रोल्पालीको बलिदान : नेता गाडीमा, जनता खाडीमा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार काठमाडौं

 

कुनै बेला पञ्चायतविरुद्ध नडगमगाई उभिने किल्ला । माओवादी जनयुद्धको उद्गमथलो । माओवादी जनयुद्धको आधार इलाका । माओवादी जनयुद्धमा बलिदानीमा अग्रपङ्क्तिमा रहेको जिल्ला । यस्ता धेरै बिम्ब रोल्पाका लागि कुनै बेला अपुग थिए ।

 

माओवादी शान्ति प्रक्रियामा आएसँगै धेरै बिम्बहरु परिवर्तित भए । लाल किल्लाको नेतृत्व गर्ने राता मान्छेहरु वैचारिक रुपमा रङ् खुइलिएका थोत्रा खेलौनाजस्ता भए तर उनीहरुको गाला, अनुहार र शरीर भने रातो, चिल्लो र खान्दानी बन्दै गयो । कुरा क्रान्ति र विद्रोहका गर्दै रोल्पाका नेताहरु आफ्नै स्वार्थको खेतिपातीमा लागे । कतिपय अहिले फेरि क्रान्तिको नाममा रोल्पामा अर्को खेती लगाउने मनसुवा बोकेर बसेका छन् । तर रोल्पाली जनताको जीवनमा यी सबैले तात्विक परिवर्तन ल्याउन सकेनन् । आजकल कतिपयले यसो भन्ने गरेका छन् ।

 

जनयुद्धको नेतृत्व गर्ने तत्कालीन माओवादीका अधिकांश रोल्पाली नेताहरु यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपामा आबद्ध छन् । रोल्पाबाट धेरै पटक केही व्यक्तिले सरकारको उच्च ओहोदामा रहने अवसर पाएका छन् । प्रायः कृष्णबहादुर महरा, नन्दकिशोर पुन, वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र ओनसरि घर्तीले पटक पटक महत्वपूर्ण नियुक्तिहरु पाए । उपराष्ट्रपति, केही मन्त्री, सभामुखजस्ता पद त रोल्पालीहरुका लागि मात्रै भनेर सिर्जना गरिएकोजस्तो भएको टिप्पणी सुनिन्छ ।

 

 

कृष्णबहादुर महरा सबैभन्दा धेरैपटक सांसद, मन्त्री, उपप्रधानमन्त्री हुँदै हाल सभामुख भएका छन् । पेशाले शिक्षक रहेका महराले शिक्षण पेशा छोडेर पार्टी राजनीतिमा लाग्नेवित्तिकै ०४८ को चुनावमा रोल्पाबाट सांसद् बन्ने सौभाग्य पाए । भाग्यमानी महराले पार्टी सरकारमा नभएका बेलामा समेत पार्टी सत्ताबाट कहिल्यै टाढा बस्नु परेन । शान्ति–प्रक्रियापछि त महरा कहिल्यै पनि ‘हात खालि’ बस्नु परेन । माओवादी शान्ति प्रक्रियामा आएसँगै महरा आधा दर्जनको हाराहारी पटक मन्त्री र लाभको पदमा रहे । नेपालमा सबैभन्दा धेरै पटक मन्त्री हुनेमा गच्छेदारपछि महरा नै हुन् । पछिल्लो पटक उनी सभामुख रहेका छन् ।

 

विदेशी शक्ति केन्द्र खासगरी चीन र भारत दुबैसँग ‘समदूरी’ सम्बन्ध राखिरहन सक्ने खुबीकै कारण महराले यस्तो अवसर पाउँदै आएको कतिपय बताउँछन् । ‘भाग्यमानिको भुतै कमारो’ भनेझैं दक्षिणले हाने उत्तरतिरले तान्ने, उत्तरले हाने दक्षिणले तान्ने गजवको तजवीजमा महराले सधैं अवसर पाइरहेका छन् । यस्तो अवसर सम्भवतः नेपालको इतिहासमा अरु नपाएको रोल्पालीहरु बताउँछन् ।

 

उपराष्ट्रपति नन्दकिशोर पुन सापेक्षित रुपमा इमान्दार रोल्पाली मानिन्छन् । पहिला जनमुक्ति सेनाको कमाण्डर रहेका पुनलाई पनि पछिल्लोपटक लाभको पद प्रिय बन्न थालेको आरोप छ । शक्ति केन्द्रहरुसँग धेरै चलखेल नगर्ने उनको राम्रो स्वभाव रहेको कतिपय बताउँछन् । तर पुनका छोरा धेरै विवादित काममा संलग्न रहेको र छोरालाई जोगाउने काममा लाग्दा नन्दकिशोर पुनको स्वभावजन्य सबल पक्षलाई पनि कमजोर बनाएको भन्ने टिप्पणी सुनिन्छ ।

 

महरापछि वर्षमान पुन सबैभन्दा बढी लाभको पदमा रहने रोल्पाली हुन् । हिजो सामान्य हैसियतका वर्षमान पछिल्लो समय आर्थिक हैसियत धेरै नै उठेको चर्चा छ । जनमुक्ति सेनाका कमाण्डरसमेत रहेका वर्षमान पुन चलाख मानिन्छन् । प्रचण्ड र बाबुरामबीच समदूरी कायम राख्दै शान्ति कालमा उनले प्रशस्त आर्थिक तथा राजनीतिक फाइदा उठाएको चर्चा अझै सेलाएको छैन । ०६४ पछि उनी पनि झण्डै आधा दर्जन पटक मन्त्री पदमा रहे । वर्षमान पुन र ओनसरि घर्ती श्रीमान श्रीमती हुन् । पारिवारिक हिसावले तत्कालीन माओवादीमा सबैभन्दा बढी लाभको पदमा रहने भने वर्षमान र ओनसरि नै हुन् । माओवादी सरकारमा रहेका बेला उनीहरुमध्ये एक न एकजना मन्त्री वा लाभको पदमा रहे ।

 

पछिल्लो समय काठमाडौंमै बस्दै आए पनि अहिले पुनकी श्रीमती ओनसरिलाई नेकपा ५ नम्बर प्रदेशको अध्यक्ष बनाइएको छ । कैयन् बरिष्ठ नेता हुँदाहुँदै कनिष्ट ओनसरिलाई अध्यक्ष बनाइएकोमा समेत ५ नम्बर प्रदेशको नेकपामा असन्तुष्टि र विवाद चुलिएको बताइन्छ । पटक–पटक मन्त्री भएकी ओनसरि संविधानसभाको पछिल्लो कार्यकालमा सभामुख बनेकी थिइन् । वर्षमान पुन अहिले ऊर्जा मन्त्री छन् । आफू र श्रीमती मात्र होइन, वर्षमानले रोल्पा घर भएकी आफ्नी बहिनीलाई समेत ललितपुरबाट प्रदेश सभामा सदस्य बनाएका छन् ।

 

रोल्पाली जयपुरी घर्ती शहीदपत्नी हुन् । शान्ति प्रक्रियासँगै उनले पनि केही पटक लाभको पद लिइन् । इमानदार पनि देखिन खोज्ने अरु रोल्पाली नेता–नेतृ जस्तै बन्न पनि खोज्ने प्रवृत्तिले उनी यत्ता न उता भएको रोल्पालीवृत्तमा चर्चा चल्छ । इमानदार देखिन खोजे पनि रोल्पाले हिजो त्यात्रो बलिदान गर्‍यो, लाभको पदका लागि ‘फस्ट रोल्पा’ भन्ने विषयमा उनी सबैभन्दा कट्टर रहेको बताइन्छ ।

 

अर्का रोल्पाली नेता कुलप्रसाद केसी धेरै बाठो हुन खोजेकोले लाभको पद लिनबाट चिप्लिने गरेको चर्चा छ । आत्मकेन्द्रित स्वभावका केसीले आफूलाई महरा निकट बनाउन जति कोसिस गरे पनि वर्षमानको डरका कारण महराले आफूलाई उपेक्षा गरेको निकटहरुसँग भन्ने गरेका छन् । लाभको पदको स्वाद कमै चाख्ने मौका पाएका केसी अहिले ५ नम्बर प्रदेशको कानुन तथा आन्तरिक मामिला मन्त्री छन् । यीबाहेक दीपेन्द्र पुनलगायत अन्य कतिपय रोल्पाली नेताले पनि महत्वपूर्ण राजनीतिक नियुक्तिको अवसर पाएका छन् ।

 

उल्लेखित नेताहरुले हिजो सुन्दर भविष्यको सपना बाँडेर रोल्पालीलाई जनयुद्धमा होमिन प्रेरित गरे । त्योसम्म ठीकै मान्न सकिएला । शान्ति प्रक्रियापछि उनीहरुको जीवनस्तर उकासियो तर सामान्य रोल्पाली जहाँको त्यहीं छन् । कयौंले बलिदान गरे, कयौं अङ्गभङ्ग छन्, कयौंको परिवार क्षतविक्षत छ । उनीहरुको दैनन्दिनी र समस्या झनै विकराल छ । प्रश्न उठाउन खोजिएको चाहिं यो हो कि केही रोल्पाली नेता–नेतृहरुको जीवनस्तर उकास्नुबाहेक बलिदानीले आम रोल्पालीको जीवनमा के नै परिवर्तन ल्यायो ? के रोल्पालीले केही नेतालाई लाभको पदमा पुर्‍याउनका लागि मात्रै बलिदान गरेका थिए ? मन्त्री वर्षमानको परिवारबाट मात्रै तीन जनाले लाभको पद लिए । के रोल्पालीको बलिदानी यत्तिकै लागि मात्र भएको थियो त ? रोल्पालीहरु प्रश्न गरिरहेका छन् ।

 

रोल्पाकै जोखबहादुर महरा शान्ति प्रक्रियापछि लगातारजस्तै तत्कालीन माओवादी र हाल नेकपाका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहँदै आएका छन् । पहिलो संविधान सभामा सभासद् बनेका जोखबहादुरमाथि आफ्नो स्वार्थ अनुकूलका व्यक्तिलाई मात्र अध्यक्ष प्रचण्डसँग भेटघाट मिलाइदिने गर्ने गरेको आरोप लाग्ने गरेको छ । अध्यक्ष प्रचण्डसँग भेटघाटका लागि सम्पर्क गर्ने कतिपयलाई नेता कार्यकर्तालाई अध्यक्षसँग भन्नुपर्ने विषय के हो मलाई नै भने हुन्छ भनेर अध्यक्ष नै आफू भएजस्तो व्यवहार देखाउने गरेको र आफ्नो स्वार्थबेगरका फोन रिसिभ नगर्ने गरेको आरोप कतिपयले सामाजिक सञ्जालमार्फत् लगाउने गरेका छन् ।

 

अझ के पनि सुनिन्छ भने माथि उल्लेखित कतिपय रोल्पाली नेताकै कारण माओवादी जनयुद्ध विसर्जित भयो । हिजो जनयुद्धको सपना बाँडेर बलिदानका लागि रोल्पालीलाई प्रेरित गरियो, आज हजारौंको बलिदानलाई व्यक्तिगत लाभका लागि किन प्रयोग गरिंदैछ ? सकेसम्म लाभको पदमा आफै पुग्ने, नसके अरुभन्दा रोल्पाली नै हुनुपर्छ भन्नसमेत उल्लेखित नेताहरु पछि नपर्ने गरेको समाचार आएका थिए । लड्ने, मर्ने, रगत बगाउने रोल्पाली अनि खाने बेलामा अरुलाई कसरी हुनसक्छसम्म उनीहरुले भन्ने गरेका थिए ।

 

मर्ने मरेर गइगए । खासगरी सरकार र लाभको पदमा सबैभन्दा बढी बसेका कृष्णबहादुर महरा, वर्षमान पुन र ओनसरि घर्तीलाई घाइते र अपाङ्ग बनेका रोल्पालीले प्रश्न किन नगर्ने ?

 

माथि उल्लेखितमध्ये तत्कालीन माओवादी केन्द्रमा रहेका कतिपय रोल्पाली नेताले तत्कालीन एमालेसँगको पार्टी एकता हुन नदिने रणनीति नै बनाएका थिए । एमालेसँग एकता भए आफ्नो बार्गेनिङ पावर कमजोर हुने उनीहरुले बताउने गरेका थिए ।

 

तर नेताले सुखसयलपूर्ण जिन्दगी बिताइरहेको यो अवस्थामा रोल्पाली जनताको वास्तविक दैनिकी कस्तो छ त ? यसबारेमा विगत लामो समय देखि युएईमा मजदुरी गर्दै आइरहेका राम बहादुर बुढा भन्छन्, ‘हाम्रो बलिदानीमाथि खेलवाड गर्दै नेता गाडीमा चढेका छन्, हामीजस्ता हजारौं जीविकोपार्जनका लागि खाडी आउन बाध्य छौं ।’ जनदिशा बाट साभार।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top