जुनारमा राजनैतिक ब्याक्ट्रोसेराको गन्ध !

सम्पादकीय २०७५ पुस १६ गते सोमवार सिन्धुली

 

ब्याक्ट्रोसेरा मिन्याक्स अर्थात् झिंगाको एक प्रजाति जस्ले जुनार, सुन्तलालाई विशेष रुपमा सताउने र आक्रमण गर्ने गर्दछ । ब्याक्ट्रोसेरा मिन्याक्सले सिन्धुलीका जुनारमा आक्रमण गरेजस्तै राजनैतिक गन्धले जुनार खेतिको विकासमा पनि असर पुर्‍याइरहेको छ । सिन्धुली जिल्लाको मुख्य पहिचानको रुपमा रहेको जुनारको उत्पादनलाइ व्यवस्थित र बजारीकरणलाई व्यापक बनाउन जिल्लामा २०७३ चैत्रबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण (जुनार सुपरजोन) परियोजना शुरु भएपनि जुनार कृषकको समस्या झनै बढिरहेको छ । जस्को मुख्य कारण राजनैतिक हस्तक्षेप देखिएको छ । चुनावको बेला परियोजनाको गाढी राजनैतिक दलले प्रयोग गर्नु, नवगठित सुपरजोन संचालक समिति गठनमा राजनैतिक हस्तक्षेप लगायत थुप्रै कारणहरुले परियोजनामा राजनैतिक गन्ध फैलिएको देखिन्छ । व्यवस्थापकीय पक्षको कमजोरिका कारण परियोजनाको काम चित्तबुझ्दो देखिएको छैन ।

 

 

सिन्धुलीको जुनारले देशैभर प्रसिद्धि कमाएको छ । तर, केहिवर्ष यता किराले जुनारको गुणस्तरीयतामाथि नै प्रश्न उठाइदिएको छ । जुनारमा लागेको किराले जुनार कृषकहरु हैरान भएका छन् । जुनार, सुन्तला जातका फलफूल खेती जोखिममा परेका बेला सो सम्बन्धी लामो समयदेखि अध्ययन अनुसन्धान गर्दैआएका बरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारी परियोजनाकै प्रमुख रहेकाले अधिकारी जस्ता जनशक्तिलाई काम गर्ने उचित वातावरण सिर्जना गर्न सम्बन्धित पक्षहरु चुकेको आरोप लाग्ने गरेको छ । त्यसैले, जुनार सुपरजोन आयोजनामा रहेका समस्यालाई हल गर्न जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जुनार सुपरजोन परियोजनाबाट कृषकहरुले ठूलो अपेक्षा गरेपनि केहि राजनैतिक दलका नेताहरुको स्वार्थमा परियोजनाको उपलब्धि खुम्चिएको छ । तसर्थ, राजनैतिक दलले कुनै हस्तक्षेप नगरि परियोजनालाई सफल बनाउन सहयोग गर्नुपर्छ । अतः राजनैतिक दलहरुले हरेक ठाउँमा हस्तक्षेप बन्द गर्नुपर्छ र विकासका योजनामा सहयोगि भुमिका निभाउनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top