निरिह प्रतिपक्ष, नेपाली काँग्रेस !

सम्पादकीय २०७५ मंसिर १६ गते आइतवार सिन्धुली

 

२०१५ को संसदिय चुनावमा पहिलो पटक दुई तिहाई बहुमत ल्याउन सफल नेपाली राजनीतिको सबैभन्दा पुरानो दल नेपाली काँग्रेसले २०७४ को प्रतिनिधिसभा, प्रदेश सभा लगायत स्थानिय तहको चुनावमा लज्जास्पद हार व्यहोरेको छ । पार्टी संगठनमा देखिएको गुट/उपगुट, नेतृत्वको कमिकमजोरी, माथिल्लो तहमा वैचारिक विमति, व्यक्तिकेन्द्रित नेतृत्व, आन्तरिक मतभेद लगायत दर्जनौँ कारणहरुले नेपाली काँग्रेसलाई सानो दलमा खुम्चाइदिएको छ । चुनावमा लज्जास्पद हार व्यहोरेसँगै नेपाली काँग्रेस संगठनिक रुपमा कमजोर बनेको छ । सार्वजनिक रुपमै पार्टीका उच्च पदमा रहेका पदाधिकारीले नेतृत्वको विरोध गर्दै आएका छन् । देशमा बहुमतको सरकारले नेतृत्व सम्हालिरहेको अवस्थामा प्रतिपक्षि दल बलियो भएर सतर्क गर्नुको सट्टा आफ्नैँ आन्तरिक समस्याले राजनितिमा गुमराह हुनु लज्जास्पद हो । नेपाली काँग्रेसको भातृसंगठनहरुले खुल्ला रुपमै पार्टीको कदमप्रति विरोध गर्दै आएका छन् । तर पनि पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीहरु आफ्नो गुट बलियो बनाउनतर्फ मात्र उन्मुख भइरहेका छन् । पार्टीमा रहेका युवा वर्गले नेपाली काँग्रेस रुपान्तरित हुनुपर्ने आवाज उठाइरहेको अवस्था छ । समग्रमा नेपाली काँग्रेस २०७४ को चुनावपछि झनैँ भद्रगोल अवस्थामा रहेको विश्लेषण हुदैँ आएको छ । नेकपाको बहुमतको सरकारले छोटो अवधिमै विभिन्न विवादास्पद कदमहरु चालिरहेको अवस्थामा प्रमुख प्रतिपक्षिको हैसियतले नेपाली काँग्रेसले सरकारलाई सजग र सावधानि गराउनुपर्ने हो । तर, दुर्भाग्य नै भन्नुपर्छ विपी कोइरालाको पार्टी अहिले भने नेतृत्व र उच्च पदाधिकारीहरुको निजी स्वार्थका कारण कमजोर देखिएको छ ।

 

 

सर्वप्रथम त, नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरु यथाशिघ्र सुल्झाउन आवश्यक छ । नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन जति विवादास्पद बन्दै गएको छ त्यति नै पार्टी संगठनिक रुपमा कमजोर पनि देखिदै आएको छ । तसर्थ, भातृसंगठनमा चुलिएको विवादलाई सल्टाउन पार्टी नेतृत्व र पदाधिकारीहरु गम्भिर बन्न जरुरी छ । त्यसैगरि, बहुमतको सरकारलाई सावधानि गराउन र सरकारको विवादास्पद कदमलाई खबरदारि गर्दै प्रतिवाद गर्न पनि नेपाली काँग्रेस प्रतिपक्षिको रुपमा सशक्त हुन जरुरी छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top