राष्ट्रनिर्माताको योगदानको स्मरणमा विश्वमभर लामिछानेको जर्बुटामा पृथ्वीनारायण शाह

सिन्धुली साैगात संवाददाता २०७५ पुस २७ गते शुक्रवार सिन्धुलि

prithivi-narayan-shah-sindhulisaugat
 

विश्वमभर लामिछानेका कलाले विभिन्न समय र घटना क्रमको उजागर गरेका छन् । जसका कारण इतिहास पढ्न र बुझ्न चाहनेहरुका लागि जर्बुटा कला संग्रालय विशाल पाठशाला पनि हो । राष्ट्रनिर्माताको योगदानको स्मरणमा लामिछानेको जर्बुटामा पृथ्वीनागरायण शाह ।

 

विश्वको नमूना विश्वम्भरको कुटी

 

 

सरद ऋतुसँग सँगै पानी नपरेको निक्कै भई सकेको थियो । सफा, सुन्दर र निलो गगनको मुनी घामका न्यानो रोशनीहरु भरखर भरखर मात्र पोखिदै थिए । बगानमा लगार्ईएका थरी थरीका फुलहरु स्वच्छन्दसँग आफ्नो सुन्दर बैंशसँगै प्रस्फुटित सुवाश छरिरहेका थिए । तिनै फुलहरुमा वेप्रवाहसँग भमरा र पुत्तलीहरुको प्रेमिल गस्ति चलिसकेको थियो । यसै बगानको छेउमा डोरी वाला चस्मा लगाएर तिलचाम्ले झुस्स दारी पालेका झट्ट हेर्दा अलि अनौंठो अनौंठो देखिने टाउजर माथि कट्टु लगाएर एउटा कामनकाजको जस्तो देखिने रुखको जरामा छिनो हान्दैं कला खोज्दै थिए एक कुशल साधक ।

 

कुरा २-३ दिन अगाडिको हो । मैले कतै सुनेको थिएं । सिन्धुलीमा जर्बुटा कला संग्रालय छ रे भनेर । त्यती सुचनाको भरमा सहकार्य नेपालका हामी ६ जना साथिहरु विहानको समय सदुपयोग गर्ने सोचमा कमलामाई नगरपालीका ४ ढकालगाँउमा पुग्यौं । जहाँ  जर्बुटा कला संग्रालय मात्र रहेनछ । त्यहाँ त स्वर्गको सानो टुक्रा नै रहेछ ।

 

२०१८ सालमा आमा  हरिप्रिया र बुबा तारानाथ लामिछानेका कान्छा पुत्रका रुपमा जन्मिएका विश्वम्भर लामिछानेले कानुनमा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन पुरा गरेर मात्र थाकेनन् । उनले त्यो भन्दा अझ बढि माक्र्सवादी दर्शनका ठेलीहरुको अध्ययन पुरा गरे । जीवनको उर्वर समयमा देश र जनताको लागि भन्दै प्रगतिशिल आन्दोलनमा विताए । विद्यार्थी काल देखि सक्रिय राजनिति गरेका लामिछाने २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको तर्फबाट आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उठे ।

 

राजनितिसँग सँगै सामाजिक संघ संस्थामा पनि काम गर्दै नेपाल रेडक्रस शोसाईटी सिन्धुली

 

जिल्ला शाखाको सभापति समेत बने । राजनिति र समाजसेवा सँग सँगै जिविको पार्जन र रोजिरोटीको लागि उनले कानुन व्यवसायी बनी वकालती पेशा पनि गरि रहनुभएको रहेछ ।

 

ठक्कर खाए पछि मान्छे परिश्रमी र परिपक्क बन्छ भन्छन् । यो भनाई लामिछानेको जीवनमा ठ्याक्कै मिल्दो देखिन्छ । उनी रेडक्रस शोसाईटी सिन्धुली जिल्ला शाखाको सभापति भएकै बेला घरमा आमा विरामी पर्नु भो । विरामी लिन एम्बुलेन्स गयो तर घर पुग्ने बाटो थिएन् । विरामी मान्छेले बोकेर बाटो सम्म ल्याईयो । केही दिन पछि अफिसमा तल्लो तहका कर्मचारीले गाईँगुँई गफ गर्दै गरेको सुनियो – सभापतिको घर जाने बाटो नै रहेनछ । यो वाक्यले उनलाई निक्कै ठूलो ठक्कर दियो ।

 

bishwomvar-lamichhane-1

 

भोली पल्टबाट उनले एक्लै बाटो खन्न सुरु गरे । यो राम्रो र अति आवश्यक काम थियो । साथ सहयोग मिल्दै आयो । घाँस, दाउरा जाने, मेला पात जाने र गाई बाख्रा चराउने गोठालाहरुले समेत बाटो खन्न साथ दिए । बाटो खन्दै जाँदा एउटा बुढो रुख ढाल्नु -उखेल्नु पर यो । त्यसको जरा अलि अनौठो प्रकारको रहेछ । उनले त्यसलाई घर लगे । टक्टकाए, पखाल पुखुल पारे र कर्द तथा छिनोले त्यसलाई केही मिलाए । फलस्वरुप त्यसले केही चिजको आकृति लियो । उनी दङ्ग परे । त्यसबाट उनलाई ठुलो शिक्षा र प्रेरणा मिल्यो । अब उनले जरा जर्बुटामा आकृति हुँदो रहेछ भन्ने ज्ञान पाए । त्यो जरा नै उनको जिवनको सबै भन्दा ठुलो सम्पति बन्न पुग्यो । उक्त कला अहिले पनि उनको संग्रालयमा जेठो कलाको रुपमा जिवन्त छ । त्यस पछि उनले जरा जर्बुटा खोज्न थाले । हेर्न थाले । बर्षा मासमा भेल बाढीले बगाएर ल्याएका जरा जर्बुटा जम्मा गर्न थाले । यसरी सुरु भएको उनको जर्बुटा कला संग्रालयमा हाल २५० को हाराहारीमा विभिन्न कलाहरु संग्रहित छन् । जसरी एउटा मान्छेको अनुहार अरु मान्छेसँग ठ्याक्कै मिल्दैन् । त्यसै गरि एउटा कला तयार भई सकेको पछि त्यही भाव र प्रकृतिको अर्को कला सृजना गर्न नसकीने हुनाले उनी कुनै पनि कला कुनै मुल्य लिएर वा उपहारको रुपमा दिन नसकिने बताउनु हुन्छ ।

 

 

उनको संग्रालयमा भएका कलाहरु फरक फरक विषयवस्तु, विम्व, भाव र प्रकृति बोक्न सफल र सक्षम देखिन्छन् । आज भन्दा साँढे दुई दशक बर्ष अघि सुरु भएको उनको जर्बुटा कला धर्म ग्रन्थहरुमा बर्णित कथाहरु, बाईसे, चौविसे राज्यहरुको एकीकरण, राणा शाषण, देशले भोगेको विषम परिस्थिति, बदलिंदो राज्य व्यवस्था, विशिष्ठ व्यक्तिहरु, देश प्रेम, मातृत्व प्रेम, युवा युवतीमा सृजना हुने कामुक यौनावेग (प्रेम), मानव मस्तिष्क, शिव लिङ्ग, विभिन्न देविदेवताका बाहानहरु र विम्बातमक सृजनाहरुले संग्रालय हेर्न र अध्ययन गर्न लायक छ ।

 

bishwomvar-lamichhane-2

 

उनका कलाले विभिन्न समय र घटना क्रमको उजागर गरेका छन् । जसका कारण इतिहास पढ्न र बुझ्न चाहनेहरुका लागि यो एउटा विशाल पाठशाला पनि हो । उनका सबै जसो कलामा शीर्षक राखिएको छ । जसका कारण हामी आफैंले पनि कलाको सामान्य आशय बुझ्न सकिन्छ ।  जस्तो ‘मातृत्व प्रेम’ शीर्षकको कलामा एउटी आमाले छोरीलाई काखी च्यापेर बोकेको दृष्य छ । त्यस्तै ‘माटो मुनिको माया’ शीर्षकको कलामा एकजोडी युवायुवती माया प्रेममा मदहोस भई आलिङ्गनमा बाँधिन लागेको कामुक कला छ । त्यसलाई हेरेर विपरित लिङ्ग प्रति हुने आकर्षण र माया प्रेमलाई घन्टौं व्याख्या गर्न सकिन्छ । माया प्रेम भन्ने कुरा तरुन तन्नेरी युवा युवतीमा मात्र जागृत हुने कुरा हैन “यो त हरेक वस्तु र परिवेशमा हुन्छ” भन्ने कुराको संकेतिक अर्थका दृष्टिले माटो मुनिको माया शीर्षक निकै बेजोड छ । त्यसै गरी ‘संभ्रान्त पीडा’ नामको कलामा ठुलाठालु भनिएका संभ्रान्त परिवारको घरका महिलाहरुको पीडालाई चरितार्थ गरिएको छ ।

 

‘युद्घ विराम’ शीर्षकको कलामा नेपालको नक्शाको एक छेउमा मानिस र अर्को छेउमा बन्दुकको नालले देशलाई थेगेको÷उभिएको देखाईएको छ । २०६२÷०६३ पछि खुबै चर्चामा आएको शब्द “नयाँ नेपाल”ले उनमा कलामा पनि शीर्षक पाएको छ । जुन शीर्षकको कलामा हँसिया हतौंडा र चारतारे झण्डाका विचमा नेपालको झण्डा राखिएको छ । ‘मध्यकालिन जनयुद्घ’ शीर्षकको कला निकै उत्कृष्ट कला हो । जसमा मानव खप्पर माथि शान्तिका अग्रदुत भगवान बुद्घलाई उभ्याईएको छ । जहाँ बुद्घको दाँया खुट्टो र हात काटीएको छ । यसको अर्थ बुद्घ जुन समयमा जन्मे त्यस बेलाको समय सहज थियो । उनी ध्यानमा बसे अनि बुद्घत्व प्राप्त गरे तर मध्ययुगिन जनयुद्घको समयमा उनी जन्मिएका भए कि उनी आफैं युद्घको शंखघोष गर्दै हिड्थे, कि उनलाई युद्घकारीले वा सरकार पक्षले हात खुट्टा काटिदिएका हुन्थे भन्ने युद्घको भावलाई प्रतिकातमक ढङ्गले देखाउन खोजिएको छ ।

 

यसरी उनका कलाले फरक फरक विषयवस्तु, भाव र विम्वको उजागर गरेका छन् । नारी संवेदना, प्रसव वेदना, मानव चित्कार, युद्घको त्रास, प्राकृतिक सौंन्दर्यको बर्णन, वातावरण विनास, इतिहास र इतिहासकारहरु, समसामयिक राजनितिक परिवेश उनका कलामा पाईने प्रमुख विशेषता हुन् ।

 

उमेरका हिसावले छ दशकको वरिपरि घुम्दै गरेका लामिछानेको दैनिकी, उर्जावान बोलि वचन र व्यवहार हेर्दा २५÷३० वर्षको युवा जस्तो महसुस हुन्छ । उनमा जरा जर्बुटामा कला भर्ने सीप मात्र छैन । संग्रालयमा आउने कला अवलोकन कर्ताहरुलाई गर्ने स्वागत, सत्कार, उनीहरुसँग बोल्ने बोलि वचन, कलाका बारेमा सोधिएका जिज्ञासा समाधान गर्ने कला जो कोही व्यक्तिमा नहुन सक्छ । उनको यो कला अझ प्रसंशनीय र सम्मान योग्य छ । संग्रालय अवलोकन पश्चात आफुलाई मनमा लागेको कुरा तत्कालै व्यक्त गर्न पाईन्छ । जसका लागि संग्रालयको ढोकै नजिक २÷३ वटा रजिष्टर र ५÷७ वटा डट्पेन राखिएको छ । यसमा अभिव्यक्त अभिव्यक्तिहरुलाई पुस्तकको रुपमा प्रकाशित गरी लिखित दर्पणको रुपमा संग्रहित गर्ने योजना रहेको हुनाले संग्रालयमा आउने अवलोकल कर्ताहरुले छिटै उक्त दस्तावेज पनि अध्ययन अवलोकन गर्न पाउने छन् ।

 

जरा जर्बुटा कला संग्रालय वरिपरिको सजावट, सरसफाई र फूल बगैचा हेर्दा विश्वम्भर लामिछाने प्रकृतिका सच्चा प्रेमी हुन भन्न सहजै सकिन्छ । यत्ति भनेर मात्र उनको प्रकृति पे्रमलाई न्याय पुग्दैन् । कला संग्रालय हेर्न मात्र हैन उनको घर वरिपरिको फुल र बगैंचामा बसेर पारिवारिक होस वा युगल वा सिंगल सेल्फि (फोटो) खिच्न कै लागि पनि धेरै जना त्यहाँ पुग्ने रहेछन् । परिश्रमी, स्वाभलम्वी र आफैं गरेर खानु पर्छ भन्ने भावनाका धनि लामिछनेको घर वरिपरि एउटा परिवारको लागि प्रशस्त पुग्ने सबै खाले तरकारी र मसलाहरुको खेति देख्दा त्यहाँ पुग्ने सबैको मुख रसाउँछ ।

 

संग्रालय, घर र बगैंचाको तारिफ गर्दा उनी यो त जिवन गुजाराको लागि घाम पानी छेल्ने  कुटी मात्र हो भन्नु हुन्छ । त्यसो भन्दै गर्दाको उनको हाउभाउ र चेहेरा हेर्दा वास्तवमै उनी एक कुशल साधक वा योगी झैं देखिनु हुन्छ । लोभ, पाप र रीसराग त्यागेर आफ्नो कर्ममा तल्लिन साधकहरु बस्ने पनि कुटी मै हो । त्यसैले यस आलेखको शीर्षकमा पनि कुटी शब्द नै प्रयोग गरिएको हो ।

 

प्रकृतिक सौन्दर्य, जंगल, जरा जर्बुटा, जडिबुटी, जल, जमिन र जनशक्तिले भरिपूर्ण हाम्रो देशमा मात्र नभएर यो जरा जर्बुटा कला संग्रालय विश्व मै एक मात्र हुन सक्छ । यस्ता साधक, साधना र साधनको उचित संरक्षण, सम्बर्धन, प्रचार, प्रसार र व्यवस्थापन गर्नु समग्र नेपाली र विशेष गरि कमलामाई नगरपालिका स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी पनि हो । त्यसै पनि सिन्धुली जिल्ला सिन्धुली गढी, हरिहरपुर गढी र जुनारका नामले ऐतिहाँसिक र रमणिय छ । अझ यो कला संग्रालयको उचित व्यवस्थापन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको लागि उपयुक्त गन्तव्यको रुपमा विकास हुन् सक्छ । विश्वको नजर विश्वम्भरको कुटीमा पर्न सक्छ । यस्ता कुशल साधकको जोस जाँगर भएकै बेला यो जरा जर्बुटा कलासँग सम्बन्धित प्रदर्शनी, मेला, सेमिनार र प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना र सञ्चालन गर्न सके अरु कला पारखिहरुको पनि जन्म हुने छ । जसबाट निर्मित कला नेपाल र विदेशका विभिन्न ठाउँमा निर्यात गरि सिन्धुलीको चिनो वा पहिचानको रुपमा स्थापति गराउन तथा समग्र जिल्लाको आम्दानिको स्रोत बढाउन समेत सकिने छ ।

 

साभारः खरिबोट डट कम

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top