निर्मला हत्या प्रकरण : हत्यारा पहिचान

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १३ गते मंगलवार काठमाडौं

 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ४ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । प्रहरी प्रवक्ता उत्तमकुमार सुवेदीका अनुसार अनुसन्धानका क्रममा ३ देखि ४ जनाको डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । तर, नमुना संकलन भने भइसकेको छैन ।

 

केन्द्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको सुवेदीले बताए । उनका अनुसार कतिपयको पोलिग्राफ परीक्षण गर्ने तयारीसमेत भएको छ । ‘‘पोलिग्राफ गर्ने टोली प्रदेश प्रहरी कार्यालयमै रहन्छ । आवश्यक परे तत्काल पुग्नसक्छ,’’ उनले भने ।

 

 

कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले पनि घटनाको अनुसन्धान भइरहेको बताए । ‘‘अनुसन्धानकै क्रममा छौं । नयाँ कुरा आएपछि भनौंला,’’ ओझाले भने । निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्ट, कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुष विष्ट र चक्र बडूको समेत डीएनए परीक्षण गरिएको थियो ।

 

निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेको थिएन । कञ्चनपुर प्रहरीले गत भदौ ४ गते निर्मला हत्याको मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले दिलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरे पनि डीएनए म्याच नगरेपछि उनी थुनामुक्त भएका थिए ।

 

स्रोतका अनुसार लामो अध्ययनपछि प्रहरीले केही शंकास्पद व्यक्तिको पहिचान गरेको छ । उनीहरुका गतिविधि, घटनाअघि र पछिको व्यवहारलाई केलाएर प्रहरीले थप ४ जनाको डीएनए परीक्षण गर्ने योजना बनाएको छ । स्रोतले भन्यो, ‘‘दुईजनामाथि बढी शंका छ । उनीहरुको नाम भन्न मिल्दैन । डीएनए नमुना संकलन गर्न आशंकामा रहेका सबैको उमेर २५ माथि र ४० वर्षमुनि छ ।’’ डिएनए परीक्षण गर्न लागेकाहरु सबै भीमदत्त नगर क्षेत्रभित्रकै भएको स्रोतको दाबी छ । ‘‘हामीले संकलन गर्न लागेको डिएनएबाट हत्याराको पहिचान हुने सम्भावना छ । त्यसका केही आधार फेला पारेका छौं । डिएनए म्याच नभए अनुसन्धान निकै जटिल बन्ने सम्भावना छ,’’ स्रोतले भन्यो ।

 

झण्डै ३ महिनादेखि सिआइबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ । अनुसन्धान टोलीले घटना उखुबारीमै भएको निष्कर्ष निकालेको छ । यसअघि निर्मला हत्या उखुबारीमा नभएर अन्त भएको हो कि भन्ने आशंका हुँदै आएको थियो । घटनास्थलको प्रकृति, विभिन्न फोटो र भिडियो फुटेजका आधारमा प्रहरीको ‘एक्सपर्ट’ टोलीले उखुबारीमै बलात्कार र हत्या भएको निष्कर्ष निकालेको हो ।

 

निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाहि गरेको भन्दै गृह मन्त्रालयले यसअघि नै तत्कालीन एपसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्टलाई बर्खासी गरिसकेको छ । तत्कालीन समयमा दिलिप विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गर्नुअघि अनुसन्धानमा संग्लन सबै प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले उनीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । प्रहरीमाथि नै अनुसन्धान गर्ने जिम्मेवारी एआईजी धिरु बस्न्यातलाई दिइएको छ ।बाह्रखरीबाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top