पूर्वराजा ज्ञानेन्द्रका चन्द्रमा दाहिना, भारतले किन अझै ‘महाराज’ मान्छ ?

पत्रपत्रिका बाट २०७५ कात्तिक २० गते मंगलवार काठमाडौं

 

पूर्वराजा ज्ञानेन्द्र शाह व्यवस्था परिवर्तनको कुनै पनि मौकाको खोजीमा छन् । त्यसैले बेलामौका उनले राजनीतिक विषयमा पनि बोल्ने गरेका छन् । तर यतिबेला उनका चन्द्रमा दाहिना भएको जस्तो देखिएको छ । भारतको गणतन्त्र दिवसका अवसरमा आगामी २६ जनवरीमा उनलाई सम्भावित प्रमुख अतिथिका रूपमा राखिएको छ । त्यसको खुुलासा भारतीय मिडियाले गरेपछि पूर्वराजाले कुटनीतिक चलखेल पनि व्यापक बढाएको बताइन्छ ।

 

गत महिनाको अन्तिम दिन उनलाई मुम्बईका विभिन्न हिन्दूवादी संस्थाले ‘नेपालका महाराज’ भनी सम्बोधन गरी ठूलो स्वागत सम्मान गरेको थियो । यसले भारतमा उनी नेपालमा जस्तै पूर्वराजा भनेर सम्बोधनमा छैनन् । उनको सचिवालय आफैंले पनि ‘पूर्व’मानेको राजालाई भारतले किन महाराज भनिरहेको छ ?

 

भारतले उनलाई महाराज मान्नुका कतिपय दलिल नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रमको सम्बोधन, भारतका विभिन्न राज्यमा गरिएका स्वागत सत्कार तथा सम्मान र भारतीय संस्थापन पक्षले दिएको महत्वले पनि देखाउँछ ।

 

केही महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको एउटा विज्ञप्तिमा राजदूत मन्जिव सिंह पुरीले पूर्वराजालाई ‘महाराज’ भनी सम्बोधन गरेका थिए । त्यसमा नेपाली राजनीतिक दलहरूले टिप्पणी गरे पनि भारत सरकारको आधिकारीक प्रतिनिधि संस्थाले आफ्नो मान्यतालाई सच्याएन ।

 

 

त्यतिमात्र होइन, गत बर्षको अन्त्यतिर भारतको उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदीत्यनाथले पनि ज्ञानेन्द्रलाई महाराजको हैसियतमा नै सत्कार गरेका थिए । उनले ट्वीट मार्फत तस्बिर सार्वजनिक गर्दै नेपालका महाराजको सम्मान गरेको जनाएका थिए । उनको सचिवालयले पनि ज्ञानेन्द्रलाई महाराजको संज्ञा दिएको थियो ।

 

२ सय ३७ बर्षको विरासत गुमाएपछि धोका पाएको बताउने पूर्वराजाले त्यसलाई निरन्तरता दिनका लागि भारतकै भरोसा गरेका छन् । औपचारिक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट भएको सतहमा नआए पनि अनौपचारिक रूपमा तीन पटक भेट भइसकेको भारतीय उच्च अधिकारीहरूले नै खुलासा गरिसकेका छन् ।

 

भारतीय जनता पार्टीको सत्ताले तय गरेको कुटनीतिक रणनीतिअनुुसारै नेपालमा उदाउन सकिने सोच बनाएका पूर्वराजाले हिन्दुत्व खतरामा परेको बारम्बार बताउँदै आएका छन् । यस्तो सन्देश भारतीय प्रधानमन्त्री मोदीका खास सल्लाहकार सिद्धार्थ अम्बानीमार्फत पूर्वराजाले ‘पिएमओ इन्डिया’मा पुराएको पनि दाबी गरिन्छ ।

 

 

क्रिश्चियनको गतिविधि बढेपछि भाजपाका विभिन्न नेताहरुले नेपालमा हिन्दू राज्य र राजतन्त्र हुनुपर्छ भनिरहेका छन् । भारतीय जनता पार्टीका कतिपय नेता र उपाध्यक्षसम्मले काठमाडौंमा आएरै नेपालमा राजतन्त्रको खाँचो रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र अझ भारततिर झुकाव राख्न थाले ।

 

भारतबाट नै पूर्वराजालाई प्रमुख अतिथि बनाउने विषयमा भएको सूचना प्रवाहबारे भने निर्मलनिवास सचिवलायले कुनै पनि प्रतिक्रिया दिइसकेको छैन । उक्त सन्देशलाई सकारात्मक लिएको सचिवालयका एक जना सञ्चारसहयोगी डा. फणि पाठकले भने तिहारपछि यस विषयमा बुझ्ने दैनिक नेपाललाई बताए । ‘मैले पनि सुनेको छु । पढेको छु । तर यस विषयमा तिहारपछि मात्र केही बुझ्ने कोशीश हुनेछ’, उनले भने,‘अफिसियल निम्तो आएको छ की छैन त्यसबारे पनि बुझ्न बाँकी छ ।’दैनिकनेपाल बाट ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top