कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रतिवद्धता सहितको हस्ताक्षर

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २५ गते मंगलवार सिन्धुली

 

कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवालाहरुको प्रतिवद्धता सहितको हस्ताक्षर कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे जिल्ला शाखा सिन्धुलीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रहेर सोमबार कार्यक्रम गरेको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण बनाउनका लागि सम्पूर्ण सरोकारवालाहरुमा लैङ्गिकमैत्री सोचको विकास हुनु आवश्यक रहेको बताए । त्यस्तै उनले पित्तृसत्तात्मक सोचलाई त्याग्नु जरुरी रहेको बताए । त्यसका लागि सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुको विकल्प नभएको उनको भनाई छ ।

 

 

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण बनाउनका लागी विभिन्न सरोकारवालाहरुसंग छलफल र समन्वय गरेर अघि बढ्ने बताइन । हरेक क्षेत्रमा लैङ्गिक समानता हुनु पर्नेमा जोड दिदै उनले कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि सबै लागि पर्नुपर्ने बताइन ।

 

त्यस्तै कार्यक्रममा गैर सरकारी सस्था महासंघका अध्यक्ष वेदराज दाहाल, विपि यातायात सेवा समितीका प्रतिनिधि, होटल व्यवसायी संघका प्रतिनिधि लगाएतले आ–आफ्नो क्षेत्रमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

 

कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाहरुको प्रतिवद्धता सहितको हस्ताक्षर कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको अवस्थाबारे संकलन गरिएको आवाज समेत प्रस्तुत गरिएको थियो ।

 

 

क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे जिल्ला शाखा सिन्धुलीकी अध्यक्ष सुजता लामाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता एवम उपप्रमुख मञ्जु देवकोटाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीलाई क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजेकी सहसचिव राधिका बुढाथोकीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कृञ्जला पुलामीले गरेकी थिइन् ।

 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

 

यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमबार दिप प्रज्वलन गरि समापन गरिएको छ । ७० औ अन्तराष्टिय तथा १० औ राष्टिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १७ दिने अभियानको समापनको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

 

कमलामाई नगरपालिका, जिल्ला स्तरिय मानव अधिकार सञ्जाल, ओरेक सिन्धुली र इन्सेक सिन्धुलीको आयोजनामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top