बीपी राजमार्गमा मापदण्ड अनुसारका सवारी मात्र सञ्चालन

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २५ गते शुक्रवार सिन्धुली

 

बीपी राजमार्गमा आजदेखी मापदण्डअनुसारका सवारी साधन सञ्चालन हुन थालेका छन् । मापदण्ड विपरितका सवारी साधन नचलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी पाँच दिनपछि स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याएको हो । अन्तरिम आदेशको पत्र ढिला आएकाले कार्यान्वयनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

 

भारवहन क्षमता बढि भएका मालवाहक र तोकिएको सिटसंख्या भन्दा बढि भएका यात्रुवाहक सवारी साधनलाई सिन्धुलीको कमलामाइ नगरपालिका ४ को हिरापानीबाट फर्काइएको छ । यो समाचार तयारपार्दा सम्म पाँचसय भन्दा बढि मापदण्ड विपरितका सवारी साधन फर्काएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक जेशी शाहले जानकारी दिए । यात्रुवाहक सवारी साधनका यात्रुलाइ मापदण्ड अनुसारका साना सवारीमा पठाइएको समेत उनले बताए ।

 

बीपी राजमार्गमा बढि भरवहन भएका सवारी साधनलाइ रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २१ गते अन्तरिम आदेश जारी गर्दै बढि भरवहन क्षमताका ठुला सवारीलाई रोक लगाएको थियो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गत जेठ १३ मा वीपी राजमार्गमा ठुला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । सो विरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

मापदण्ड अनुसार विभागले मंसिरमा गरेको पत्राचारमा सवारी साधन सहित कुल १० टन (जीभीडव्लु) भन्दा भारवहन बढि भएकालाई रोक लगाउने र कमलामाई नगरपालिकाको भिमानमा साँझ ६ बजे रोकी विहान ५ बजे छाड्ने र काभ्रेको काभ्रेभन्ज्याङमा साँझ ५ बजे रोकी विहान ५ बजे छाड्ने उल्लेख थियो ।

 

यातायात व्यवस्था विभागले सार्वजनिक निर्माण प्रयोजनको प्रकृति हेरि चारहजार दुइसय एमएम ह्लिवेस सम्मका ट्रिपर अस्थायी पटके इजाजत दिने, सार्वजनिक निर्माण प्रयोग हुने हेभी इक्वीमेन्ट, तथा निर्माण सामाग्री ढुवानी, सडक विभागको सिफारिसमा सञ्चालन अनुमती दिने, विवाह, क्रियाकर्म, तथा शैक्षिक भ्रमणमा ठुला यात्रुवाहक सवारी साधनलाइ समय निर्धारण गरि अस्थायी पटके सञ्चालन गर्न दिने पत्राचार यसअघि गरेको थियो ।

 

यातायात व्यवस्था विभागले वीपी राजमार्गमा बढि भारवहन क्षमता भएका सवारी साधनलाइ चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेश अनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढि भारवहन क्षमता भएका सवारी साधनलाइ चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानून विपरित भएको भन्दै रिट परेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चारहजार दुइसय २५ एमएमको चालक सहित ३२ सिट भएको विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।

 

यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरि चल्न दिने निर्णय गरेको छ । मालवाहक सवारी जिभिडव्लु (कुल वजन) १६२०० किलो ( १६.२ टन) ह्लिवेसचारहजार दुइसय २५ एमएम सम्मका सवारी साधन प्रति एक्सल भार १०.२ टन नबढ्ने गरि राती ९ बजेदेखि विहान ५ बजेसम्मका लागि अनुमती दिएको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top