मन्त्रीको रवैया आपत्तिजनक

सम्पादकीय २०७५ कात्तिक १६ गते शुक्रवार सिन्धुली

 

प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले प्रदेश ३ मन्त्रिपरिषद्को बैठकमा अभद्र व्यवहार गरेपछि विवादमा मुछिएका छन् । मन्त्रीपरिषद्को बैठकमा मन्त्री स्थापितले गरेको व्यवहार आपत्तिजनक रहेको भन्दै सामाजिक संजालमा उनको व्यवहारको चर्को विरोध गरिएको छ । जनप्रतिनिधिहरुको एकपछि अर्को आपत्तिजनक व्यवहारहरु बाहिरिदा जनतामा असन्तुष्टि बढ्दै गएको छ । संसद भवनमा तत्कालिन माओवादि केन्द्रका नेताहरुले गरेको आक्रमण, काठमाडौँका मेयर र उपमेयरबिच देखिएको विवाद, शेरबहादुर तामाङको टिप्पणीपछि कानुनमन्त्रीबाट राजिनामा, प्रदेशमन्त्री र मुख्यमन्त्रीबिचको विवाद र यस्तै दर्जनौँ घट्नाहरुले जनप्रतिनिधिहरुको छविमा आँच पुर्‍याएको छ । सरकारी पदको उच्च पदमा रहेका जनप्रतिनिधिहरुले देखाएको अभद्र, अशिष्ट र अमर्यादित व्यवहारले समाजमा नकारात्मक संदेश गइरहेको छ ।

 

 

केशव स्थापितको रवैयाले सर्वसाधरणमा अभिभावकलाई सम्मान गर्न नसक्ने नेताले जनतालाई सम्मान गर्न सक्दैन भन्ने संदेश गएको छ । जनताले जनप्रतिनिधहरुको हरेक क्रियाकलापलाई नजिकबाट निहालिरहेका छन् । उनीहरुको अभद्र र अशिष्ट व्यवहारले जनतामा आक्रोश थपिएको छ । नेपाली नेताहरुको व्यवहारमा सुधार आउन सकेन भने विकासले पनि कुनै महत्व राख्दैन । अतः जनतालाई निराश बनाउने कुनै पनि काम जनप्रतिनिधिहरुले गर्नुहुदैँन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top