घरको चुलो देखि उद्योग वाणिज्य संघको उच्च पदसम्म

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २ गते बुधवार सिन्धुली

 

मधेसमा जन्मिएर पहाडको बुहारी बन्न पुगेकी पुजा फर्निचर उद्योगकी प्रोपाइटर राजमाया कार्की (रायमाझी) को जिन्दगि उतारचढावमा बितेको छ । देशमा माओवादीले गृहयुद्ध चर्काइरहेको बेला उनले धेरै दुःख पाइन् । सासु आमा र श्रीमान् प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माओवादीमा होमिएकाले पनि उनको जिन्दगी सरल हुन सकेन ।

 

विगतमा कम्युनिष्ट आन्दोलनमा उनका श्रीमान् र सासु आमाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महत्वपुर्ण भुमिका खेलेका छन् । पार्टीलाई अप्ठ्यारो पर्दा आफ्ना श्रीमान र सासुले ज्यानको बाजी राखेर सहयोग गरेको सम्झिदै उनी भन्छिन्,‘ अहिले जिल्लामा काम गर्ने कालु र मकै खाने भालुको संख्या बढेको छ ।’

 

जनयुद्धमा सरकारको तर्फबाट आफ्नो परिवारले बारम्बार यातना सहनु परेको क्षण सम्झदा मन भारी भएर आउने गरेको उनी बताउँछिन् । कम्युनिष्ट पृष्ठभुमिबाट आएपनि प्रजातान्त्रिक प्यानलबाट उनी उद्योग उपाध्यक्षका लागि चुनाव लड्दैछिन् । यस्तो किन हुन गयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई लाग्दैन कि हाम्रो प्यानल कुनै दलको एजेण्डा बोकेर चुनावमा सहभागिता भएको छ । ’ उनले स्पष्ट पार्दै भनिन्, ‘व्यवसायीहरुबिच पनि हाम्रो प्यानलले कुनै एक दलको भारी बोकेर अघि बढिरहेको हल्ला फैलिन पुगेछ । यो सरासर गल्ति हो । हामी सम्पुर्ण व्यवसायीहरुको हकहितकालागि आएका हौँ । कुनै दलको आबद्धता रहेर चुनावमा भाग लिएका छैनौँ ।’

 

 

रायमाझीले राजनैतिक दलको चासो हुनु स्वभाविक भएको पनि बताइन् । राजनैतिक दलले अभिभावकत्वको भुमिका निभाउनुपर्छ तर आन्तरिक कुरामा हस्तक्षेप गर्न नहुने उनको ठम्याई छ । २०६९ सालमा उद्योग वाणिज्य संघ सिन्धुलीको महिला सदस्यबाट उनको संघमा यात्रा शुरु भएको हो । उद्योग वाणिज्य संघमा आउनु अघि चुलोको वरिपरिनै आफ्नो दिन कट्ने गरेको उनी सम्झिन्छिन् । उनले भनिन्, ‘श्रीमान र परिवारको सहयोगले गर्दा म व्यपार व्यवसायमा लागेकि हुँ ।’ परिवारको सहयोग, आफ्नो दृढ संकल्प र प्रतिबद्धता भए आफूले सोचेको कुरा पुरा हुने उनी बताउँछिन् ।

 

उनले पाँच जनालाई रोजगारी दिएको पुजा फर्निचर उद्योग अहिले जिल्लाको लोकप्रिय उद्योग बन्न पुगेको छ । पाँच जनाबाट शुरु गरेको फर्निचरमा अहिले उनले १५ जनालाई रोजगार दिएकी छिन् । उनी भन्छिन्, ‘शुरुवाति दिनहरुमा धेरैनै संघर्ष गर्नुपर्‍यो ।’ सफल महिला व्यवसायी रायमाझी महिलाको लागि व्यवसाय गर्न विगतमा अप्ठ्यारो भएको सम्झिन्छिन् । अहिले भने रकम जुटाउन र व्यवसाय संचालन गर्न खासै अप्ठ्यारो नभएको उनी बताउँछिन् ।

 

 

उनले केहि पैसा लगानि गरि घरमै गाईवस्तु पालन पनि गरेकि छिन् । आठवटा भैँसि, छ वटा गाई र केहि खसि, बाख्रा पालन गरेकि उनले दुईजनालाई रोजगार दिएकी छिन् । त्यसैगरि, उनी निर्माण कम्पनिको प्रोपाइटर पनि हुन् । उनी विशेषगरि जिल्लामा महिला उद्यमीको संख्या बढ्नु पर्ने लगायत महिलालाई कुनै पनि व्यवसाय संचालन गर्दा विभिन्न निकायले सहयोग गर्नु पर्ने बताउँछिन् । उनले भनिन्, ‘महिलालाई व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्छ ।’

 

२०६९ सालको उद्योग वाणिज्य संघको चुनावमा उनले महिला तर्फ अत्याधिक मत पाएकी थिइन् । सह–कोषाध्यक्ष समेत बनेकि रायमाझी अहिले भने उद्योग उपाध्यक्षको प्रत्यासि हुन् । उनी आफूलाई व्यवसायीहरुले गृहिणिबाट गौरवासालि संघको उच्च पदमा पुर्‍याएको बताउँछिन् ।

 

चुनावको विषयमा कुरा गर्दा उनी भन्छिन्, ‘मलाई महिला, पुरुष देखि अधिकांश व्यवसायीहरुको सहयोग छ ।’ आफ्नो समूहमा सक्षम, निष्ठावान एवं अनुभवि उम्मेदवार रहेकाले पनि व्यवसायीहरुले आफूहरुलाई समर्थन गर्नेमा विश्वस्त छिन् । महिलालाई नेतृत्वमा ल्याउन जिल्लावासीले गरेको सहयोग सराहनिय रहेको उनी बताउँछिन् । संघको तीन वर्षे कार्यकालकालागि चुनाव लडिरहदा उनले भनिन्, ‘हाम्रा व्यवसायीहरुले सक्षम व्यक्तिलाई चुन्नेमा म विश्वसत छु ।’

 

जिल्लाको सफल महिला व्यवसायी रायमाझीबाट नव उद्यमीहरुले थुप्रै कुराहरु सिक्ने अवसर पाएका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top