रेशम चौधरीको सपथ दिउँसो ३ बजे

सिन्धुली साैगात संवाददाता २०७५ पुस १९ गते बिहीवार काठमाडौं

 

कैलालीको टीकापुर हत्या प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गराउने समय फेरिएको छ ।

 

 

यसअघि संसद सचिवालयले आज विहान ११ः३० बजे रेशमलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गरेको थियो । तर, मध्याह्न १२ बजेदेखि प्रतिनिधिसभा बैठक बस्ने भएकाले रेशमलाई सपथ ग्रहण गराउने समय फेरिएर दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ ।

 

‘यसअघि विहान ११ः३० बजे सपथ ग्रहण गराउने भन्ने तय भएको थियो,’ राजपा नेता लक्ष्मणलाल कर्णले लोकान्तरसँग भने, ‘१२ बजेदेखि नै संसद वैठक बस्ने भएकाले सपथ ग्रहणको कार्यक्रम ३ बजेका लागि सारिएको जानकारी प्राप्त भएको छ ।’

 

संसद् सचिवालय स्रोतका अनुसार शपथ लगत्तै चौधरीलाई पुनः कारागार लगिने छ । तर त्यसका लागि उनलाई सभामुखले तत्काल निलम्बन गर्नुपर्ने हुन्छ ।

 

‘चौधरी पहिले सर्वसाधारणको रूपमा थुनामा थिए, अब निलम्बित सांसदको रूपमा थुनामा रहन्छन,’’ स्रोतले भन्यो ।

 

गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट अत्यधिक मत ल्याएर विजयी भएका चौधरी कैलाली जिल्ला अदालतको आदेशानुसार कारागार चलान भएका थिए ।

 

टीकापुर घटनाको मुद्दामा फररा रहेकै अवस्थामा वारेशनामामार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका चौधरीले प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनी आफूविरुद्धको मुद्दाको प्रतिवादका लागि गत फागुन १४ गते चौधरी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालतले सोही दिन चौधरीलाई मुद्दाको पुर्पक्षका लाथि थुनामा राख्न आदेश जारी गरेको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top