निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

सिन्धुली साैगात संवाददाता २०७५ भदौ ११ गते सोमवार काठमाडौं

 

 

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका छन् ।

 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५’ का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गरेकाले राज्यले त्यसको दायित्व लिनुपर्नेमा जोड दिए ।

 

नेता भट्टराईले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रका निजी लगानीलाई सधैँ छाडा छोड्न हुँदैन, हाल सञ्चालित रहेकाहरुले आफ्नो बन्दोबस्त गर्दा हुन्छ, अब नयाँ निजी विद्यालय र अस्पताल खोल्न दिनु हुँदैन ।’

 

उनले हालका निजी विद्यालय र अस्पताललाई सार्वजनिक निजी साझेदारी, सहकारी, ट्रष्टको ढाँचा हुँदै क्रमशः राज्यको लगानीको मातहतमा ल्याउन नेकपा र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

 

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको मौलिक हकको कार्यान्वयनका कानून बनाउन ढिलाइ भएकाले आगामी असोज २ गतेभित्र ‘निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५’ पारित गरिसक्नुपर्ने भएकाले पर्याप्त छलफल हुन नपाएको बताए ।

 

उनले भने, ‘शिक्षामा निजी क्षेत्रको भूमिका क्रमशः घटाउनुपर्छ । उनीहरुलाई सेवामूलक बनाउनुपर्छ र सार्वजनिक शिक्षामा भर्ना गराउने प्रवृत्ति बढाउनुपर्छ ।’

 

नेकपाका सांसद् मनकुमारी जिसीले समतामूलक शिक्षाको विकासका लागि प्रस्तुत विधेयकलाई आवश्यक परिमार्जन गर्न आफूहरु तयार रहेको बताइन । कार्यक्रममा सहभागी विज्ञ एवं सरोकार भएकाहरुले विधेयकमा निःशुल्क र अनिवार्य शिक्षाको स्पष्ट व्याख्या नगरिएको, लगानी वृद्धिको सुनिश्चितता नगरिएको र निजी शिक्षालयलाई पूर्ववत् व्यवसायीकरणका लागि छुट दिइएको भन्दै त्यसमा संशोधन गर्न सुझाव दिएका थिए ।(रासस)

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top