प्रचण्डले गृहमन्त्रीलाई ‘सिंघम’ बन्न मन लाग्यो भनेर हप्काए

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २५ गते शुक्रवार काठमाडौं

 

गृहमन्त्री रामबहादुर थापाले ‘कामचोर’ ठेकेदारहरूलाई कारबाही गर्ने भन्दै सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका छन् ।

 

त्यति मात्रै होइन, गृहमन्त्री थापालाई नेताहरूले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव दिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ‘ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको ?’ भन्दै हप्काएका हुन् ।

 

स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’

 

गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् ।

 

‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है !’

 

गृहमन्त्री थापाले कामचोर ठेकेदारहरूको सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् ।

 

अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् ।

 

त्यति मात्रै होइन, ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top