नेपाल आतंकवादको निशानामा ३३ औं नम्बरमा !

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २० गते बिहीवार काठमाडौं

 

आतंकवादबाट दक्षिण एशियाली मुलुक सबैभन्दा बढी निशानामा रहेको विश्वव्यापी रुपमा बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ प्रतिवेदनले जनाएको छ । अष्ट्रेलियामा मुख्यालय रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले हरेक वर्ष यो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । विश्वव्यापी थिंक ट्यांकका रुपमा लिइने यो संस्थाको अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको छ भने न्यूयोर्क, मेक्सिको सिटी र हेगमा शाखा कार्यालयहरु रहेका छन् ।

 

प्रतिवेदनमा दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, पाकिस्तान र भारतलाई आतंकवादबाट सबैभन्दा बढी प्रभावित टप टेन राष्ट्रहरु मध्येमा राखिएको छ । नेपाल भने सो सूचीमा ३३ औं नम्बरमा छ ।

 

सूचीमा पहिलो नम्बरमा खाडी मुलुक इराकलाई राखिएको छ भने दोस्रोमा दक्षिण एशियाबाटै अफगानिस्तानलाई राखिएको छ । त्यसपछि टपटेन सम्म क्रमशः नाइजेरिया, सिरिया, पाकिस्तान, सोमालिया, भारत, यमन, इजिप्ट र फिलिपिन्स परेका छन् । सो सूचीमा नेपालको अर्को छिमेकी चीनलाई भने ३६ औं नम्बरमा राखिएको छ ।

 

यसैगरी विश्वको महाशक्ति राष्ट्र अमेरिका २० औं नम्बरमा छ भने बेलायत २८ औं नम्बरमा छ । अध्ययनमा राखिएका १३८ मुलुक मध्ये बोलिभियालाई सबैभन्दा पुछारमा राखिएको छ भने दक्षिण एशियाकै भुटान पनि १३५ औं नम्बरमा छ ।

 

प्रतिवेदनमा सन् १९७० देखि २०१७ सम्मको अवधिमा १ लाख ७० हजार आतंकवाद सम्बन्धी घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दक्षिण एशियाका चार राष्ट्रमा भने सन् २०१६ र २०१७ मा आतंकवादका गतिविधि अन्य तीन राष्ट्रको तुलनामा केही नियन्त्रित रहेको जनाइएको छ । तीन राष्ट्र अफगानिस्तान, पाकिस्तान र भारतलाई सो सूचीमा टपटेनभित्रै राखिएकोले सो क्षेत्रका बाँकी चार राष्ट्रमा सुधार भएको भनिएपनि नाम भने लिइएको छैन । गएको १६ वर्षमा दक्षिण एशियाका श्रीलंका र नेपालमा आतंकवादको गतिविधि नियन्त्रणमा आएको प्रतिवेदनमा उल्लेख छ ।

 

सन् २०१७ मा ती मुलुकको अवस्था केही बिग्रिएको भएपनि श्रीलंका र नेपालमा क्रमशः सन् २००६ र २००४मा जसरी आतंकवादका गतिविधि शिखरमा पुगेका थिए त्यसमा भने नियन्त्रण आएको प्रतिवेदनमा उल्लेख छ ।

 

श्रीलंकामा आतंकवाद नियन्त्रणमा आउनुमा त्यहाको लिबरेसन टाइगर्स अफ तमिल इलमको पराजयलाई कारक मानिएको छ ।

 

नेपालमा विगतको माओवादी गतिविधिका कारण आतंकवाद बढेकोतर्फ संकेत गरिएको भएपनि प्रतिवेदनमा सो कुरा किटेर उल्लेख भने गरिएको छैन । दक्षिण एशियाका मुलुकहरुमा आईएसआईएल र यससँग सम्बन्धित आतंकवादी संगठनका गतिविधिले अप्ठेरोमा पारेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा बंगलादेशको ढाकामा सन् २०१६ मा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको चर्चा गर्दै आईएसआईएलले सो घटनाको जिम्मेबारी लिएको उल्लेख गरिएको छ । सबैभन्दा भयानक आक्रमण अफगानिस्तान र पाकिस्तानमा इश्लामिक स्टेटको खोरासान च्याप्टरले गराएको र ती आक्रमणमा क्रमशः ९३ र ९१ मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

 

 

यो क्षेत्रको सबैभन्दा घातक आतंकवादी समूह तालिबान रहेको र सो संगठनको आक्रमणमा परि सन् २०१७ मा ३ हजार ५ सय ७१ जनाको अफगानिस्तानमा मृत्यु भएको जनाइएको छ । लामो समयदेखि यो समूहले अफगानिस्तान र पाकिस्तानमा घातक आक्रमण गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

 

भारतमा भने सरकार विरोधी आतंकवादी गतिविधि भइरहेको र आक्रमणकारीले प्रहरी वा सेनालाई लक्षित गरेको प्रतिवेदनमा जनाइएको छ । सन् २०१७ मा यो क्षेत्रमा भएका गतिविधि मध्ये ५२ प्रतिशतमा प्रहरी र सेनालाई लक्षित गरिएको जनाइएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top