अस्थायी शिक्षकको नतिजा दशैं अघि नै आउने

सिन्धुली साैगात संवाददाता २०७५ साउन १५ गते मंगलवार भक्तपुर

 

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षक परीक्षाको नतिजा दशै अघि नै सार्वजनिक गर्ने तयारी भएको छ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी थालेको हो ।

 

कापी परिक्षणको प्रक्रिया सुरु भएको भन्दै नतिजा दशै अघि नै सार्वजनिक गर्ने आयोगले जनाएको छ । बिचमा कुनै ठूलै बाधा नआएमा दशैं अघि नै नतिजा निकाल्ने योजना रहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

 

अहिले कापी कोडिङ्को काम शुरु भएको र यसलाई डबल कोडिङ् गरेर परीक्षणको लागि तयार बनाईने अध्यक्ष गौतमको भनाई छ । आयोगले तोकेका सय भन्दा धेरै परीक्षकले आयोगमै बसेर कापी परीक्षण गर्ने छन् ।

 

आवश्यकता भन्दा कमको प्रतिस्पर्धाः

 

अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएको अध्यक्ष गौतमले बताए ।

 

कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा २२ हजार २ सय ३५ जना सहभागी भएका आयोगले जनाएको छ । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । त्यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

 

आवश्यक मध्ये कम पदमा प्रतिस्पर्धा भएर बाँकी रहेको पद खुल्लामा जानेछ । अहिले खुलेको खुल्लाको विज्ञापनको परीक्षा सकिएपछि आयोगले यसै बर्षको अन्त्य सम्ममा यी सबै पदलाई मिलाएर फेरि खुल्ला विज्ञापन गर्ने अध्यक्ष गौतमको भनाई छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top