पुष्प व्यवसायबाट मनग्य आम्दानी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २१ गते बुधवार सिन्धुली

 

सिन्धुलीको कमलामाई नगरपालिका– ५ का पुष्प व्यवसायी प्रदिप शाहीको नर्सरीमा यतिवेला ढकमक्क सयपत्रि फुल फुलेका छन् । उनको नर्सरीमा जाने जो–कोहीले पनि त्यहाँको वातावरण देखेर तिहार आएको महशुस गर्छन् ।

 

६ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका शाही यतिवेला भने सयपत्रिका माला गाँस्नमा व्यस्त छन् । तिहार सुरु भएसँगै उनिसँगै उनका कामदार र परिवारलाई फूल टिप्न र माला गाँस्न भ्याई नभ्याई भएको छ । तिहार सुरु भइसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जान्छ । उनले भने, “फूल टिप्न, माला गाँस्न चटारो छ ।”

 

 

जिल्लाकै एकमात्र पुप्प व्यवसायीकारुपमा परिचित शाहीले सयपत्री फूल तथा माला विक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । त्यतिमात्र होइन उनले आफ्नो नर्सरीमा सिजन अनुसारका विभिन्न जातका फूलका विरुवा पनि विक्री गर्दै आएका छन् ।

 

यस वर्षको तिहारका लागि मात्र ४ हजार फुलका विरुवा रोपेका शाहीले गतको वर्षको तुलनामा यसवर्ष आम्दानीमा वृद्धि हुने अनुमान गरेका छन् । गत वर्षको तिहारमा समयमै फुल नफुल्दा सोचे जति आम्दानी लिन नसेको भन्दै उनले यस वर्ष आम्दानी बढ्ने अपेक्षा गरेको बताए ।

 

शाहीको नर्सरीमा फूल र माला किन्नका लागि स्थानीयहरुसँगै व्यापारीहरू पनि उनको नर्सरीमै पुग्छन् । एउटा मालाको ७५ रुपैयाँदेखि १५० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । उनले भने, “फुलको थुंगा र मालाको आकार अनुसार मुल्य निर्धारण गरिएको छ ।”

 

पुष्प व्यवसायमा राम्रो सम्भावना देखेपछि उनले आफ्नो व्यवसायलाई यसवर्षदेखि बढाएका छन् । कमलामाई नगरपालिका ५ मा रहेको कालिका नर्सरीका उत्पादन अब कनपा ६ लक्ष्मणचोकबाटसमेत प्राप्त गर्न सकिने शाहीले बताए । उनले नर्सरी सञ्चालन गरेसँगै अन्य ३ जना युवाले पनि रोजगार पाएका छन् ।

 

नर्सरीमा काम गर्दा आफुलाई सन्तुष्टि मिलेको शाही बताउछन् । सार्वजनिक कार्यक्रमहरुमा पनि मालाको माग बढ्दो छ, उनले भने, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुराउनै गाह्रो छ ।” उनको नर्सरीमा उत्पादन भएका फूल सिन्धुली, रामेछाप र काठमाण्डौँमासमेत विक्री हुने गरेको छ ।

 

खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले रोजगारीका लागि पुष्प व्यवसाय गतिलो माध्याम बनेको उनले बताए । व्यावसायिकरुपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सिप भए आफ्नै ठाँउमा सजिलैसँग आम्दानी गर्न सकिने उनको भनाई रहेको छ । आँफ्नै ठाँउमा पुष्प व्यवसाय गरी सफल व्यवसायीको छवि बनाएका शाही यतिवेला जिल्लाका अन्य युवाका लागि उदाहरणिय पात्र बनेका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top