साइकल यात्राको उद्घाटनमा रक्षामन्त्रीलाई निमन्त्रणा

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १८ गते मंगलवार काठमाडौं

Ride to Sindhuli
 

समृद्ध सिन्धुली अभियान र सिन्धुलिय श्रेष्ठ समाज काठमाडौँको सहकार्यमा पशुपति देखि विपी राजमार्ग हुदैँ सिन्धुली र जनकपुर सम्मको साइकल यात्रा उद्घाटनकोलागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई निमन्त्रणा दिइएको छ ।

 

राइड टु सिन्धुलीगढी २०१८ साइकल यात्रामा धार्मिक पर्यटकीय केन्द्र आदिलिंग कुशेश्वर महादेव मन्दिर नजिकै सुनकोशी किनारमा पहिलो दिनको खाना र मुल्कोटमा साइकलयात्रीको पहिलो बासको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । दोश्रो दिनको बास सिन्धुलीमाढी र तेश्रो दिनको बास जनकपुर हुने जनाइएको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरू साइकल यात्रा यस वर्ष सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।

 

Ishwor Pokhrel

 

यस वर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो। जनकपुरधामसम्म हुने महोत्सवमा सानो पाइला, फ्याक्ट्स नेपाल, स्टोरी साइकल, कन्सेप्ट नेपाललगायतका संस्था सहआयोजकका रुपमा रहने छन्। साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । यात्राको नेतृत्व विश्वसाकल यात्री पुस्कर शाह र अर्का चर्चित यात्री देवेन्द्र बस्नेतले गर्नेछन् ।

 

साइकल यात्रा २०७५ मंसिर २३, २४, २५ र २६ गते गरी चार दिन हुनेछ। ‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामू परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौँ ।

 

यसैबीच यात्रामा जान चाहनेहरुका लागि आवेदन फर्म खुल्ला गरिएको छ ।

 

 

ride-to-sindhuli-2

 

 

अभियानले दुई वर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको थियो । गत कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दा बढी ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म लगेको थियो । यस बर्ष २ सय जना यात्रीलाई लैजाने अभियानको योजना छ ।

 

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने हाम्रो अपेक्षा छ, सहआयोजक फ्याक्ट्स नेपालका महाप्रबन्धक मनिष झाले भने, विवाह महोत्सवको सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन पनि यात्रा सहायकसिद्ध हुनेछ ।

 

Ride-to-Sindhuli-sindhulisaugat

 

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

 

sunkoshi-mahotsav

 

 

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए ।

 

एतिहासिक महत्व बोकेको सिन्धुलीगढी र धार्मिक महत्वको सहर जनकपुरलाई साइकलले जोड्ने प्रयास गरेका छौं, सहआयोजक सानो पाइलाकी परियोजना प्रबन्धक श्रुती झाले भनिन्, साइकल यात्राले पहाडदेखि तराईसम्मका समुदायलाई अझ नजिक ल्याउने हाम्रो विश्वास छ ।
काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् ।

 

महोत्सव हुदैँ

 

त्यसैगरि, यात्राको सन्दर्भपारी सुनकोशी गाउँपालिका र मुल्कोट बजार व्यवस्थापन समितिको आयोजनामा मंसिर २३ गते मुल्कोटमा साँस्कृतिक कार्यक्रमसहित सुनकोशी महोत्सव हुने भएको छ ।

 

साइकलयात्रीहरु शुरुको दिन, मध्यान्ह मुल्कोट आइपुग्नेछन् । साइकलयात्रीहरुपनि महोत्सवमा सहभागि हुनेछन् ।

 

महोत्सवमा सुनकोशी कला सम्पदा यात्रा २०७४ का क्रममा तयार पारिएका चित्रकलासमेत प्रर्दशनी गरिने जनाइएको छ । महोत्सवमा चित्रकारहरुले पेन्टिङ समेत गर्ने जनाइएको छ । महोत्सवमा नायक राजेश हमाल, लोकगायक नवराज घोरासैनी, कृष्ण कँडेलको समूह लगायत स्थानीय कलाकारको समेत सहभागिता रहनेछ । महोत्सवको मुख्य आकर्षण स्थानीय खानाका परिकार, उत्पादनको स्टलसमेत रहनेछ । त्यसैगरि, महोत्सवको म’ख्य आकर्षण भने सुनकोशीमा जलयात्रा रहनेछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top