तिहारमा विद्युतीय बत्ती र रेडिमेड मालाको प्रयोग बढ्दो

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार सिन्धुली

 

धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावली अर्थात् भाइटीका’ भ्रातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भडकिलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ ।

 

तिहारको मौलिकता विस्तारै हराउने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको छ । संस्कृति पैसामा बेचिन थालेको भन्दै अग्रज पुस्तामा चिन्ता बढ्न थालेको छ । पछिल्लो समयमा गीत, बाजा, संस्कृतिको समेत आयात हुने संस्कार बढेको छ । हिजो सयपत्री, मखमली, धुपी, दूबोलगायतका स्थानीयस्तरमा बनाइएका माला लगाउने परम्परा पनि हराउँदै गएको छ ।

 

 

गाउँदेखि बजारसम्म हरेक घरहरूमा बजारीया(बिजुली) बत्तीहरूले झिलीमिली भएको छ भने भाइटीकाको दिन प्रयोग गरिने मालामा पनि आधुनिकता छाएको छ ।

 

तिहार पर्वका लागि चाहिने समानहरू किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरूले सजिएका पसलहरूले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समययता तिहार पर्व पनि आधुनिक बन्न थालेको छ ।

 

तिहार पर्वमा दियो, पाला मात्र होइन अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम फूलहरूबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्न थालेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरू नपाउनु सँगै फूलहरूको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरू प्रयोग बढेको व्यवसायीहरूको तर्क छ ।

 

यस वर्ष पनि तिहार पर्व केही ढिलो पर्नुले गाउँघरमा केही फुलेका फूलहरू सुक्न थालेपछि कृत्रिम माला किन्नेहरूको चाप बढेको व्यवसायीहरुले बताएका छन् ।
तिहारमा माला मात्रै होइन यमपञ्चकमा बालीने बत्तीहरूलाइ पनि पूरै प्रविधिले विस्थापन गरेको छ । गाँउघरमा बिभिन्न पात तथा दियालोहरूमा बालीने बत्तीहरूको ठाँउमा बजारमा पाइने विद्युतीय बत्तीहरू बाल्न थालिएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top