नामको दर्शन

विनोद दाहाल २०७५ कात्तिक १० गते शनिवार विचार

 

अहिले सरकारी नेकपाको पार्टी नाम विवादमा परेको छ र अदालतसम्म पुग्ने भयो । कट्टेलको मुद्दा प्रतिक्रियावादी निर्वाचन आयोगले खारेज गरेपछि विप्लव नेतृत्वको नेकपा प्रतिक्रियावादी उक्त फैसला अनुसार अवैध बनेको छ । माओवादी भन्दा पनि कम्युनिस्ट हुनु वैज्ञानिक ठानेर बनाएको उक्त नेकपाको दर्शन पनि सोही अनुसारको हुनु स्वभाविक हो । त्यस्तै सरकारि डबल नेकपाको नाममा पनि वैज्ञानिकता कतै देखिएको छैन । संयोग भनौं वा नियत नाम त वैज्ञानिक हुनुपर्ने हो तर यी दुबै (सरकारी र गैरसरकारी नेकपा) को नाम एकै कसरि हुन पुग्यो ? नामसँग दर्शन वा वैज्ञानिकता जोडिनुपर्ने हैन र ?

 

 

प्रायः मानिसलाई आफ्नो नाम मन परेको हुँदैन । मानिसको मन परिवर्तन भैरहेको हुन्छ । मानिसका एकभन्दा धेरै नामहरुसमेत हुने गरेका छन् । आफ्नो नाम पनि मन परिबर्तन भैरहने कारण नाम पनि परिवर्तन गरिरहने इच्छा हुन्छ । मानिसको इच्छा वा मनसँगै व्यवहार र विशेषता पनि परिवर्तन भैरहन्छ । यसलाई कसरि अध्ययन गर्ने भन्ने विषय मनोविज्ञानबाट मात्र सम्भव हुन्छ ।

 

रत्नाकर डाकु नाम परिवर्तन गर्दै वाल्मिकी भएको रे । पुरानो समय अर्थात पौराणिक कालमै नाम परिवर्तन हुने गरेको कुरा आएकै थियो । अहिले पनि प्रायः मानिसहरु कर्मकाण्डीय बिधि अनुसार राखेको नाममा चित्त नबुझाएर अर्कै नाम राख्नेदिने गरेका छन् । यसले न्वारन गर्ने चलनको औचित्य प्रायः नै समाप्त भैसकेको छ । अभिभावकले राखेका नाम पनि चित्त नबुझेर मानिस आआफैं नाम राख्ने चलन नै भैसककेको छ । आफैले नाम राख्दा पनि उमेर र संगत अनुसारको नाम फेरिरहेका पनि भेटिन्छन् ।

 

इतिहासका पानाहरु पल्टाउने हो भने मानिसका पदले सम्बोधन हुने धेरै नामहरु पाइन्छ । राजा जनकदेखि गाउँको मुखिया वा जिम्मलबासमेत नामको सट्टामा प्रयोग गरेको पाइन्छ । हबल्दार र जम्दारबाहरु गाउँगाउँमा कत्ति छन् कत्ति ! उनीहरु नाम भन्दा पनि पदले सम्बोधन गर्दा बढी खुसी भएको पाइन्छ । नामको प्रयोग बारेमा मानिसको धारणा कस्तो छ भन्ने कुरा यी तथ्यहरुले देखाएका छन् ।

 

यो देशमा माओवादी आन्दोलन भयो र १० वार्षसम्म नेपाली समाजमा उथलपुथल भयो । यसले शोषितपिडित जनताको बीचमा चेतनास्तर उठाएको बिषय अतुलनीय नै रहन पुग्यो । यो बेला क्रान्तिकारि जनता बढी असुरक्षित भए, त्यसैले आफूलाई राज्यको सूचिबाट लुकाउन नाम लुकाउने गरेको इतिहास हाम्रो सामु ताजै छ । नाम मानिसको जीवन र मृत्युको मापनमा पर्न पुगेको थियो । जीवनलाई असुरक्षित गर्ने पुरानो नाम मेटाएर अर्को नामबाट व्यवहार गर्न क्रान्तिकारिहरु वाध्य भएका थिए । त्यतिबेला उनीहरुले नाम रोज्ने वा पार्टीलाई नाम राख्ने अधिकार दिएका थिए । त्यतिबेला मानिसहरु नाम निक्कै महत्वकासाथ र वैज्ञानिक विधिको आधारमा राख्ने प्रयत्न गर्दथे । नाममा समस्या आयो भने पुनः नाम मिलाउने प्रयत्न गर्दथे । माओवादीको मान्यता के थियो भने नाममा वैज्ञानिकता हुनु पर्दछ ।

 

मनिसले नामलाई आफू भन्दा पनि बढी मायाँ गर्ने गरेका छन् । आफू त मर्ने चोला हो मरिहालिन्छ भनेर नाम चाहिँ मर्दैन वा नमर्ने बनाउन सकिन्छ भनेर मानिसले सोच्ने गरेको पाइन्छ । मानिस भित्रको अहमतालाई मानिसले आफ्नो नामसँग जोडेर हेर्ने गरेको पाइन्छ । नाम कमाउनको लागि अर्थात नामको अमरत्वको लागि मानिस मर्नसमेत तयार भएको पाइन्छ ।

 

मानिसको बिचारमा बदलाव आइराख्ने कारणहरु हुन्छन् । बिचार भनेको मानिसको स्वभाविक अभिव्यक्ति हो । यसमा शारिरिक र परिस्थितिजन्य पक्षले प्रभाव पारिरहेको हुन्छ । जैबिक बिषयले पनि प्रभाव जमाएको हुन्छ भने मुख्यतः पारिवारिक प्रभावले जीवनमा सँधै प्रभाव पारिरहेको हुन्छ । समाजको सापेक्षता अनुसार धर्मले पनि मानिसलाई प्रभाव र नियन्त्रणमा राखेको हुन्छ । नामसँग मानिसहरु यसरि जोडिने गरेका छन् ।

 

आफूमात्र हैन मानिसले आफूसँग जोडिएका हरेक बस्तुहरु जस्तै गाई–गोरु, पशुपंक्षिलगायत सबै नियन्त्रणका बस्तुहरु समेतको नाम राख्ने गरेका छन् । यत्ति मात्र हैन, मानिसले हरेका बस्तु र घटनाहरुको नाम राख्ने गरेका छन् । त्यसैले अहिले नामैनामको संसार बनेको छ । यसैबीचमा अहिले धर्तीमा रहेका ७ अर्ब मानिसको पनि नामाकरण भएको छ । नामलाई निक्कै महत्व दिएर अभिलेखिकरण गर्नेगरेका पनि छन् । यो मानिसको वाध्यकारि चिज भएको छ ।

 

पछिल्लो समय आर्थिक प्रभावबाट मानिसमा टार्नै नसकिने वा वाध्यात्मक परिस्थिति आएको हुन्छ । मानिसलाई टार्नै नसक्ने धार्मिक प्रभाव त छँदै थियो, अहिले राज्यको नीति र आर्थिक हैसियतले पनि मानिसलाई वाध्यात्मक स्थितिमा पारिरहेको हुन्छ । मानिसले सबैभन्दा इच्छा गर्ने चिज स्वतन्त्रता हो । मानिस अहिले पनि चाहेर त्यो पाउन सकेको हुँदैन । मानिसमा राजनीतिक, सामाजिक र साँस्कृतिक पक्षको प्रभावबाट समुच्चमा प्रभाव देखापरेको हुन्छ । यी सबैको संयोजनबाट मानिसको दृष्टिकोण निर्माण भएको हुन्छ । मानिसको व्यवहारलाई त्यही दृष्टिकोणले निर्देशित गरेको हुन्छ । नाम राख्ने सवलमा पनि यहि दृष्टिकोणले काम गरेको हुन्छ । नाम राख्ने सवालमा पनि मानिसको दर्शन अभिव्यक्त भएको हुन्छ । त्यसैले भन्न सकिन्छ कि मानिसको समग्र व्यवहार नै उसको दर्शन हो ।

 

अहिले हामी हाम्रो क्रान्तिको नाम राख्ने सवालमा बहस गरिरहेका छौं । इतिहासभरि श्रमजीवी र मजदुरले आन्दोलन र बिद्रोहहरु गरिरहे, संघर्षको इतिहास रचना गरिनै रहे । त्यसलाई विशेषताको आधारमा नामाकरणहरु गरिएका छन् । पछिल्लो समय जव समाजमा सर्वहारा वर्ग देखा प¥यो त्यसले नौलो खालको बिद्रोहको नेतृत्व गर्नपुग्यो । कार्लमाक्र्सले त्यसलाई बुर्जुवा व्यवस्थाबिरुद्ध सर्वहारा क्रान्तिको नाम दिए । अहिले यो क्रान्तिले विश्वलाई नै नयाँ युगमा प्रवेश गराएको छ । सर्वहारा वर्गले वैज्ञानिक समाजवाद खोजेपछि संसारभर यसको बहुआयामिक प्रभाव परेको छ । पेरिस कम्युन, अक्टोबर क्रान्ति र नयाँ जनवादी क्रान्ति हुँदै यो विकासवान भैरहेको छ । वर्गीय समाजमा यसको बिकल्प खोज्नु मुर्खतासिवाय केही हुँदैन । त्यसैले बुर्जुवा अर्थात साम्राज्उवादी विश्वले मानिसलाई पहिला मुर्ख बनाउने र अल्मल्याएर लुटको स्वर्ग बचाउन खोजिरहेको छ ।

 

माक्र्सदेखि माओले सर्वहारा क्रान्तिको बिभिन्न नाम राखे जस्तै हामी पनि यहाँ हाम्रो क्रान्तिको नाम राख्ने अनेकौं प्रयास गरिरहेका छौं । माक्र्सले नयाँ युगको नयाँ सामाजिक व्यवस्थाको घोषणा गरे । माक्र्सले उक्त व्यवस्थाको नाम साम्यवाद राखेका हुन् । माओले लंगमार्च पछि करिव ५ वर्ष पछि आफुले क्रान्तिलाई डोहो¥याएको क्रान्तिको नाम दीर्घकालीन जनयुद्ध राखे ! पुष्पलालले नेपालमा हुने क्रान्तिको नाम नयाँ जनवादी क्रान्ति राखे । रोहितले जुछेलाई अपनाउन पुगेका छन् । मदन भण्डारीले उनको क्रान्तिको नाम जवज राखे भने अहिले विप्लवले एकीकृत जनक्रान्ति नाम राखेका छन् । विप्लवले सशस्त्र क्रान्तिमा चे देखि आइएसआईसम्मबाट सिकेको दावी गरिरहेको छ । मानिसको दर्शनमा समकालिन प्रभाव हुन्छ । मानिसको मुल्यांकन पनि त्यही सापेक्षतामा गर्नुपर्ने हुन्छ । मानिसले दर्शनको उत्कृष्टतालाई बुझ्ने प्रयास गर्नुपर्छ । यही मानिसको सचेतन पक्ष हो । १९ औं शताब्दिमा कार्लमाक्र्सले त्यो समयको दर्शनको विकास गरेर विश्वभरि प्रभाव जमाउन सफल भए । २० औं शताब्दिको शुरुमा लेनिन र मध्यमा माओले त्यो समयको दर्शनको विकास गर्न सफल भए भने त्यसपछिको समयमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (रिम) ले उक्त समयको दर्शनको विकास गरेका छन् ।

 

रिमको दर्शनले विश्वका सबै देशमा जनक्रान्ति सम्भव देखाएको छ । यसको मतलव हुन्छ, विश्व नै समाजवादी संक्रमणको चरणमा छ । देश बिशेषको जनपक्षीय नीति र कार्य्दिशाको माध्यमबाट विश्वसमुदाय नै समाजवादमा जान बिकल्प पेश गरिरहेको स्थितिमा छ । साम्राज्यवाद अर्थात अहिलेको शोषक वर्गले पुँजीवादका संकटहरु टार्न सक्ने स्थिति कतै देखिंदैन । विश्व साम्राज्यवाद संकटमाथि अर्को संकट थोपरेर सामरिक र धार्मिक आढमा दमनको बाटोबाट अडिएर बसेको छ । नीतिगत रुपमा बिकल्प दिन नसक्नु नै साम्राज्यवादको पतनको स्थिति हो ।

 

साम्राज्यवाद लुटेको धनले निर्माण भएको शोषक वर्गको शक्ति हो । लुटाईमा कमजोर हुनासाथ उक्त शक्ति स्वतः कमजोर हुन पुग्दछ । सबै देशले आफू नलुटिने नीति निर्माण हुनासाथ उक्त शक्ति स्वतः कमजोर र आफ्नो संरचना आफै थेग्न नसकेर पतन हुन्छ । साम्राज्यवादको सक्कली स्थिति त्यहि हो । माओवादले साम्राज्यवादको त्यही सक्कली रुप बुझेर हरेक देशमा सर्वहाराका प्रतिनिधी पार्टीहरुलाई गृहयुद्धमा जाने निर्देश गरेको छ । उक्त गुहयुद्धलाई जनयुद्धमा परिणत गर्ने निर्देशन पनि जारि गरेको छ । केन्द्रिकृत र एकीकृत भएको साम्राज्यवादलाई टुक्क्राएर देश बिशेषमा गृहयुद्धमार्फत समाप्त जारिदिन सकिन्छ । सर्वहारा वर्गको यो तरिका लाई परास्त गर्ने प्रतिक्रियावादीहरुसँग कुनै उपाय पनि छैन र हुने पनि छैन ।

 

माओवादीले १० वर्ष जनयुद्ध गर्दा आफ्नो क्रान्तिको नाम नयाँ जनवादी क्रान्ति गरेको नै भन्दैथियो । जसरि मानिसलाई वा कुनै बस्तुलाई चिन्न उस्को वा त्यसको उचित नामले सम्बोधन गरिएको हुन्छ त्यसरि नै क्रान्तिकारिलाई चिन्नको लागि पनि उसले गर्नखोजेको क्रान्ति के हो भनेर बुझ्नुपर्ने हुन्छ । अहिले दुईतिहाईको सरकारमा रहेको पार्टीले चाहिं समाजवादी क्रान्ति गर्ने नाम दिएको छ । हुनत संविधान बनाउदा नै काँग्रेससहितको पार्टीले समाजवाद उन्मुख संविधान बनाएको दावी गरेका थिए । त्यसैले उनीहरुले क्रान्ति गर्ने भनेका हैनन, व्यवस्थामा सुधार गर्नेसम्म भनेका मात्र हुन् भन्न सकिन्छ । वर्गीय स्थितिले गर्दा उनीहरुले चाहेर मात्र हुन सक्ने हैन, यो त वर्गशक्ति सन्तुलन मिलाउने सिवाय अरु केही हैन भन्दा नै जायज हुन्छ । यस्तो दलाल पुँजीवाद र हरेक क्षेत्रमा दलालीकरण भैरहेको बेला उनीहरुले चाहेर पनि सुधार हुन सक्दैन भन्ने स्पष्टनै छ । नाम मात्रको समाजवादले केही हुनेवाला छैन । त्यसैले उनीहरुले अपनाएको बाटोको नाम समाजवाद सुहाएको छैन वा नमाकरण गरेको वैज्ञानिक आधार कतै भेटिंदैन । यो जनतालाई शासकले कहिले एसियाली मापदण्डमा पु¥याउने वा स्वीजल्याण्ड बनाउने नारा जस्तै हो भन्न सिकन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top