सिन्धुलीका स्थानिय तह प्रतिनिधिको फेसबुक मोह, कनपाका मेयर शेयर गर्न सिपालु, राउत सक्रिय

सगुन रायमाझी २०७५ मंसिर २० गते बिहीवार सिन्धुली

Sindhuli Facebook
 

करिब दुई साता अघि सिन्धुलीका पत्रकार पुस्कर थापाले गोलञ्जोर गाउँपालिकामा नीकासी कर मनोमानि तरिकाले संकलन गरेको विषयलाई समाजिक संजालमा उठाएपछि फेसबुकमा सक्रिय रहेका गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले थापाको स्ट्याटसमा स्पष्ट जवाफ फर्काए ।फेसबुकमा एकाएक भाइरल बनेको उक्त घट्नाको स्पष्टिकरण गाउँपालिका अध्यक्षले फेसबुकमा केहि समयमै दिन भ्याइहाले । समाजिक संजालमा गाउँपालिकाको उक्त कदमप्रति थुप्रैले विरोध गरेको अवस्थामा गाउँपालिका अध्यक्षको फेसबुक प्रतिक्रियाले भने केहि हदसम्म भ्रम चिर्न सफल भयो । लगत्तै उक्त कर निकासीका विषयमा छलफल गरि गाउँपालिकाले आवश्यक कदम पनि चालेको छ ।

 

समाचार र देश दुनियाँ बारे बुझन्, पारिवारिक सम्पर्क, अग्रसर हुने या कुनै गरिब या असहायको सहायताको लागि अपिल गर्न, सूचना प्रवाह लगायत थुप्रै सकारात्मक काममा फेसबुक उपयोगी छ । वर्तमान अवस्थामा सामाजिक संजाल सूचना प्रवाहकालागि बलियो माध्यम बन्दै गएको छ । अध्यक्ष कार्की जस्तै जिल्लाका अधिकांश जनप्रतिनिधिहरुले फेसबुक प्रयोग गर्दै आएका छन् । केहि जनप्रतिनिधिले सूचना प्रवाहकालागि फेसबुक प्रयोग गर्दै आएका छन् भने केहि मनोरञ्जनकालागि । कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रि पनि सक्रिय फेसबुक प्रयोगकर्ता हुन् । उनको नाममा रहेको ‘कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रि’ फेसबुक एकाउन्टबाट उनी कनपाका सूचना तथा कार्यक्रमहरु निरन्तर पोष्ट्याउँछन् । त्यसैगरि, ‘खड्ग खत्रि’ नामको फेसबुक एकाउन्टबाट भने उनी कहिले श्रृंखलालाई भोट गर्न भन्दै पोष्ट शेयर गर्छन् त कहिले ‘फोटो सेयर गरेको केहि घण्टामै सुख समाचार पाउनुहोस्’ जस्ता पोष्टहरुपनि शेयर गर्न भ्याइरहेका हुन्छन् ।

 

त्यसैगरि, दुधौली नगरपालिका प्रमुख घनश्याम राउत पनि सक्रिय फेसबुक प्रयोगकर्ता हुन् । उनले नगरपालिका भित्र संचालन हुदैँ गरेका योजना लगायत कार्यक्रमहरुको सूचना फेसबुकबाटै अपडेट गराइरहेका हुन्छन् । उनको फेसबुकमा ४५ सय भन्दा बढि साथी छन् । उनका फेसबुक मित्रहरुले उनलाई नगरपालिक भित्रका समस्या, समाधान लगायत कार्यक्रहरुको फोटो ट्याग गरिरहेका हुन्छन् । केहि समय यता राउत फेसबुकमा निकै सक्रिय देखिदैँ आएका छन् ।

 

प्रदेश सांसद राजन दाहालले शालिकमा माल्यार्पण गरेको तस्बिर आफ्नो फेसबुक कभर फोटो राखेका मरिण गाउँपालिका अध्यक्ष पानीारज बम्जन फेसबुकमा अपडेट भइराख्ने जनप्रतिनिधि हुन् । सिन्धुली जिल्लाका गाउँपालिका अन्तर्गत सबैभन्दा बढि मतान्तरले निर्वाचित बम्जन दिनहुँजसो पोष्ट शेयर तथाअपडेट गरिराखेका हुन्छन् । झण्डै सात सय बढि फेसबुक साथी रहेको बम्जनको फेसबुकमा उनको पारिवारिक तस्बिरहरु पनि देखिरहेको हुन्छ ।

 

सुनकोशि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल पनि फेसबुकमा सक्रिय नै देखिन्छिन् । हाल चिन भ्रमणमा रहेकी नेतृ दाहाल आफ्नो पारिवारिक तस्बिर पोष्ट्याइरहेकि हुन्छिन् । विशेषगरि, उनी अरुले हालेका प्रेरणादायी तस्बिरहरु निरन्तर शेयर गरिरहेकी हुन्छिन् । उनको चार हजार बढि फेसबुक मित्र छन् ।

 

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामा भने केहि महिना यता फेसबुकमा अपडेट देखिदैँनन् । उनले विगतमा फेसबुकमा तस्बिर लगायत पोष्टहरु हालेपनि अहिले भने खासै सक्रिय देखिदैँनन् ।

 

तत्कालिन नेकपा एमालेका छत्र दाहालसँग १९ भोट बढि ल्याएर तीनपाटन गाउँपालिकाको अध्यक्ष बनेका कर्ण बहादुर थापा मगर भने आफ्नो पुरानो फेसबुक एकाउन्टमा देखिएको समस्याका कारण नयाँ फेसबुक एकाउन्ट प्रयोग गर्दै आएका छन् । उनले उक्त जानकारी पनि फेसबुकमै दिएका थिए । ४ हजार भन्दा बढि फेसबुक साथी रहेका थापाको वालमा प्राय कांग्रेस कार्यकर्ताले फोटो ट्याग गरिरहेका हुन्छन् । उनी फेसबुकमा कमेन्ट गर्न पनि भ्याइरहेका हुन्छन् । सामाजिक संजालमा पोष्ट गर्न भने थापा कञ्जुस्याँई गर्छन् । धेरै पोष्टहरु सेयर नगरेका थापा समाजिक संजालमा भने सक्रिय नै देखिन्छन् ।

 

सेवग्राहीलाई छिटो र प्रभावकारी सूचना र सेवा प्रदान गर्न फिक्कल गाउँपालिकाले मोवाइल एप्सनै सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष धनबहादुर कार्की समाजिक संजालमा सक्रिय नदेखिएपनि उनी फेसबुक प्रयोगकर्ता भने हुन् ।

 

घ्याङलेख गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनको नाममा फेसबुक एकाउन्ट भएपनि अपडेट गरेको पाइदैँन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top