कांग्रेस महासमितिले ‘हिन्दु राष्ट्र’ पारित गर्ने

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ८ गते शनिवार काठमाडौं

 

केही समयपछि बस्ने नेपाली कांग्रेसको महासमिति सदस्यहरूको भेलाले धर्मनिरपेक्षताविरुद्ध हिन्दु राष्ट्र पारित गरि चुनावी राजनीति थाल्ने भएको छ । यसले ०६४ सालको संविधानसभामा धर्मनिरपेक्षताको पक्षमा उभिएको कांग्रेस १२ बर्षपछि व्याक हुने निश्चित गरेको छ ।

 

 

स्व. नेता खुमबहादुर खड्काले वकालत गरिरहेको हिन्दु राष्ट्र कायम गर्ने यस मुद्दालाई कांग्रेसका प्रभावशाली नेता विश्वेश्वर प्रसाद कोइरालाका पुत्र तथा महामन्त्री डा. शशांक कोइरालाले महासमितिमा लैजानेछन् । उनले यसअघि पनि हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आएका थिए । कांग्रेस संस्थापन पनि यस मुद्दामा सकारात्मक छ भने बहुसंख्यक महासमिति सदस्यले हिन्दु राष्ट्रका पक्षमा यसअघि नै अभिमत पारित गर्ने तयारी गरेका थिए ।

 

केन्द्रीय समितिको बैठक चलिरहेका बेला खड्काको निधन भएपछि कांग्रेस महासमिति सरेको थियो भने मुद्दाका विषयमा मिहिन छलफल हुन सकेको थिएन ।

 

कांग्रेस महासमितिले यस्तो निर्णय गरे ०६४ मा बहुमतले धर्मनिरपेक्षता पारित गराउन सफल तत्कालिन माओवादी तथा अहिलेको नेपाल कम्युनिस्ट पार्टीलाई झड्का लाग्नेछ । सानो दल राप्रपासहितका केही शक्तिले मात्र हिन्दु राज्यको बारेमा कुरा गर्दा संसदमा धर्मनिरपेक्षताका पक्षधरहरू बलिया देखिन्थे । अब, मुख्य प्रतिपक्षी दल नै हिन्दुवादी कित्तामा उभिए पनि कम्युनिस्टको मुख्य मुद्दा सकसमा पर्नेछ ।

 

सभापति देउवा निकटका नेता तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले महासमितिमा उक्त विषयले प्रवेश पाउने बताए । उनी पनि त्यस विषयमा सकारात्मक रहेका छन् । कांग्रेसमा केहीबाहेक बहुमत केन्द्रीय सदस्यहरू हिन्दु राष्ट्रका पक्षमा नै उभिएका छन् ।

 

कांग्रेसले यस विषयलाई पारित गरे सरकारसँग जनमत संग्रहको माग पनि गर्नेछ । पार्टीको लाइनअनुसार धर्मनिरपेक्षता स्वीकार गरे पनि बहुसंख्यक कम्युनिस्ट हिन्दुले पनि जनमत संग्रहमा धर्मनिरपेक्षताविरुद्ध मतदान गर्ने रूझान सामान्य अनुमान बनिसकेको छ ।

 

डा. कोइराला भन्छन्,‘हाम्रो धर्म–संस्कृतिमाथि बाहिरबाट व्यापक दबाब बढ्यो, धर्मान्तरण गर्ने अभियान नै चल्यो भनेर सर्वत्र कुरा उठिरहेको छ । पार्टीमा कतिपयले उठाइरहेको यो विषय महासमितिमा समेत उठ्न सक्छ ।’

 

कोइराला परिवारका अर्का सदस्य कांग्रेस नेता शेखर कोइरालाले समेत धर्मका नाममा विदेशी चलखेल बढेको भन्दै आफूलाई हिन्दू राष्ट्रकै पक्षमा प्रस्तुत गरेको पाइन्छ ।

 

धर्म निरपेक्षताको पक्षमा तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला उभिएका कारण कांग्रेसले त्यसैमा मतदान गरेपछि मुलुक हिन्दु राष्ट्रको परिचयबाट विमुख भएको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top