सहिद र मरणको बिषय

विनोद दाहाल २०७५ कात्तिक १८ गते आइतवार काठमाडौं

 

एउटा लट्रठुले रवी लामिछानेलाई भगवान झैं ठान्दो रैछ । म तपाईसँग बहस गर्छु भन्यो उसले । ऋषि धमलाबाट सिकेछ उसले कि जे कुरालाई पनि बहस भनिहाल्ने ।

 

मैले जवाफमा भनें, रवी पत्रकारका नाममा प्रचारमा आएको एउटा उद्धारकर्मी हो । उसको यो कार्यले ऊ भगवान जस्तो मान्नुपर्ने दर्जाको हुन सक्दैन । उसका राम्रा र नराम्रा गुणहरु छन् । त्यसै आधारमा उसको मुल्याङ्कन गर्नुपर्छ । मेरो कुरा उसलाई पचेन ।

 

मैले एउटा घटना सुनाएँ, ऊ उद्धार र राहतको लागि खटिरहेको बेला एउटा जनयुद्धको योद्धा छातीमा ताकिताकी कसैलाई विधवा बनाउँदै थियो रे । र, टाउकोमा गोली ताकिताकी कसैलाई टुहुरो बनाँदै थियो रे । बुझाईमा रहेको यस्तो दरिद्र मान्छे कसरि भगवान जस्तो हुन्छ हँ ? देशलाई अर्धऔपनिवेशिक अवस्थाबाट स्वाधिन बनाउनु पर्छ, देशमा श्रमजिवी जनताको हीत तथा रक्षा गर्ने जनवादी शासन व्यवस्था हुनुपर्छ र जनताले भोगिरहेका सबै समस्याको समाधान हुनु पर्छ भन्दा र राज्यले दमन गर्दा प्रतिरोध गर्ने मान्छे कहिं उसले भनेको जस्तै हो त ? के उसले बोलेको बोलीमा सत्यता छ ? के उसको बोली र बुझाई सहि छ ? राज्यसँग प्रतिरोध गर्दा जनता मारेको बुझ्ने त्यो कस्तो बुझाई हो उसको ?

 

 

 

 

उसले जवाफ दियो, जनयुद्धमा रगत लिने या बगाउने हिंड्ने र राज्यपक्ष दुबै सहिद होइनन्, बिचमा रगत बगाउने सर्बसाधारण मात्र सहिद हुन् । बिचरो उसको बुझाई ! आफूले बुझेको जति पनि बुझाई नभएको रवीलाई भगवान भन्ठान्छ । उसले कम्तिमा ऊ राज्य पक्षबाट पनि हत्या भएको त बुझ्छ !

 

सायद भगवान त्यही हो जो उसैलाई मान्ने मानिस जत्तिको पनि बुझेको हुँदैन । अझ भनौं केही पनि बुझेको हुँदैन त्यस्तैलाई मानिस भगवान भन्दा होलान् । केही नभएको तर अलौकिक शक्ति जोडेर शक्तिमा ल्याइएको केबल कथामा मात्र बनाउन सकिने मानिस नै ईश्वर हो । त्यसै अलौकिक शक्ति जोडिएको पात्रको नाम कोहीले ईश्वर राखेका होलान् । त्यस्तो त कि राजा वा शासकलाई बनाउनु कि त त्यो शक्तिबिरुद्ध खडागरिएको काल्पनिक मानिसलाई ! प्राय त्यस्ता मानिसहरु भ्रम र झुठबाट निर्माण गरिएका हुन्छन् ।

 

अरु प्राणि झैं मानिस पनि मर्छन् । मरेको मानिसलाई नेपाली भाषामा स्वर्गीय भाषामा सम्बोधन गरिन्छ । यसलाई अर्को अर्थमा स्वर्ग गएको भनिएको हो । यसमा स्वर्ग र नरक छ भन्ने भाव हुन्छ । स्वर्ग अर्थात ईश्वर रहेको आनन्दको स्थान र नरक अर्थात ईश्वर बिरोधीहरु रहेको दुःख र पीडा सहेर बाँच्नु पर्ने स्थान हो भन्न खोजिन्छ । यो भन्ने र गर्नेहरु मानिसलाई झुक्याउने र भ्रम दिनेहरु नियतका मानिस हुन् । यस्ता नियतका मान्छेले मानिसलाई कस्तो अप्ठ्यारोमा पर्छन् भने न हैन भन्न सक्छन् न पत्याउने अवस्थामा रहन नै दिन्छन् । नमानूँ भने शासक, शोषक र शक्तिशाली वर्गको आक्रमण हुन्छ भने मानुँ पत्याउने कुनै आधार नै हुँदैन । मानिसको सामान्य प्रबृत्ति नै के हो भने देखाउनको लागि मानिदिने र नपत्याइदिने हुन्छ ।

 

भनिन्छ, बुद्ध मानिसको दुःख र पीडाको अवस्था देखेर अत्यन्तै छटपटाए । के देखेछन्, के भोगेछन्, के बुझेछन् उनले भन्ने अनेकौं कहानीहरु छन् । त्यो समकालिन समाजको उच्च चेतना हो । सामान्य अर्थात मानिसले नसोच्ने बिषयमा उनी चिन्तित हुनु असामान्य अवस्था हो । त्यतिबेला दास समाज थियो । मानिसहरु शासक पक्ष र दास पक्षमा बिभाजित थिए । शासकले दास मार्न पाउनु आम नीति नै थियो । दासहरुसँग आफ्नो भन्ने केही हुँदैनथ्यो, किनिने बेचिने बस्तु थिए दासहरु । मालिकहरुले र शोषक वर्गले उनीहरुको हीतको लागि दासहरु प्रयोगमा आउन वाध्य थिए । दासहरुको चिन्तन् गर्ने र सोच्ने बिषय हुँदैनथ्यो, त्यो शासक अर्थात शोषक वर्गद्वारा खोसिएको थियो । शासकहरु लडाईं लड्थे, प्रभाव बिस्तार गर्दथे र शक्तिशाली हुन खोज्थे । यो कार्यमा दासहरुलाई प्रयोग गर्दथे । यो सबै बुद्धको समयको शिक्षा हो । के बुद्ध मानिसको यो अवस्था देखेर चिन्तित भएका हुन् ? हो, दासलाई मानिसको दर्जामा राखेर बुझ्दा उनी चिन्तित र दुःखी हुन पुगे ।

 

बुद्धको पालामा आर्यले अनार्यलाई सखापै पारेको भयानक लडाईं ताजा थियो, लडाईं र मानिसको अवस्थाले उनलाई पिरलेको देखिन्छ । आर्यहरुको बीचमा पनि शक्ति र सम्पत्तिको उन्मादले निम्त्याएको महाभारतको लडाईंमा मानिसको अनाहकमा ज्यान गएको पीडामा उनी छटपटि गरेको देखिन्छ । त्यतिबेला मारिएका मानिसहरु सहिद भएनन् । बुद्धको ज्ञानको बस्तुसंगत जवाफ के हुन सक्छ ? वर्गीय समाजमा सहिद वा वीरगति बिनाको जीवन अत्यन्तै पीडादायी हुन्छ । बुद्धमा पनि त्यही भएको हो । उनले समस्याको समाधानको लागि दिएका आदर्श भनाईलाई मानिसले स्वीकार्न थालेको पनि अहिले २६ सयवर्ष भैसकेको छ । आदर्शले कहिंकतै समाधान दिएको देखिंदैन ।

 

बरु मानिस किन मारिन्छन् ? यो सोचनीय बिषय हो । मानिसलाई मानिसले नै किन दुःख र पीडा दिन्छन् ? यो के र कसरि भएको हो ? सायद यो चाहिं बुद्धको पनि ध्यानाकर्षणको बिषय भएको थियो । उनको मनमा यसले बढी प्रभाव पारेको हुनुपर्छ । सम्पत्ति तथा शक्तिको अशक्तिले काटमार तथा पीडा दिने बिषय असैह्य हुन्छ । त्यसरि मारिएका मानिस कोही पनि सहिद हुँदैनन् र भएनन् पनि । मानिस शासकद्वारा नै मारिए पनि सहिद हुँदैनन् । त्यसरि शासक मारियोस वा दास कोही सहिद हुँदैनन् । मानिसको लागि राम्रो र सुरक्षित स्थान, राम्रो हीतकर व्यवस्था ती सकैले खोजेका हैनन् र मानिसले भोगेका समस्याहरु समाधानमा ती लागेका पनि हैनन् ।

 

रोमका सम्राटबाट दास बिद्रोही तथा नेता स्पार्टकस् क्रुसमा टाँगेर मारिए । दासहरुको कम्युन जस्तो व्यवस्था उनले खोजेका थिए । क्राइस्ट जन्मिनु भन्दा करिब ४ सय वर्ष अगाडि नै उनी मारिए । उनी लाखौं दासहरुका नेता तथा गुरु बनेका थिए तर शासक वा मालिक बनेका थिएनन् । दासहरुको हीतको सुरक्षित स्थान बनाउन र राम्रो व्यवस्था मिलाउन विश्वकै सबैभन्दा शक्तिशाली सम्राटसँग लडने लडाईंमा नेतृत्व गर्ने उनले शाहस गरे । सायद मानव इतिहासका उनी पहिलो सहिद हुन् । उनले दासहरुको लागि एउटा मुक्त क्षेत्र खोजे, मानिसहरुबीचको एउटा भातृत्वपूर्ण एउटा सुव्यवस्था खोजे र मानिसहरुले भोगिरहेका समस्याहरुको बस्तुगत अर्थात वैज्ञानिक ढङ्गले समाधान खोजे । यस्तो व्यवस्थामा कोही पनि मालिक, अलौकिक शक्तिको शासक, शोषक वर्ग हुनु नहुने ठाने । समकालिन त्यस्ता कुरा हटाउने प्रयत्न गरे । हारको परिणाम उनी क्रूरतापूर्वक मारिए, उनकी प्रेमिका हरण गरेर सम्राटले राख्यो ।

 

मर्न त मानिस जन्मिएपछि मरिहाल्छ तर सबै सहिद हुने चेतनाका हुँदैनन् । मार्न त कैयौं मानिस मारिएका पनि छन्, ती सबै मारिए भन्दैमा सहिद भएका पनि हुँदैनन् । कैयौं मानिसहरु शासक वा मालिकद्वारा मारिएका पनि हुन्छन्, ती पनि सबै सहिद भएका हुँदैनन् । शासक वर्गले धर्म र शक्तिको आढमा नियम, कानुन, संविधान बनाएका हुन्छन्, आफ्नो हीतको त्यो कार्यको उल्लङ्घन गर्नेलाई पनि फाँसि दिएका हुन्छन्, ती पनि सबै सहिदको दर्जामा परेका हुँदैनन् । दैवी शक्तिको तुजुक देखाएको भनेर लखन थापालाई पनि सहिद भन्न कति मानिस हिचकिचाइ रहेका छन् । योगमायाँले आदर्श मागहरु राखेर सत्याग्रह गरेको कुरालाई लिएर सहिद भन्ने कि नभन्ने भन्ने बिषय पनि बिवादमा छ ।

 

त्यसैले सहिदको परिभाषा सहजै भन्न सकिने बिषय हैन । यो त उच्च चेतनाद्वारा निर्देशित मानिसको व्यवहारबाट प्राप्त हुने महान् कुरा हो । मानिसको सहिद हुने र मरण हुने बिषय सामान्य हैन, हुँदैन पनि । सामाजिक बनोट अनुसार त्यही कार्य गर्दा पनि कसैको मरण सहिदको हुन्छ भने कसैको फगत मरणको हुन्छ । राणा शासकले गंगालाललाई मृत्युदण्ड दिँदा टंकप्रसादलाई ब्राम्हण भएको कारण जोगाए, पछि उनी मरे, सहिद भएनन् । त्यसैले सहिद हुने बिषय वर्गको बिषय पनि हो । राजनीतिक आन्दोलनहरुमा धेरै मानिसले आफूलाईइ सहिदको दर्जामा राख्न योग्य बनाएका छन् । जनयुद्ध पनि त्यो मध्येको सबैभन्दा महान् लक्ष्यका साथ सञ्चालित युद्ध भएको थियो । देशलाई स्वाधिन बनाउने, जनवादी राज्यव्यवस्थामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने र जनताले भोगेका तमाम समस्याहरुको समाधानको लागि व्यवस्था मिलाउने योजनासहितको आन्दोलन थियो । मानिसहरु त्यो उचाइको चेतनाबाट जनयुद्धमा आबद्ध भएका थिए र प्रयत्न गर्दागर्दै मारिएका थिए । यस्ता महान् मानिसलाई सहिद नदेख्ने लठुवाले सहिदको परिभाषा दिंदा मनमा धक्का लाग्नु स्वभाविक भयो र सम्झाउने यति प्रयत्न गरियो । बिचरा उनको भनाई पनि अहिले कसैलाई स्वभाविक लाग्न सक्छ किनकि आस्था बोकेर, महान् लक्ष्य तथा उदेश्य लिएर र मानिसले आफूलाई वलिदान गर्ने श्रृङ्खला टुटेर प्रतिक्रियावादी वर्ग रमाइरहेको अवस्थामा आशाहरु मरेका छन् । बरु निराशाले देशमा दैनिक १५ जनाले आत्महत्या गर्ने, १२ जना रक्सी धोकेर मर्ने स्थिति बनेको छ । अहिले कम्युनिस्ट आन्दोलन भित्रका अवशरवादीहरुको गद्दारिले गर्दा सहिदको अपमान हुँदा पनि बजार पाउने अवस्था सृजना भएको छ । सहिद हुने दुर्लभ र निराशाले मर्नेहरुको मौसम राम्रो भएको हुनाले पनि उनको त्यो कुराले पनि बजार लिन सक्ला तर सहिद ती कुहिएका बिचार भन्दा टाढाका महान् मानव हुन्, जस्ले देखाएको बाटोमा मुलुक हिंड्न वाध्य हुनेछ ।

 

फेसबुकबाट: अभियान मञ्च मासिक पत्रिका

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top