सिन्धुलीका जुनार नपाक्दै बजारमा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १० गते शनिवार सिन्धुली

 

सिन्धुलीका किसानले पाक्ने समय नहुँदै हरियो जुनार बिक्रीका लागि वजार पठाउन थालेका छन् । मूल्य राम्रो पाइने लोभले जुनार कृषकले यस वर्ष पनि सिजनअघि नै सिन्धुलीको जुनार बजारमा बिक्रीका लागि ल्याएका हुन् ।

 

चाडपर्व मान्न खर्च अभाव हुँदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । ‘‘जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,” जलकन्या गाविस– १ निगालेका गोरखबहादुर श्रेष्ठले भने । अहिले हरियो जुनार प्रतिकिलो रु १०० देखि रु १२५ मा बिक्री भइरहेको छ ।

 

 

 

 

सिन्धुली जिल्लाका जुनार कृषकले हरियोमै जुनार टिपेर बिक्री गर्ने गरेको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेले गुनासो गरे । चाडपर्वको खर्च जुटाउने नाममा हरियो जुनार बजारमा नल्याउन अध्यक्ष आलेले किसानलाई आग्रह गरिएको बताए ।

 

‘सामान्यतय मंसिर दोस्रो साताबाट खान योग्य हुने जुनार चारवाडको मौका छोपी कृषकले बजारमा बिक्री गर्न ल्याउन थालेका छन, चाडबाडमा मूल्य राम्रो पाइने भएकाले पनि कृषकले सिजनअघि नै बजारमा ल्याएका हुन’ आलेले भने ।

‘जुनार सुपरजोन’ परियोजनामा समेत आबद्ध कृषकले काँचोमै जुनार टिपेर बजारमा बिक्री गर्न थालेकोले जुनारको जिल्ला भनेर परिचित सिन्धुलीमा पहिचान र गुणस्तरमै प्रश्नचिन्ह उठाउने काम गरेको भन्दै आलेले आक्रोश पोखे । परियोजनाले लाखौँ रुपैयाँको आर्थिक तथा प्राविधिक र विभिन्न औजारहरू प्रदान गर्दै आएको छ ।

 

‘पटकपटक कृषकलाई सिजन नै नभई जुनार बजारमा बिक्री गर्न नल्याउन भने पनि कृषकले मानेका छैनन् । उनीहरूलाई जुनार जोन र जुनार विकास संघले पनि सहयोग गर्दैन,’ उनले भने । व्यापारीले बगैँचामै पुगेर राम्रो मूल्य दिएर कृषकलाई फकाउँदै बजारमा ल्याएर बिक्री गर्ने गर्दा जुनारको स्वाद र गुणस्तर भने नहुँने जुनार संघका निवर्तमान अध्यक्ष तीलक थापाको भनाई छ ।

उक्त परियोजनाअन्तर्गत उत्पादित जुनारलाई गुणस्तरीय र रोग किरारहित उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत खपत गराउने लक्ष्य लिएको भए पनि कृषकले लापरबाही गर्दै जुनार सिजनअघि नै बजारमा ल्याउँदा गुणस्तरमा समेत समस्या आउने जानकारहरू बताउँछन् ।

 

सिन्धुलीका तत्कालिन तीनकन्या, वाशेश्वर, रतनचुरा, जलकन्या, भुवनेश्वरी, मझुवालगायत गाविस जुनार उत्पादनको पकेट क्षेत्र मानिन्छन् । तर, कृषकले असोजदेखि नै बिपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खनियाँखर्क , बिपि राजर्मामा पर्ने लगायतका बजारहरूमा पु¥याएर बिक्री गर्ने गरेको बताइएको छ ।

 

उता हरियो जुनार नै बजारमा ल्याएर बिक्री गर्न थालेको भन्दै जुनार जोन परियोजनाले त्यस्ता कृषकलाई परियोजनाले प्रदान गर्दै आएको कुनै पनि सुविधा नदिने चेतावनी दिएको छ । जुनारको गुणस्तरका लागि समेत सिजनसम्म पर्खनु पर्ने भन्दै सिजनअघि नै जुनार बिक्री गरेर बगैँचा रित्तो बनाउनेहरूलाई कुनै पनि सुविधा प्रदान नगर्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ ।

 

राम्रोसँग जुनारको फल नपाके पनि व्यापारीले राम्रो मूल्य दिएपछि आफूहरूले बाध्य भएर काँचो जुनार बिक्री गर्नु परेको कृषकको भनाई छ। चाडबाडका कारण जुनार फलको माग बढेका कारण आफूहरूले हरियो नै भए पनि जुनार बिक्री गरेको जुनार कृषकहरु बताउछन ।

सिन्धुली लगायत देशभरको ताजा समाचारकालगि हाम्रो पेज Sindhuli Saugat मा लाइक गर्दिनुहोला । क्लिक गर्नुहोस्ः www.facebook.com/SindhuliSaugatOnline

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top