गाईको पनि जन्म-मृत्यु दर्ता

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २३ गते शुक्रवार रुपन्देही

 

मान्छेको जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता गरेको सबैले सुनेको, देखेकै हो । तर रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । त्यतिमात्र होइन, गाईको जन्म, बसाइ सराइ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्तासमेत पाउँछन् ।

 

तिलोत्तमा नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो ।

 

 

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चसमेत उपलब्ध गराउने नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने सोच नगरपालिकाले बनाएको उनले बताए ।

 

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगरसभाको बैठकबाटै यस्तो नीति लिइएको हो ।

 

अब नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ । तिलोत्तमामा व्यवसायीक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ ।

 

गाईको दर्ता गरेपछि छाडा छाड्न नदिन सम्भावित नाकाहरुमा नगर प्रहरी परिचालन गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको पशु बीमा कार्यक्रम अन्तर्गत बीमा गर्ने किसानलाई बीमाको ५० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

 

छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ पनि जारी गरेको छ । कार्यविधिमा घरपालुवा चौपाया बेबारिसे छाड्नेलाई पहिलो पटक बढीमा तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । गाई, गोरु–बाच्छाबाच्छी बेवारिसे छाडिएमा तीन हजार, राँगा, भैंसी–पाडा, पाडीको सात सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको पाँच सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिकामा मूलतः छाडा गाई–गोरु र बाच्छा–बाच्छीको समस्या धेरै छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top