गरिब घरपरिवार परिचयपत्र वितरण अन्यौलमा

सिन्धुली साैगात संवाददाता २०७५ असोज २३ गते मंगलवार सिन्धुली

 

सिन्धुलीमा गरिब घरपरिवार परिचयपत्र वितरण अन्यौलमा परेको छ । गरिब घरपरिवारको सुचिमा धनिको नाम परेपछि जिल्लाका अधिकांश स्थानीय तहमा परिचय पत्र वितरण हुन सकेको छैन ।

 

गरिबले पाउनुपर्ने गरिब घरपरिवार परिचयपत्र धनीले पाएको भन्दै जनगुनासो व्यापक बढेको छ । गरिब घरपरिवार परिचयपत्र धनीले पाएको भन्दै चर्काे विरोध हुन थालेपछि परिचयपत्र वितरणको काम थाति राखिएको पालिका प्रमुखहरुले बताएका छन् ।

 

दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा आर्थिक अवस्था कम्जोर रहेका परिवार नै परिचय पत्रबाट वञ्चित हुने अवस्था आएपछि जनप्रतिनिधिहरु पनि आक्रोसित भएका छन् ।

 

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले वितरण गर्ने अधिकारसहित आएको गरिब परिचयपत्रको सूचीमा वास्तविक गरिबको नाम छुटेर धनीको मात्र नाम आएको बताए । “परिचयपत्र आएपछि हामी बैठक बस्यौं, तर सूचीमा वास्तविक गरिबभन्दा धनीको सूची धेरै देखियो,” उनले भने, “वडाध्यक्षलगायत जनप्रतिनिधिबीच नै असन्तुष्टि देखियो, त्यसैले हामीले परिचय पत्र वितरण सुरु गरेका छैनौं ।’ परिचयपत्र वितरणबारे दसैं–तिहारपछि फेरि बैठक बसेर छानबिन गर्ने वा कसरी वितरण गर्ने निक्र्यौलमा पुग्ने प्रमुख खत्रीको भनाइ छ ।

 

दुधौली नगरपालिकाले पनि गरिब परिचयपत्र वितरण सुरु गरेको छैन । गरिब व्यक्तिको नाम सूचीमा नपरी धनीको नाम परेको र सूचीकै आधारमा वितरण गर्दा विवाद बढ्ने भएकाले वितरणको काम रोकिएको नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए । ‘‘गरिबभन्दा धनीको बढी नाम छ, सूचीमा वास्तविक गरिब छुटे,’’ उनले भने, ‘‘यही सूचीअनुसार वितरण गरियो भने त विवाद बढ्ने धेरै खतरा हुन्छ ।”

 

कमलामाई र दुधौली नगरपालिकामा मात्र होइन जिल्लाका अन्य स्थानीय तहमा पनि गरिब परिचय पत्र पाउनेको सुचिमा अधिकांंश धनि व्यक्ति तथा परिवारको नाम आएको छ । अहिले आएकै नामावलीका आधारमा परिचय पत्र वितरण गर्दा विवाद आउने भएकाले परिचयपत्र वितरण सुरु गर्न नसकिएको गोलन्जोर गाउँपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार गोलञ्जोरमा पनि वास्तविक गरिबहरु छुटेका छन् । उनले भने, “वास्तविक गरिवले परिचयपत्र पाउनु पर्छ भनेरै अहिलेलाई कार्यक्रम स्थगित गरेका हौँ ।”

 

त्यस्तै घ्याङलेख, फिक्कल, हरिहरपुरगढी, सुनकोसी र मरिण गाउँपालिकामा पनि यस्तै समस्या देखिएकाले गरिव परिचयपत्र वितरण हुन सकेको छैन । सरकारी तथ्यांकअनुसार सिन्धुलीमा १९ हजार ११७ गरिब रहेको उल्लेख छ ।

 

यता तीनपाटन गाँउपालिकाले भने गरिब घरपरिवार परिचय पत्र वितरण गरिसकेको छ । गाँउपालिकामा रहेका २७ सय घरपरिवारलाई स्थानीय नागरिकलाई पायक पर्ने स्थान तथा वडा कार्यालयबाटै परिचय पत्र वितरण गरेको गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top