एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण कहाँ अडकियो ?

सिन्धुली साैगात संवाददाता २०७५ जेठ १ गते मंगलवार काठमाडौं

 

एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको पार्टी एकताको नजिक रहेका दुबै पार्टीभित्र फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको आरोप नेताहरूको छ ।

 

एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको सम्वादलाई पातलो बनाएको भनेर कार्यकर्ताको आलोचना खेप्नु परेको छ ।

 

बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरूको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउनेलगायत सरकारको निर्णय प्रधानमन्त्री ओलीले एकलौटी रूपमा गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको हो ।

 

माओवादीले पार्टी एकतानजिक रहेको र संयुक्त सरकार रहेकाले कतिपय महत्वपूर्ण विषयहरूमा छलफल हुनुपर्ने भए पनि एमालेले छलफल नगरेको आरोप लगाउँदै आएको छ ।

 

दुई पार्टीबीच एकतापछि हुने विचार सिद्धान्त, कार्य्दिशा तथा आगामी लक्ष्यसमेतमा सहमति गर्दै हस्ताक्षर गरेका दुई दलबीच पछिल्लो पटक सरकार सञ्चालनमै खटपट देखिएको नेताहरूको भनाइ छ । तर, कार्यकर्ताहरूले निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार पार्टी एकीकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

दुई पार्टीबीच ७ फागुनमा एकताका सात आधारमा हस्ताक्षर गर्दै एकताको खाका तय गर्न दुई कार्यदलसमेत गठन भएको थियो । कार्यदलले २० चैत २०७४ मा ९ वैशाखमा एकता घोषणा गर्न सुझाव दिँदै प्रतिवेदन बुझाएको थियो ।

 

कार्यदलले जनयुद्धको विश्लेषण विधानमा राख्ने नराख्ने, चुनाव चिह्न तथा नेतृत्व र संगठन व्यवस्थापनको विषयको विवाद मिलाउने जिम्मा एकता संयोजन समितिलाई दिएको थियो । एकता संयोजन समिति ४ वैशाखमा बसेको बैठकले विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई दिएको थियो । दुई अध्यक्षबीच पटक–पटक छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top