उम्मेदवारद्वय श्रेष्ठ, चौधरी भन्छन्, ‘हाम्रो समूहको जित सुनिश्चित’

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ३ गते बिहीवार सिन्धुली

 

उद्योग वाणिज्य संघ सिन्धुलीको चुनाव आउँन अब जम्मा दुई दिन बाँकी रहदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरुले आफ्नो प्रतिकुल क्षेत्रहरुमा प्रचारप्रसारलाई झनै तिव्र बनाएका छन् । निर्वाचनको परिणाम आफू अनुकूल बनाउन दुवै प्यानलले चुनावी प्रचारलाई तीव्र बनाएपछि उद्यमी व्यवसायीमाझ चुनावी रौनकता छाएको छ । व्यवसायीको घरघरमा पुगेर दुवैले जितलाई आ–आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् ।

 

अमरेश बैदार समुहतर्फबाट वरिष्ठ उपाध्यक्ष अजुर्न कुमार श्रेष्ठ र महासचिवका उम्मेदार बिरबल चौधरीले आफ्नो समूहले चुनाव जित्ने दाबी गरे । श्रेष्ठले आफ्नो पक्षमा चुनावी माहोल भएको बताए । उनले चौतर्फी रुपमा आफ्नो प्यानललाई समर्थन रहेकाले जित्ने सुनिश्चित भइसकेको जिकिर गरे । श्रेष्ठ इतिहासको मूल्यांकन गरेर मत दिन मतदाताहरूलाई आग्रह गरिरहेका छन् ।

 

श्रेष्ठले विगत लामो समयसम्म उद्योग वाणिज्य संघमा गरेको लगानी र लगनशीलतालाई जितको आधार मानेका छन् । श्रेष्ठले आफूले करिब दुई दशक समय उद्योग वाणिज्य संघको लागि खर्चिएकाले पनि व्यवसायीहरुले आफू र आफ्नो समूहलाई जिताउनेमा विश्वसत छन् । लामो समयसम्ममा उनले दुई कार्यकाल महासचिव हुँदा दुईपटक सिन्धुली महोत्वस सम्पन्न गरेको, जिल्लामा पाँच शाखा आफ्नै कार्यकालमा खोलिएकोे र विधान पनि आफैँले लेखेको हुनाले आफूले सधैँ व्यवसायीको हकहितको पक्षमा काम गरेको दाबी गर्दै आएका छन् ।

 

त्यतिमात्र नभई आफू महासचिव हुँदा सिन्धुली उद्योग वाणिज्यस संघले नेपाल अधिराज्यमा ‘ख’ वर्गको संघमा उत्कृष्ट बन्न पुगेको पनि उनले स्मरण गरे । उनले विगतमा आफ्नो समूहको कार्यकालमा भएका धेरै कामले अहिलेसम्म पनि निरन्तरता पाइरहेको र सबै व्यवसायीलाई फाइदा भइरहेको दाबी गरे । त्यसकारण सबै उद्योगी व्यवसायीहरूको सल्लाहबमोजिम वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै अबको सफल नेतृत्व छान्न उनले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

 

सबै उद्योगी व्यवसायीको हक अधिकारको लागि दुई दशकभन्दा बढी समय उद्योग वाणिज्य संघमा काम गरेको अनुभवको आधारमा पनि उद्योगी व्यवसायीले आफूलाई नै विश्वास गरेर जिताउनेमा श्रेष्ठ ढुक्क छन् । व्यक्तिगत भन्दा पनि सामूहिक कार्यले सफलता पाउने भन्दै उनले भने, ‘अबको सफल कार्यसमितिको आवश्यकता महसुस गर्नुभएको छ भने हाम्रो नेतृत्वमा आएको समितिलाई जिताउनु हुन पनि म अनुरोध गर्दछु ।’

 

त्यसैगरि, महासचिवका उम्मेदवार बिरबल चौधरीले पनि अबको नेतृत्वको लागि उद्योगी व्यवसायीले अमरेश बैदारको समूहलाई नै रोज्ने दाबि गरे । सिन्धुलीका व्यवसायीहरूका लागि हरपल हरक्षण आफू सक्रिय रहेको आधारमा यो पटक मतदाताहरूले विश्वास गर्ने उनको भनाइ छ ।

 

 

अबको आर्थिक विकासको लागि उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले थपे, ‘सिन्धुलीको अर्थनीतिलाई बलियो बनाएको हेर्ने मन छ भने मलाई मतदान गरेर सहयोग गर्नुुस् ।’ खाली उद्योगी व्यवसायीको हकहितमा मात्रै भन्दा पनि सबै क्षेत्रको विकास गर्न सके स्वतस्फूर्त तरिकाले उद्योगी व्यवसायीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

 

दुवैजना विगत लामो समयदेखि सिन्धुलीमा रहेर व्यवसाय गरिरहेका छन् । यसअघि संघको महासचिव हुँदा पनि बृहत् सिन्धुली महोत्सव आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्ना क्षमता र सबल पक्ष उद्यमी व्यवसायी माझ राम्ररी परिचित रहेको बताए ।

 

यसपटकको निर्वाचनमा यसको उचित मूल्याकंन हुने पनि उम्मेवार चौधरीले बताए ।

 

आगामी तीन वर्षे कार्यकालको लागि प्रजातान्त्रिक र प्रगतिशिल प्यानल बिच प्रतिस्पर्धा हुदैँ छ । चुनाव यहि जेठ ४ गते हुदैँछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top