बृहत स्याङतानको बृहत कहानी….

सौगात रायमाझी २०७५ कात्तिक १२ गते सोमवार विचार

 

– सौगात रायमाझी

 

फेसबुकको भित्तामा जब उनी आफ्नो तस्बिरमा मनका कुरा पोख्छन् तब सकारात्मक र दुःखलाग्दा प्रतिक्रियाहरुको ओइरो लाग्छ जस्ले उनको वास्तविक जिवन र उनको जिवनिसँग जोकोहिलाई परिचित हुन मन लाग्छ । जनयुद्धका बेला काठमाडौँ सहित नौँ जिल्ला समावेश गरेर माओवादीले बनाएको तत्काल अवैधानिक भनेको संघियताको जनसरकार अनुसार ताम्सालिङ स्वयात्त प्रदेशको पहिलो मुख्यसचिव (अहिले मुख्यमन्त्रीसरह) हुदैँ जनमुक्ति सेनाको कम्पनि कमिसार र बटालियन कमिशारको मोर्चा सम्हालेका कुशल राजनितिज्ञको शनिबार हाटबजारमा केरा बेच्दै गरेको तस्बिरले पक्कै पनि सबैलाई आश्चर्य बनाउँछ । शान्ति सम्झौतापछि पनि पार्टीको जिल्ला तहमा उच्च पदमा पुगेका र जनयुद्धमा सक्रिय भएर लागेका सुरद बहादुर स्याङतानले (पार्टी नामः बृहत)हाटबजारको कुनामा बस्दै केरा बेचेको दृश्य पक्कैपनि नेपाली समाजकालागि साधारण थिएन् । उनले राजनैतिक जिवनबाट टाढा भएर जिविकोपार्जन गर्न किसानी पेशा रोजेका हुन् वा केही निजी कारणले साधरण जिवनयापन गर्दैछन् भन्ने मनमा जिज्ञासा लाग्नु स्वभाविक हो ।

 

उनकाबारेमा गरिएको प्रतिक्रिया र फेसबुकमा देखिएको तस्बिरले पंक्तिकारलाई उनको घरसम्म डोर्‍यायो । घर खोज्दै जानेक्रममा फिटिङको डाँडामा पुगियो । छिमेकीले घर देखाइदिए । छिमेकीसँग सोध्न मन लाग्यो कस्ता छन् बृहत । ओठेजवाफ फर्काइहाले उनले ‘हामीहरुसँग नै जग्गा लिनु भाको । मान्छे मिलनसार हुनुहुन्छ ।’ छिमेकिको प्रतिक्रियाले फेसबुकमा देखिएका बृहत र वास्तविक जिवनका बृहत सरल र सालिन नै रहेछन् भन्ने लाग्यो । खेतको आलीहुदैँ उनको घरमा पुग्दा उनी लसुन रोप्न खेत खन्दै थिए । पार्टीले मुख्यसचिवको पद दिएको व्यक्ति खेतमा पसिना बगाइरहेको दृश्यले मलाई अचम्मित बनाइरहेको थियो । उनको बारेमा धेरै कुरा उनकै शब्दमा सुन्ने रहर थियो । कोदालिलाई बिसाउदैँ आफू बस्ने काठेघरतर्फ लगे । ठिक्क छोरीले बाख्रा खोरमा हालेकि रहेछिन् । छोरीलाई कतिवटा बाख्रा भित्र आए भन्दै सोधिरहदा उनीसँग गफिन हतार भइसकेको थियो । अनि शुरु भयो राजनैतिक संघर्ष, राजनैतिक योग्दान र व्यक्तिगत जिवनका कहानी ।

 

तत्कालिन माओवादीले शुरु गरेको जनयुद्ध शुरु हुन जम्मा ७ दिन बाँकी रहदा २०५२ फाल्गुन १ गते जनयुद्धको शुरुवाति चरण देखिनै उनी आन्दोलनमा होमिएका रहेछन् । एकता केन्द्रको निर्माणपछि जिल्ला अखिल क्रान्तिकारीको सचिव बनेका बृहत राजनैतिक आन्दोलनमा बढिरहेका थिए । माघ २४ गते एसएलसि सकिएको ७ दिनपछि जनयुद्ध शुरु भयो । अरु साथी घर फर्किएको स्मरण गर्दै आफू जनयुद्धमा होमिएको क्षण सम्झदा मुस्कुराउछन् । जनयुद्ध शुरुवाति चरणमा रहेकाले तयारीका सामाग्री सहित हिँडेको स्मरण गर्दै पार्टीले विद्यार्थी फाँटको जिम्मेवारी दिदाँ विभिन्न अभियानमा विद्यार्थीहरुले देखाएको जोसले आफूहरुलाई थप शक्ति दिएको बताउँछन् । पार्टीले भुमिगत भएर संघर्षमा सामेल भइनहाल्नु आदेश दिएकाले खुला तरिकाले विद्यार्थी संगठन मार्फत माओवादिप्रति सकारात्मक जनचेतना बढाउन लागिपरेका थिए । यसैबिच, पहिलो पटक २०५३ साल माघ ६ गते डाँडीको काफ्लेचौरबाट उनी सहित ६ जना पक्राउ परे । पक्राउ पर्नेमा सहिद हरि नेपाली, तिर्थ मोक्तान, विजय मोक्तान र आफूलाई सहिद नेपालीको घरमा पक्राउ गरेको बताए । १० जना मध्ये ४ जना भने भाग्न सफल भएको उनले हाँस्दै बताउँदैँ थिए । हातहतियार खरिद मुद्धा लगाएर सदरमुकाममा २०५४ असोज सम्म जेल बस्दा यातनाको कुरा अलग पाटो रहेको उनी बताउँछन् ।

 

पहिलो पटक प्रहरीले आफूहरुलाई पक्राउ गर्न कनपा–५ मधुटारका अच्युतम ढकालले भुमिका खेलेकोले पार्टीले उनलाई पक्राउ गरी ३० हजार रकम धरौटी रकम तिर्न लगाएको उनले सम्झिए । जेलबाट बाहिर निस्केपछि पनि आफुहरु पार्टी सम्पर्क खोज्दै हिँड्दा मरिण पुगेर जनयुद्धमा पुनः होमिएको उनले बताए । राजनैतिक जिवनको एैतिहासिक पाटोलाई सम्झिदा उनको मुहारमा भिन्नै भावहरु देखिन्थे । उनी जनयुद्धका उपलब्धिहरु थुप्रै रहेकाले जनयुद्धमा कमिकमजोरी भएपनि देशले महत्वपुर्ण उपलब्धि पाएको बताउँछन् । मधेसका रामवरण यादव र एकल महिला विद्यादेवि भण्डारी राष्ट्रपति बन्न सक्ने अवस्था जनयुद्धकै देन भएको उनी भन्छन् । जनयुद्धले सकारात्मक उपलब्धि दिएपनि नेतृत्वमा बढ्दो राजैनितिकरणको रिस र सरकारमा देखिएको पुजिपतिको दब्दबाले जनयुद्धको उपलब्धि पर्याप्त नरहेको भन्छन् उनि ।

 

 

विद्यार्थी फाँटबाट साँस्कृतिक फाँटमा लागेर उनले कलाकारको समूह बनाए । जनयुद्धप्रति जनतामा सकारात्मक सोच बढाउन र राज्यसत्ताप्रति घृणा पैदा गर्न मोर्चाबाट जागरण अभियानमा समेत उनी लागे । आफ्ना इतिहासका पानाहरु मितिसहित भन्दै गर्दा उनले २०५५ असार ३ गते जस्तो लाग्छ भन्दै सदरमुकाम गैयाटारमा पक्राउ परेको कहानी बताउन लागे । त्यतिबेला खड्ग खबहादुर देबकोटा, आफू र केहि साथिलाई प्रहरीले पक्राउ गरेर मार्नसक्ने संभावना उच्च रहेको भेउ पाएको बताए । तर, जेठ २१ गते पुरानो झाँगाझोलि शिरवानी भन्ने ठाउँमा जया दाहाल र साथीको राज्यबाट हत्या भएपछि जनता आक्रोशित भएकाले आफूलाई संजोगले नमारेको बताए । सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा ल्याएर ३५ दिन राखि ६ वटा मुद्धा सहित जेल चलान भएको उनले सम्झिए । उनको स्मरण शक्ति तेजिलो देखिन्थ्यो । उनी आफ्ना घट्नाहरु मिति सहित बताइरहेका थिए । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएपनि भदौँमा युद्ध विराम गर्ने भन्दै सरकार र माओवादि बिच बार्ता हुँदा शुरुवाति चरणमा युद्धमा लागेकालाई जेलबाट छोड्ने मन्त्रिपरिषदको आदेश पछि आफूसहित जिल्लाका ईश्वरी दाहाल, गंगा श्रेष्ठ लगायत माओवादीका लागेका ७० प्रतिशत मुक्त भएका थिए । वार्ता चरणबद्ध रुपमा हुदैँ गर्दा वार्ता भंग भएको र ३० प्रतिशत पक्राउ परेका साथीहरु जेलमै बसेको उनले हाँस्दै बताए ।

 

पार्टीले दिएको इलाका सेक्रेटरी, क्षेत्रिय ब्युरो सदस्य सहितको जिम्मेवारी उनले पाएका थिए । २०६० माघमा पार्टीको जनसरकार जिल्लाको उपप्रमुख हुदैँ मुख्यसचिवसमेत बनेको सम्झिदैँ उनी गर्व गर्छन् । माओवादिले २०६० साल माघमा संघियताको प्रावधान अनुसार ११ वटा प्रदेश मध्य काठमाडौँ सहति ९ वटा जिल्ला तामसालिङ स्वायत्त प्रदेशको इतिहासको पहिलो मुख्यसचिव बनेको गर्वका साथ उनी सुनाउँछन् । उनले हाँस्दै भने, ‘‘अहिलेको मुख्यमन्त्री भन्छ नि, हो त्यस्तै पार्टीले बनाएको जनसरकारको मुख्यसचिव ।’’

 

०६१ सालबाट जनमुक्ति सेनाको कम्पनी कमिशनार हुँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक सहित सिन्धुली जिल्ला भन्दा बाहिर आफू खटेको पनि उनले सुनाए । शान्ति सम्झौता पछि क्यान्टोन्मेन्टमा गएपछि भुमिका खेल्न साथी सेना समायोजनमा नजाने निर्णय भएको र पार्टीले वाइसिएल बनाएपछि उनले केन्द्रिय सदस्य र केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी सम्हाले । वाइसिएलको सचिवको कमाण्ड समेत सम्हालेका बृहतको राजनिति स्वार्थरहित भएको उनको बोलिबाट प्रष्टै देखिन्थ्यो । राजनितिलाई स्वार्थसँग जोडेर राजिनिति गर्ने नेताहरुकालागि उनी उदाहरणीय पात्र हुन् । २०६६ सालको भदौँमा पार्टीको बैठकले सिन्धुली जिल्ला सचिव (जिल्ला सेक्रेटरी) को जिम्मेवारी दिएको उनले बताए । माओवादि पार्टी परित्याग गर्नुअघिसम्म जिल्लाको सेक्रेटरी भएर जिम्मेवारी सम्हालेको उनले सुनाए ।

 

विभिन्न कारणले पार्टी ग्रस्त भएपछि बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा उनी अहिले सामेल छन् । संविधान बनेपछि भट्टराईले पार्टी परित्याग गरि बनाएको पार्टीमा केन्द्रिय कार्यकारी सदस्य सहित जिल्लाको सह संयोजक समेत हुन् उनी । उनले प्रदेश सभामा चुनाव पनि लडेका थिए । चुनावको बारेमा उनी परिणाम सकारात्मक नआउने निश्चित रहेपनि चुनाव लडेको बताए । चुनावपछि निर्वाचित जनप्रतिनिधिहरुसँग भलाकुसारी गर्दा नेतृत्वमा पुगेपनि ऋणको भार बढिरहेको सुनाउने गरेको उनी बताउँछन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बारेमा पनि खुल्ला रुपमा आफ्ना तर्कहरु राखे ।

 

माओवादिले शान्ति प्रक्रियामा आएरसंविधान सभामा जानासाथ माओवादि नरहेको उनी विश्लेषण गर्छन् । जनवादी शक्ति उद्धेश्य रहेपनि परित्याग र दिशा नै परिवर्तन भएको उनी भन्छन् । बदलिदो कर्यादिशा अनुसार सिद्धान्तलाई बदलेर अघि बढौँ भन्ने विषयमा प्रचण्ड मौसमी ढंगले छलफलसँग कहिले सकारात्मक हुने त कहिले राज्यसत्ताको विरुद्धमा लड्ने, विरोध गर्ने भन्दै दुईजिब्रे कुराले गर्दा पार्टी यो अवस्थामा आइपुगेको पनि उनी बताउँछन् ।

 

उनले आफ्नो निजी जिवनको बारेमा भने यसरी सुनाए । राजनैतिक हिसबाले राष्ट्रिय राजनितिमा नयाँ शक्तिको महत्वपुर्ण भुमिका नरहेको र जिल्लामा पनि निर्णयाक भुमिका नरहने हुँदा आफ्नो जिवनस्तर सुधारमा लागेको उनी बताउँछन् । पदमा पुग्दा स्वार्थमा लागेको भए आज मुख्यसचिव पद पाएका बृहतको यो अवस्था पक्कै पनि हुने थिएन् । नेतृत्वको नजिक रहेर गुलामी गरेको भए सत्तामा पुग्न आफूजस्तालाई कुनै गाह्रो नभएको उनी भन्छन् । सरकारमा राम्रा मान्छेहको पनि सहभागिता रहेको तर उनीहरुसँग भलाकुसारी गर्दा पदले सिद्धान्तलाई नष्ट गर्ने उत्तर आउँदा दुःख लागेको बताउँछन् । उनले आफू त्यस्तो असन्तुष्ट ठाउँमा नपुग्दा गर्व लागेको बताए । उनले आफ्नो तीन कठ्ठा जग्गामा धान, केरा, तरकारी लगायत फलफुलहरु रोपेका छन् । साउन देखि प्राय शनिबार हाटमा उनी तरकारी, फलफूल विक्रिमा ल्याउँछन् । उनलाई कसैले पेचिलो प्रतिक्रिया दिने त कसैले सहयोग गर्ने वाचा गरेको पनि बताए । कोहिले त पुरै सामानको पैसा तिर्दिने पनि बताए । तर, उनी भन्छन्, ‘श्रम गर्न लाज मान्नुहुदैँन ।’ आफ्नो जिवनकालमा उच्च पदमा पुगेको व्यक्ति गाउँको कुनै एक जंगलमा कृषि गर्दै छ भन्नु जिल्लाका युवाहरुकालािग एउटा सकारात्मक संदेश हो । उनको जिवनका केहि महत्वपुर्ण अंश, वर्तमान राजनैतिक अवस्था र भावि योजनाका बारेमा उनले गरे कुराहरु निकैनै चाखलाग्दा थिए । कहानी सुनिरहौँ जस्तो लाग्ने थियो । तर, रात छिप्पिसकेकाले पछि भेट्ने वाचा सहित हामी छुट्टियौँ ।

 

सुरद बहादुर स्याङतान (बृहत) ले आफ्नो राजनितिक जिवनमा स्वार्थरहित राजनिति गरे । अहिले आफ्नो पार्टी राजनैतिक नेतृत्वमा नरहेकाले जिवन सुधारमा लागेका छन् । नेतृत्वमा रहेका जनप्रतिनिधिले उनको जस्तै स्वार्थरहित राजनिति गरे देशको मुहार फेर्न समय लाग्ने थिएन ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top