन्छियो।

 

सेतोपाटीमा बमजनबारे खोजमूलक स्टोरीहरू छापिएपछि प्रहरीले गगांमायालाई भेटेर उनको बयान लिएको छ। तर अहिलेसम्म उनको घटनामा छानबिन वा मुद्दा अघि बढाउने प्रयास गरेको छैन। जबकी नाबालक हुँदै गंगामायामाथि भएको बलात्कारबारे अनुसन्धान गर्न र अदालतमा मुद्दा लैजान सक्ने बलियो कानुनी व्यवस्था छ।

 

बालबालिका ऐन २०७५ अनुसार, नाबालक हुँदै कसैमाथि बलत्कार वा यौन हिंसा गरिएको छ भने सो नाबालक १८ वर्ष पुगेपछि एक वर्षभित्र त्यस्तो यौन हिंसाविरूद्ध उजुरी दिन पाउँछ।

 

उक्त ऐनको दफा ६६ र ७४ मा बालबालिकाविरूद्धको कसुर के हो र ती कसुर भएमा कहिलेसम्म उजुरी गर्न सकिन्छ भन्ने स्पष्ट व्यवस्था छ।

 

गंगामाया अहिले १८ वर्ष पुगेकी छन्। त्यसैले उनको उजुरीको हदम्याद सकिएको छैन।

 

प्रहरीले बमजनविरुद्ध बलियो गरी अघि नबढाएको अर्को ‘केस’ मकवानपुरका सञ्चलाल वाइवाको हत्या पनि हो।

 

बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा वाइवाको हत्या भएको देख्ने कम्तिमा दुई जना प्रत्यक्षदर्शीसँग प्रहरीले बयान लिइसकेको छ। ती प्रत्यक्षदर्शीको बयान पुष्टि हुने सहायक प्रमाण पनि प्रहरीसँग छन्।

 

‘हत्या भएका व्यक्तिको लास नभेटिएसम्म केस अघि नबढाउनु भन्ने आसय गृह मन्त्रालयबाट आएपछि बमजनलाई पक्रिने र थप अनुसन्धान गर्ने दिशामा प्रहरी अघि बढ्न नसकेको हो,’ एक प्रहरी अधिकृतले भने।

 

कुनै पनि हत्याको पुष्टिका लागि लास महत्वपूर्ण प्रमाण हो। अदालतले लास खोज्ने गर्छ। तर लास नभेटी हत्या प्रमाणित नै नहुने होइन। सर्वोच्च अदालतले यस्तो नजिर स्थापित गरिसकेको छ।

 

पर्वतमा भएको एउटा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको फैसलामा लास नभेटिए पनि हत्या अभियोजन हुन सक्ने नजिर सर्वोच्चले स्थापित गरेको छ।

 

आफ्ना दुई छोरी बर्खे भेल आएका बेला पुलबाट खसालेर मारेको भन्दै पर्वत सिम्लीका कृष्णप्रसाद शर्मा तिवारीलाई सर्वोच्चले डेढ वर्ष अघि जन्मकैद सुनाएको थियो।

 

यो मुद्दामा तिवारीका दुई छोरी हराएको तथ्य्बाहेक कुनै सबुत थिएन। उनीहरूको लास पनि भेटिएको थिएन, उनीहरूलाई बाबुले खोलामा खसालेको देख्ने कुनै साक्षी पनि थिएनन्।

 

प्रहरीसमक्ष छोरीहरूलाई खोलामा फालेको बयान गरेका तिवारीले अदालतमा आएर त्यो बयान झुठो भएको बताएका थिए। उनले अदालतमा गरेको बयान पनि बाझिएको भन्दै सर्वोच्चका न्यायाधीश दीपक कार्की र ईश्वर खतिवडाको इजलासले जन्मकैदको सजाय गरेको थियो।

 

सर्वोच्चले साक्षीको बयानलाई प्रमाण मान्यो। जबकी ती साक्षीहरूले उनले छोरी खोलामा फाल्दै गरेको भने देखेका थिएनन्। घटना अघि र पछि कृष्णप्रसादका क्रियाकलाप र व्यवहारबारे मात्रै उनीहरूले बताएका थिए।

 

त्यो बेला जिल्ला र पुनरावेदन अदालतले कैद सजाय गरेपछि लास नै नभेटिएको अवस्थामा आफूलाई दोषी ठहर्‍याउन नमिल्ने जिकिर तिवारीले सर्वोच्चसामू गरेका थिए।

 

सर्वोच्चले मनकुमारी नेपालीविरूद्ध नेपाल सरकार वादी भएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पूर्वप्रधानन्यायधीशसहितको इजलासले २०६८ सालमा गरेको फैसलालाई आधार मान्दै तिवारीलाई जन्मकैद सुनायो।

 

तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको इजलासले गरेको उक्त फैसलामा भनिएको छ- पानीमा बगाइएको र आगोले डढाएको जस्ता विषम परिस्थितिमा लास फेला नपर्न सक्छ। लासको अवशेषसमेत लोप गराउने अभियुक्तको भगीरथ प्रयत्न पनि हुन सक्छ। यस्ता क्रियाकलाप भएको भए वादीले पुष्टि गर्न सक्नुपर्छ।

 

लासबिना कर्तव्यज्यानको अभियोगमा कसैलाई सजाय गर्दा अत्यन्त सतर्कता अपनाउन भने इजलासले सम्झाएको छ।

 

उक्त इजलासको फैसलाले हत्यामाथि छानबिन गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिललाई भनेको छ- लास नभएको अवस्थामा पनि कसैलाई हत्याको दोषी ठहर्‍याउन बयानलगायतका मौखिक प्रमाणबाहेकका अन्य स्वतन्त्र प्रमाणहरूको शृङ्खला जोडिनु पर्दछ। र प्रमाणहरूको मालाकार कडीबाट त्यस्तो बयान व्यहोरा समर्थित नहुँदासम्म साविती बयानले कुनै प्रामाणिक महत्व राख्दैन भन्ने कुरालाई अनुसन्धान र अभियोजन पक्षले बुझ्नु जरुरी हुन्छ।

 

बमजनको सिन्धुपाल्चोक आश्रममा सञ्चलालको हत्या घटनाको अभियोजनमा पनि सर्वोच्चका यी दुई फैसला नजिर बन्न सक्छन्।

 

२०७१ साल चैत १४ गते सञ्चलालले आफ्ना छोरालाई १७ गते घर आउँछु भन्दै सिन्धुपाल्चोक आश्रमबाट फोन गरेका थिए। आउँछु भनेको १० दिनसम्म नआएपछि छोरा महिन्द्र बाबु खोज्दै त्यहाँ पुगे। आश्रमले आधिकारीक जवाफ दिएन। केही मानिसहरूले झरी परेको बेला निस्केर गएको भने। यो कुरा महिन्द्रले प्रहरीमा दिएको जाहेरीमै उल्लेख छ। यही सूचना र बयान सञ्चलालको मुद्दा स्थापित गर्ने पहिलो कडी हो।

 

चैत १५ गतेसम्म चलेको पूजा सकिएको भोलिपल्ट बोक्साको आरोप लगाएर बमजनले सञ्चलाललाई कुटेको र कुट्दाकुट्दै ज्यान गएको देख्ने प्रत्यक्षदर्शी प्रहरीसँग छन्।

 

अदालतसामू घटनाका ती साक्षीले बयान दिँदा न्यायाधीशहरूका लागि स्वभाविक प्रश्न उठ्नेछ- यी साक्षीले भनेको सही हो कि होइन?

साक्षीका कुराको सत्यता पुष्टि गर्ने प्रमाणको अर्को कडी पनि प्रहरीसँग छ।

 

ती साक्षीहरूले सेतोपाटी र प्रहरीसँग पनि भनेका थिए- पिट्दापिट्दै सञ्चलालको ज्यान गएपछि आश्रमभन्दा माथिको डाँडामा खाल्डो खनेर बमजनले लास गाड्न लगाएका थिए। बमजनले लासमाथि धेरै पोका नुन खन्याउन पनि भनेका थिए। साक्षीहरूको यो बयान सेतोपाटीमा पहिले नै छापिइसकेको छ। भैसकेको छ।

 

सेतोपाटीमा स्टोरी छापिएपछि प्रहरीले साक्षीहरूले भनेको ठाउँमा गएर उत्खनन गरेको थियो। त्यहाँ उत्खनन गर्दा पाँच-सात फिट जमिनमूनि ९ वटा नुनको पोका फेला परेका थिए।

 

साक्षीहरूले भनेको कुरा सत्य नभएको भए एकै ठाउँमा यति धेरै नुनका पोका भेट्न सम्भव थिएन।

 

ती नुनका पोका घरमा प्रयोग गरिएका होइनन् भन्ने पोकाका प्रकृतिबाट पनि पुष्टि हुन्छ।

 

घरायसी प्रयोग गर्न नुनको पोका एउटा छेउबाट वा माथिबाट पुरै काटिन्छ। तर उत्खनन् गर्दा फेला परेकामा सबै पोका बीचबाट ठूलो प्वाल पारेर खोलिएको छ। लासमा नुन खन्याउदा जसरी पोखिए पनि फरक पर्दैन, त्यसैले बीचमा भ्वाङ पारेर पोका फुटाइएको छ।

 

साक्षीले भनेकै ठाउँमा यति धेरै फिट जमिनमूनि भेटिएका ती नुनका पोका अदालतसामू उनीहरूको बयानको सत्यता पुष्टि गर्ने बलियो प्रमाण हुन्।

 

प्रहरीले अरू सहायक प्रमाण पनि जुटाउन सक्छ।

 

आश्रममा आनी र चेला बिरामी परेपछि बोक्सा लगाएको आरोपमा बमजनले सञ्चलाललाई कुटेको प्रत्यक्षदर्शी चेलाले बताएका छन्। त्यो बेला मानिस मात्र होइन आश्रमका घोडा पनि बिरामी परेको बमजनको सिन्धुपाल्चोक आश्रममा बसेकी पूर्वआनी गंगामायाको बयानमा उल्लेख छ। प्रहरीले सिन्धुपाल्चोक आश्रम वरिपरि उत्खनन गर्दा घोडाको कंकाल फेला पारेको छ।

 

घटना पुष्टि गर्न यी बलिया सहायक प्रमाण हुन सक्छन्।

 

यी सबै घटनाका कडी जोड्ने हो भने सञ्चलालको हत्या भएको कुरा अदालतलाई बुझाउन गाह्रो छैन।

 

सामान्य व्यक्तिको मुद्दा भएको भए बमजनविरूद्ध अहिलेसम्म मुद्दा चलिसकेको हुने प्रहरी अधिकारीहरू नै स्वीकार्छन्।

 

यति बलिया प्रमाणका आधारमा बमजनलाई पक्राउ गर्न र थप अनुसन्धान गर्न सम्म प्रहरीले आँट गर्न सकेको छैन।

 

बमजनलाई पक्राउ गर्ने हो भने उनले आश्रममा चलाएको हत्या र बलात्कारका अरू प्रमाण प्रहरीले भेट्न सक्छ। उनीसँग डराएर बोल्न नसकेका मानिसहरू बाहिर आउन सक्छन्। उनीहरूको बयान नै सञ्चलाल र अन्य घटना स्थापित गर्ने कडी बन्न सक्छन्।

 

प्रहरीले तदारूकतासाथ अनुसन्धान अघि बढाउन नसकेपछि उनको कर्तुतविरूद्ध बोल्नेलाई बमजनका मान्छेले धम्काउन र फकाउन थालेका छन्।

 

त्यसले गर्दा कतिपय साक्षी र पीडित परिवार असुरक्षित भएका छन्। कतिपयले सार्वजनिक रूपमै आफ्नो बयान फेर्न थालेका छन्। प्रहरीको सुस्त गतिले अनुसन्धाननै प्रभावित बनेको छ।

 

एक उच्च प्रहरी अधिकारीले बमजनको मुद्दा हाइप्रोफाइल भएकाले उनलाई पक्राउ गर्न अनुसन्धान अघि बढाउन राजनीतिक नेतृत्वको निर्देशन चाहिने बताए।

 

‘यस्तो निर्देशन हामीले पाएका छैनौ,’ उनले भने।

 

प्रहरी संगठनलाई राजनीतिक नेतृत्वले किन आड दिएको छैन भन्ने प्रश्न उठेको छ।

 

सेतोपाटीमा समाचार छापिएपछि बमजनको नाममा खोलिएको धर्म संघका पदाधिकारीहरूले गृहमन्त्री थापा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे। आफ्नो धर्म र समुदायमाथि आक्रमण भयो भन्दै त्यस्तो आक्रमण रोक्न ध्यानाकर्षण गराएका थिए।

 

बमजनको मुद्दा धर्म र सम्प्रदायसँग जोडिन्छ कि भनेर पनि राजनीतिक नेतृत्व आवश्यकभन्दा धेरै सचेत भएको हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछन्।सेतोपाटी बाट ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top