पुरुष भएर बाँची हेर्दा !

सन्जोग ठकुरी २०७५ मंसिर ९ गते आइतवार काठमाडौं

 

सन् २००४ को कुरा हो बुबाको असामयिक निधन भयो । म सायद १० कक्षा पढ्दै थिए ।बुबा र आमा हाम्रो परिवारको अर्थ जोहो गरिदिने व्यक्ति हुनुहुन्थ्यो । ठूल्दिदीको त्यसबेला विवाह भइसकेको थियो र सान्दिदी स्नातकतह पढ्दै हुनुहुन्थ्यो । परिवारमा भावनात्मक मात्र हैन आर्थिक रुपमा पनि समस्या आइपरेको थियो । १३ दिने क्रिया बसाईमा धेरै आफन्तहरु आउनु भयो, शोक मनाउनु भयो, दुःख नमाने है भन्दै मल्हम पनि लगाउने प्रयास गर्नु भयो । तर मलाई सबैभन्दा उदेक लागेको कुरा भनेको चैं जो पनि आउँथे सबले हामीलाई अझ खासगरी मेरो दाजुलाई हेर्दै अब परिवार, आमा, दिदीहरु र भाइ तेरो जिम्मा भयो भन्दै जिम्मेवारी बोध गराउँथे । अरे यार ! मेरो दाइ भन्दा त मेरी दुईटी दिदी ठूला हुन्, आमा पनि त काम गर्दै हुनुहुन्छ, म कहिलेकाँहि नाटक खेलेर आक्कलझुक्कल पैसा कमाउँछु तर सबैको आश गगन (मेरो दाइ) मात्र थियो । यो जति मेरा लागि देख्दा र सुन्दा दिक्क लाग्दो थियो त्यो भन्दा कैयो गुणा पीडादायि दाजुको लागि थियो ।

 

यो घटना मेरो मानसपटलमा आज पनि ताजा छ । बारम्बार मलाई प्रश्न तेर्साइरहन्छ आखिर दाजुलाई यत्रो जिम्मेवारी किन दिइयो ? के उनी छोरी भएको भए उनले यो भारी लिनु पर्ने थियो ? पक्कै पनि थिएन । हामीले कम सोचेको वा सोच्दै नसोचेको विषय हो पित्तृसत्ताले पुरुषलाई पारेको असरको बारेमा । पुरुष, बालक र किशोर भएर पित्तृसत्तालाई हेर्दा समाज कम डरलाग्दो र पीडादायि छैन । तर यो विषय महिला त के पुरुष आफैले पनि सोच्न भ्याएका छैनन् । जेण्डरमा काम गर्ने कुनै पनि संघ–संस्थाले आवाज उठाएको मैले चैं आजको दिनसम्म पाएको छैन । यसै विषयलाई आधार मानेर विश्वमा हरेक अँग्रेजी महिना नोभेम्बरको १९ तारिखका दिन हामी अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउने गर्छौ । नेपालमा पनि यसै वर्षबाट मेरो नेतृत्वमा मनाउन सुरु गरिएको हो । आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरु दिन अर्थात् नोभेम्बर २५ । हामी अबको १६ दिन सम्म लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार भन्ने नारा सहित देशव्यापी रुपमा लैंगिक हिंसा विरुद्ध आवाज उठाउँदै छौं । यसै सन्दर्भमा मैले बालक र पुरुष माथि हुने हिंसा र पित्तृसत्ताको विषयमा केहि विषय यहाँ उजागर गर्न मनासिब ठानेको छु । सुरु गरौं पुरुष दिवस बाट :

 

आखिर के हो त पुरुष दिवस 

 

नारी दिवस मनाउन सुरु भएसँगै ६० को दशकमा यस्तै किसिमको दिवसको आवश्यकता पुरुषका लागि पनि भएको भन्ने आवाज यदाकदा उठ्न सुरु भयो । तथापि यसले गति लिन भने सकेन । पुरुष दिवसको विषयमा ६० को दशकबाटै कुरा उठ्न सुरु गरेको र सुरुवाती ताका यसलाई फेब्रुअरी २३ तारिखको दिनमा मनाउन थालिएको देखिन्छ । विशेषगरी सन् १९९३–१९९४ मा मिसौरी–कन्सास विश्वविद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा पुरुष दिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो । तर त्यसपछाडि यो क्रम निरन्तर हुन नसकेपछिपुनः सन् १९९९ मा ट्रिनिडाड टेंगो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुष दिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए । बुबा दिवस (father’s day) भएता पनि बालक, किशोर र बुबा नबनेका पुरुषहरुका निम्ति छुट्टै दिवस नतोकिएको तथा पुरुष र बालकहरुका लागि आदर्श पुरुषहरुको आवश्यकता ओल्याउँदै प्राध्यापक तेलकसिंले यस दिवसलाई अघि सारे । आफ्ना पीता एक असल पिता र पुरुषका रुपमा आदर्श भएकाले उनले आफ्नो पिताको जन्मदिन अर्थात् १९ नोभेम्बर छनौट गरेका थिए । युनेस्कोले मान्यता प्रद्यान गरेसँगै त्यसपश्चात सोहि दिनलाई नै निरन्तररुपमा अन्तरािष्ट्रय पुरुष दिवसको दिनको रुपमा मनाउन थालियो र जुन हालसम्म पनि निरन्तर रहेको छ । दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसैवर्ष देखि मनाउन थालिएको छ । विश्वमा चिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ । यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरु भन्ने नाराका साथ पुरुष दिवस मनाइरहँदा नेपालमो ३ःभत्ययमा नेपाली बालक र किशोरका दुव्र्यवहार र बलात्कारका विषय पनि उत्थान हुनुपर्ने सोचका साथ “किनकी बालक पनि दुव्र्यवहारमा पर्छन्” भन्ने नाराका साथ मनाइयो ।

 

लैंगिक हिंसामा पुरुषका मुद्दा

 

पित्तृसत्ता अर्थात् पुरुष नै सर्वेसर्वा भन्ने सोच । तपाई हामीले नमाने पनि एउटा सत्य के हो भने हाम्रो समाज पित्तृसत्तात्मक भएकै कारण पुरुष भएर जन्मनुका केही फाइदाहरु छन् । जुन समयानुसार परिवर्तित पनि हुँदै जानु पर्दछ । तर अर्को पाटो पनि छ यसै समाज भित्रको । जति पुरुषका लागि सहज र फाइदाजनक देखिन्छ उत्तिकै यसका समस्याहरु पनि रहेका छन् जसबारेमा हामी समक्ष उत्ति सारो छलफल हुने गर्दैन । नेपाली समाजमा पछिल्लो केहि अवस्था विश्लेषण गर्दा खासगरी बालक र किशोरहरु दुव्र्यवहार र हिंसाबाट प्रभावित हुने क्रम बढ्दै गएको देखिन्छ । तथ्यांकीय हिसाबमा हेर्दा निःसन्देश विभेद, हिंसा, दुव्र्यवहारको शिकार हुने अनुपात पुरुषको तुलनामा महिलाको कैयौ गुणा बढी छ र यस क्षेत्रमा धेरै लगानीको पनि आवश्यकता छ । तथापि यसको अर्थ बालक, किशोर र पुरुषमाथि हुने हिंसा र दुव्र्यवहारलाई वेवास्ता गरिनु पर्दछ भन्ने कदापि पनि होइन । सायद हामीले हाम्रो देशका जेण्डर अफिसरहरु महिलाहरु मात्र देखेका कारण होलान्, संघसंस्थाले जेण्डर शाखा अन्तर्गत महिलासँग मात्र काम गरेको थाह पाएका कारण अथवा उहाँहरुले पुरुष तथा बालक दुव्र्यवहारमा परेको, बलात्कार भएको र उनीहरुको अधिकार हनन भएको समाजको अर्को पाटोको विषयमा उत्तिसारो चर्चा नगरेको भएर पनि हुन सक्दछ । तर जेण्डर इक्वालिटी अर्थात् लैंगिक समानताको विषय भनेको महिलामात्र त पक्कै पनि होइन । हिंसामा परेको बालक र पुरुष थोरै नै होलान् तर समस्या र मुद्दाहरुको विषयमा मुखरित हुनु भने आवश्यक छ ।

 

१६ दिने अभियान मनाइरहदा यसरी बालक र पुरुष अधिकारको कुरा उठाउँदा तपाईलाई लाग्न सक्ला बाँकी ३६४ दिनै त पुरुष दिवस हो नी एक दिन नारी दिवस र १६ दिने हिंसामा किन पुरुष भनेर । यो सन्दर्भमा तेलकसिं भन्नुहुन्छ, “पुरुषहरु पनि लैंगिक समानताका लागि प्रयासरत छन् र समाजमा पुरुषमाथि लाग्ने लाञ्छना र नकारात्मक सोचको अन्त्यका लागि लागिपरेका छन् ” त्यसअर्थम उनीहरुको अधिकारको बारेमा पनि समाजमा चर्चा हुनु आवश्यक छ । गत हप्ता पुरुष दिवसका प्रमुख अतिथि पूर्व प्रधानान्याधिस कल्याण श्रेष्ठले भन्नुभयो, “एकदिन नारी दिवस र बाँकी ३६४ दिन पुरुषको दिन भन्नु संविधान र मानव अधिकार विरोधी धारणा हो । पुरुष, महिला, सबै यौनिक अल्पसंख्यकका लागि ३६५ दिन नै दिवस हुनुपर्दछ अर्थात् उनीहरुको मानव अधिकार कुनै पनि बहानामा हनन हुनु हुँदैन ।”

 

सन्दर्भ एकैछिन बालक माथि हुने दुव्र्यवहार तर्फ मोडौं । नेपालमा बालक माथि हुने हिंसा र दुव्र्यवहार विरुद्ध कार्य गर्ने संस्था न्यून रुपमा रहेका छन् । साथसाथका कविता शाह बताउनु हुन्छ, “हामी खासगरी सडक बालकहरुसँग काम गरिरहेका छौं । यो क्रममा हामीले के थाह पायौं भने बालक र किशोरहरु आफु दुव्र्यवहारमा परेको कुरा नभन्ने एउटा कारण भनेको यदि कसैलाई भनिहाले भने उनीहरुलाई पुरुष समलिंगी भनेर परिवार, साथीभाइ र समाजले हेर्ने गर्दो रहेछ । मात्र पुरुष समलिंगीलाई बलात्कार र दुव्र्यवहार कहाँ हुन्छ र ?” तर समाजमा यस बारेमा अझै धेरै स्पष्टताको खाँचो रहेको छ ।बालक माथि हुने दुव्र्यवहार र बलात्कारको कानूनी उपचार र न्यायका लागि लागिरहनु भएका अधिवक्ता सन्तोष महर्जनले केहि वर्ष अघि सम्म उपत्यकामा नै पनि प्रहरि, वकिलहरु यस्तो मुद्दा लिएर जाँदा अचम्ममा पर्ने गरेको र हैन होला जस्तो व्यवहार देखाउने गरेको अनुभव सुनाउनु हुन्छ । कतिपटक र बालक कै अघि पनि प्रहरिहरु हाँसेका तितो अनुभव अधिवक्ता महर्जनसँग छ । तर अहिले प्रहरि र न्यायलयमा स्थिति फेरिएको छ । खासगरी पेडोफिलहरुको केसमा नेपाली बालकहरुको उद्दार र न्यायको उदाहरण सबैका लागि साक्षी बन्न पुगेको छ । यद्यपी उपत्यका बाहिरका प्रहरि प्रशासन, न्यायप्रक्रिया बालकको हकमा यहाँको जस्तै सहज र सहयोगी हुने कुरामा उनी आशंका नै व्यक्त गर्दछन् ।

 

बालकका सन्दर्भमा केही तथ्यहरु 

 

सडकमा आश्रित बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको साझा सञ्जाल नाओस्क (NAOSC)को सन् २०१२ को विवरणअनुसार २९५८ बालबालिका सडकमा आश्रित देखिन्छ जसमध्ये ९२.६३ प्रतिशत बालक र ७.३७ प्रतिशत बालिका रहेको पाइन्छ ।

 

 


नेपालको राष्ट्रिय जनसंख्या, २०६८ का अनुसार १ लाख ४ हजार ७ सय १४ जना मध्ये ५६ हजार २ सय ६७बालक कामकाजमा संलग्न रहेको पाइएको छ ।

 

एक प्रतिवेदनका अनुसार बालक र बालिकाको उस्तै अनुपातमा बाल प्रेम विवाह भएको पाइएको छ ।

२०७२ सालकोभूकम्पपश्चात सिमानाकाहरुबाट उद्दार गरिएका बालबालिका मध्ये ७७ बालक रहेका थिए ।

 

नेपाल प्रहरीको अभिलेख अनुसार आ.व. २०७१/७२ मा बालबालिका प्रतिवादी भएका घटनाहरुमध्ये लागूऔषधसम्बन्धी मुद्दामा १३ जना बालबालिका मध्ये १२ जना बालक परेका थिए ।

 

२०७२ बैशाखदेखि चैत महिनासम्म ३ सय ८ जना बालबालिकाको ओसारपसार गरिएको, २ सय ७० जना अर्थात ८८ प्रतिशतलाई भूकम्पलगत्तैका चार महिनाको अवधिमा ओसारपसार गरिएको देखिन्छ, ओसारपसारको शिकार हुने बालबालिका ४ वर्षदेखि १८ वर्ष उमेर समूहका रहेका छन् भने बालिकाको तुलनामा बालक १२ प्रतिशत बढी रहेका छन् ।

 

तराई मधेस आन्दोलनका क्रममा ६ जना बालक र एक बालिका गरी कूल सात जना बालबालिकालेज्यान गुमाउनु पर्‍यो ।

 

ड्ड एक्प्याट लग्जमवर्गले २०१७ मा काठमाडौं उपत्यकामा ४५२ जना बालबालिका बीच गरेको एक सर्भेक्षणअनुसार, २० प्रतिशत बालबालिकाले कम्तिमा एकपटक अश्लील सामग्री हेर्ने बताएका छन् । इन्टरनेट चलाउने कूल बालबालिकाको संख्यामध्ये १३.७ प्रतिशत बालबालिका अनलाइन दुव्र्यवहारको शिकार हुने गरेको पाइएको छ । यसरी दुव्र्यवहारमा पर्नेमा ४७ प्रतिशत बालक रहेको देखिन्छ ।

 

अब के ?

 

सबैभन्दा पहिले त बालक र किशोरहरु पनि दुव्र्यवहारमा परिरहेको समाजको विद्यमान तितो यथार्थलाई हामी सबैले सहर्ष स्वीकार गर्नैपर्छ सँगसँगै बालक र किशोरपनि दुव्र्यवहारमा पर्न सक्छन् भन्ने विषयमा पनि चनाखो हुनु पर्ने देखिन्छ । यसका लागि सञ्चार क्षेत्रको पनि ठूलो भूमिका रहन्छ । हाम्रा मिडियाहरुमा पनि यस सम्बन्धी लेख, समाचार, खोजमुलक समाचारहरु आउन आवश्यक छ ।

 

अर्को भनेको हामीले विदेशीले नेपाली बालकहरुलाई दुव्र्यवहार गरेका मुद्धाहरु हेरिरहँदा, मुद्धामा न्याय सुनिश्चित गरिरहँदा बिर्सनै नहुने कुरा के पनि हो भने बालकहरु आफैले चिनेजानेको, नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट पनि पिडित छन् वा हुन सक्दछन् । विदेशी पेडोफाइलको मुद्दा हेरिरहँदा नेपालीले नेपाली बालक र किशोरमाथि गरिरहेको दुव्र्यवहार भने अझै गौण विषय रहेको छ । यो अर्को महत्वपूर्ण मुद्दा हो जसकारण बालकहरु अन्याय विरुद्ध आवाज उठाउन, आफुलाई भएको व्यवहार दुव्र्यवहार हो या हैन भनी छुट्याउन र यसको विरोध गर्न सकिरहेका छैनन् ।

 

नेपाली समाजमा महिलामाथि हुने विभेद र पुरुषले पाएको जन्मजातको सुविधा नयाँ विषय होइन तर बालक र किशोरमाथि हुने दुव्र्यवहार भने बिल्कुनै नयाँ तर गम्भीर विषय हो । बाल यौन दुव्र्यवहारमा परेका बालकहरुसँग कामगर्दै आइरहेको संस्था साथसाथका किर्ती भट्टराई“धेरै मुद्दाहरुमा बालक र किशोरहरु आफुलाई यौन दुव्र्यवहार भएको नै नठान्ने, मानिहाले पनि न्यायीक प्रक्रियामा पुरुष भएकै कारणले जान हिच्किचाउने जस्ता समस्या देखेको बताउँनु हुन्छ ।” हामीले पुरुषत्व (मास्कुलिनिटी) को नाममा यस्तो विषालु पुरुषत्व (टक्सिक मास्कुलिनिटी) लाई बढावा दिइरहेका छौ कि या त यिनीहरु महिला तथा बालिकामाथि शोषण र दुव्र्यवहार गर्न उदृत छन् या आफुमाथि भएको दुव्र्यवहार मान्न र विरोध गर्न सकिरहेका छैनन् । यो जन्जाल चिर्नका लागि पनि हामीले बालक र पुरुषहरुसँग कामगर्न जरुरी छ ।एउटा उहादरण यहाँ प्रस्तुत गरौं अहिले भइरहेको आत्मरक्षा तालिमको विषयमा । अहिले धेरै स्थानमा किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइरहेका छौं तर किन किशोरलाई भुलिरहेका छौं त ? किनकी जोखिममा त उनीहरु पनि उत्तिकै छन् । अर्कोपाटो हामीले दुव्र्यवहारमा पर्ने जोखिममा रहेका किशोरीहरुलाई त आत्मरक्षा सीप दियौं तर दुव्र्यवहार गर्ने पुरुषहरुसँग काम नै नगरी समस्या समाधान होला त ? कोहि पनि पुरुष जन्मजात शोषक वा बलात्कारी भएर जन्मदैन न बलात्कार र शोषणमा पर्नका लागि जन्मन्छ । यो समाज र समाजमा उसले देख्ने मूल्यमान्यताले उसलाई यस्तो बाटोमा डोहोर्‍याउँदछ । पुरुषप्रतिको हाम्रो दृष्टिकोण बदलिनका लागि हामीले आज अघिल्ला र पछिल्ला पुरुष पुस्तासँग हातेमालो गर्नैपर्छ र लैंगिकताको बहस यो समूहसँग अझ घनिभूत गर्नै पर्छ अन्यथा हामीले देखेको लैंगिक समानतापूर्ण समाज असम्भव छ ।

 

लेखक : अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ का संयोजक तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मुल समारोह समितिका सदस्य हुनुहुन्छ

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top