आखिर कहाँ पुग्यो ३३ केजी सुन ?

पत्रपत्रिकाबाट २०७५ वैशाख २५ गते मंगलवार काठमाडौं

 

हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ, कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्‍यो भन्ने खोतल्न सकेको छैन ।

 

विमानस्थलबाटै गायब पारिएको सुनको खोजी गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको विशेष छानबिन समितिले गरिरहेको छ त?

 

समितिले २८ प्रतिवादी र ३४ फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेस गरेपछि हराएको सुन पत्ता लगाउने अपेक्षा गरिएको थियो। स्रोतका अनुसार समितिले सुनको रहस्य सुल्झाउन प्रयत्न गरे पनि त्यसमा अपेक्षित सूचना भेट्न सकेको छैन।

 

समिति सुनको रहस्यभन्दा पहिला मुद्दा चलाइएका अभियुक्तहरूको बैंकिङ विवरणका अलावा सम्पत्ति विवरण खोतल्ने र त्यसका आधारमा अकुत सम्पत्ति आर्जनको मुद्दा चलाउने तयारीमा जुटेको छ।

 

समितिका एक सदस्यका अनुसार अकुत आर्जन र आर्थिक कारोबारको अध्ययनका लागि समितिले राष्ट्र बैंकसँग समन्वय अगाडि बढाएको छ। गैरकानुनी धनआर्जन र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने राष्ट्र बैंकअन्तर्गतको समितिका एक सदस्यले भने ३३ किलो सुन तस्करीसँग जोडिएको मुद्दामा गठित समितिले कुनै परामर्श नलिएको बताए। यसबारे राष्ट्र बैंककै उच्च अधिकारीसँग समन्वय गरेको भए आफूलाई थाहा नभएको ती सदस्यले बताए।

 

समिति स्रोतका अनुसार सुन तस्करीमा संलग्न भनिएकाहरूको बैंक खातामा ठूलो परिमाणको रकम देखिँदैन। केही सदस्यको बैंक खातामा विभिन्न व्यक्तिबाट थोरैथोरै परिमाणको रकम जम्मा भएको देखिए पनि त्यही मात्रै अकुत सम्पत्तिको दाबी पुष्टि गर्न पर्याप्त देखिँदैन।

 

योजनाबद्ध रूपमा अभियुक्तहरूले सम्पत्ति लुकाएको र विभिन्न स्वरूपमा आफन्त र नजिकका मान्छेमार्फत लगानी गरेको देखिन्छ। प्रहरीका एक उच्च अधिकारीले संगठित अपराधमा संलग्नहरूको सम्पत्तिको सही विवरण भेट्नु हाम्रोजस्तो अनौपचारिक र गुप्त अर्थतन्त्र चलायमान मुलुकमा सजिलो नभएको बताए।

 

स्रोतका अनुसार सुन तस्करीमा संलग्न केही अभियुक्तले आफ्नो खाताबाट ८/९ लाखका दरले धेरै व्यक्तिलाई रकम पठाएको देखिन्छ। दस लाख रुपैयाँभन्दा धेरै रकम बैंकमार्फत ट्रान्सफर गर्दा स्रोत खुलाउनुपर्ने प्रावधान छ।

 

यसरी पठाइएको रकमबारे राष्ट्र बैंक पनि जानकार रहन्छ। सम्पत्तिको स्रोत खुल्ने डर र सम्पत्ति लुकाउनकै लागि केही अभियुक्तले करोडौं रकम त्यसरी विभिन्न व्यक्तिका खातामा पठाएको अनुसन्धान अधिकारीहरूको अनुमान छ।

 

समिति स्रोतका अनुसार तस्करीको सुनमा आंशिक लगानी गर्ने राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको बैंक खाताबाट सबभन्दा धेरै व्यक्तिका नाममा १० लाखभन्दा थोरै रकम धेरैपटक ट्रान्सफर भएको देखिन्छ।

समितिले गुरुङको बैंक खाता रोक्का गरेर सम्पत्ति जाँच गरेको थियो। उनले एउटै बैंकमा विभिन्न ५ वटा खाता खोलेको, चारवटा खातामा ४ करोड २१ लाख ५० हजार ३ सय ८२ पैसा देखिएको छ भने अस्वाभाविक रूपमा बारम्बार विभिन्न व्यक्तिका नाममा रकमान्तरण भएको छ।

 

समितिले अनामनगरमा गोरे भनिने चूडामणि उप्रेतीले अवैध सुन तस्करीको कारोबार गर्न भाडामा लिएको फ्ल्याटमा समेत विभिन्न तीन फरकफरक बैंकको चेक बरामद गरेको थियो। प्रहरीले उक्त फ्ल्याटबाट फेला पारेका दुई चेक र रकम जम्मा गरेको एक रसिदमा दस लाखभन्दा थोरै रकम कारोबार भएको उल्लेख थियो।

 

यसबाट पनि बुझ्न सकिन्छ कि दस लाखभन्दा धेरै रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने नियम छल्न अभियुक्तहरूका दस लाखभन्दा थोरै रकमको कारोबार मात्रै बैंकबाट गरेको देखिन्छ।

 

स्रोतका अनुसार अधिकांश रकमको कारोबार गर्न मनी ट्रान्सफर कम्पनीको उपयोग गरेको देखिन्छ। जसले छानबिन समितिलाई अभियुक्तहरूको आर्थिक कारोबार यकिन गर्न अप्ठ्यारो पारिरहेको छ।

 

समितिका सदस्यहरूले रहस्यमय तबरमा हराएको सुन कहाँ पुग्यो भन्ने प्रामाणिक सूचनासमेत पाएका छैनन्। सबैजसो अभियुक्तहरूको बयानमा सुन लुटिएको तथ्य खुले पनि लुट्ने व्यक्ति वा समूहको पोल खोलेका छैनन्।

 

एक उच्च प्रहरी अधिकारी त बयानमा आधारित अनुसन्धानलाई अदालतले बलियो प्रमाण नमान्ने र सुन खोज्नेतर्फ कमजोर प्रयत्न भइरहेका कारण संगठित सुन तस्करीको मुद्दा कमजोर बन्न सक्ने बताउँछन्।

 

अभियुक्तहरूको सम्पत्तिको स्रोत, आर्थिक कारोबारको शैली, सुन खरिदका निम्ति कसरी पैसा जुटाइन्छ र दुबईसम्म त्यो कसरी पुग्छ भन्नेबारे पनि समितिले अध्ययन थालेको छ। समितिले मोरङ जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा पक्राउ परेका र फरार प्रतिवादीहरूको सम्पत्ति रोक्का राख्न अदालतबाट अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

 

समितिले प्रतिवादी, परिवारका सदस्यहरू, आपराधिक समूहको नेतृत्व गर्ने र समूहको सदस्य भई आफू र अन्य कोही कसैको नाममा राखेको, अपराध कसुर गर्न प्रयोग गरेको, आपराधिक लाभबाट जम्मा गरेको चलअचल सम्पत्ति अनुसन्धानका क्रममा खोजी गर्ने सिलसिलामा सम्भावित अभिलेख राख्ने निकायसँग समन्वय थालिसकिएको जनाएको छ।

 

समितिले प्रतिवादीहरूको घरजग्गाको अभिलेख खोज्न मालपोत कार्यालयलहरू, सेयर सम्पत्ति बुझ्न, सवारी दर्ता बुझ्न र लगानी गरेका कम्पनीहरूको विवरण खोतल्न सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ। ती निकायबाट माग गरिएको विवरण प्राप्त भएपछि समितिले अदालतमा पेस गर्ने जनाए पनि सबै निकायबाट समितिले सूचना पाइसकेको देखिन्न।

सुन तस्करीको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार संगठित तस्करीमा आबद्ध समूहका सदस्यहरूले आफ्नो सम्पत्ति लुकाउन विभिन्न तरिका अपनाएको पाइन्छ। अरूको नाममा लगानी गर्ने, मिटर ब्याजमा पैसा लगाउनेजस्ता अभ्यास भइरहेको विगतका अनुभवले देखाउँछ।

 

तर प्रस्ट कागजी प्रमाण नहुँदा यस्ता लगानी प्रमाणित गर्न गाह्रो हुने र त्यही छिद्रमा प्रतिवादीहरू खेल्दै आरोपबाट बच्ने गरेको विगतका अनुभवले देखाउँछ। ती सदस्यले भने, ‘यसपाला के हुन्छ, हेर्न बाँकी छ।’

 

हराएको ३३ किलो सुन कहाँ छ भन्नेबारे भने समितिका सदस्यहरू नै अलमलमा छन्। अनौपचारिक कुराकानीमा समिति सदस्यहरू ३३ किलो सुनको रहस्यबारे अनेकन अडकल सुनाउँछन् तर त्यसबारे ठोस सूचना उनीहरूसँग छैन।

 

महानगरीय अपराध महाशाखाले शाक्यको हत्यालगत्तै थालेको अनुसन्धानमा हराएको भनिएको सुन खोज्न मृतक सनम शाक्यको गर्लफ्रेन्ड भनिएकी निशा सेन ठकुरीको कोठामा छापा मारेको थियो। निशाको कोठामा हराएको भनिएको सुन हुन सक्ने आँकलन गर्दै सई बालकृष्ण सञ्जेलले उनको कोठामा खानतलासी गरेका थिए। त्यहाँ सुन भेटिएन।

 

समितिले हराएको भनिएको सुन पत्ता लगाउन भन्दा हत्याको केस सल्टाउन र त्यससँग जोडिएर आउने अन्य तथ्य बटुल्न धेरै समय खर्चेको देखिन्छ। संगठित अपराधमा मुद्दा चलेका अधिकांश सुन तस्करीका घटनामा अदालतले सबुत प्रमाण अभावमा अभियुक्तहरूलाई सामान्य धरौटीमा छाडिदिएको पृष्ठभूमि छ। ‘सुन नै फेला परेका घटनामा त अभियुक्तहरू छुटिरहेका छन् भने हराएको सुन नै नभेटिएको अवस्थामा कसरी मुद्दा बलियो होला?’ प्रहरीका एक अनुसन्धान अधिकारीले आशंका व्यक्त गरे।

 

विमानस्थलबाट बाहिर निस्केपछि सानु बनको स्कुटरको डिक्कीमा सुन राखिएको, अनामनगरस्थित अफिस पुग्नुअगावै बन गायब भएको र दुई मोटरसाइकलमा हेलमेट लगाएर आएका चार जना अपरिचितले उनलाई लिएर गएको भन्नेबाहेक सुन कहाँ पुग्यो भन्ने सूचना खुलेको छैन।

 

नखोतलिएको पाटो

 

तस्करीको सुन कारोबारमा प्रत्यक्ष संलग्न भनिएका भुजुङले बयानका क्रममा हाडीगाउँस्थित चूडामणि उप्रेतीको सुन तस्करी गर्ने कोठाबारे बताएका छन्। तर उक्त कोठा कहाँ छ?

 

अहिले छ कि छैन भन्नेबारे समितिले खोतलेको छैन। त्यो कसको घरको कोठा हो र केका निम्ति उपयोग हुन्थ्यो वा उक्त कोठा बन्द भइसकेको छ भन्नेबारे बयानका क्रममा कसैले बताएका छैनन्, न समितिले नै त्यसबारे खोतल्ने काम गरेको छ।

 

समितिसँगको बयानका क्रममा भुजुङले विमानस्थलबाट बाहिरिएको सुन हराएपछि आफूहरूले खोज्ने पहल थालेको, सुन खोज्न चूडामणिलाई दबाब दिएको र सुन खोज्नकै लागि सांग्रिला होटलमा सालो भन्ने डेबिटर डाक्टर भन्ने छिरिङ वाङगेल घले र उनका सवारीचालक फाल्दुङ गुरुङ, चूडामणि र अन्य व्यक्ति बसेर छलफल गरेको बताएका छन्। तर समितिले फाल्दुङ गुरुङ को थिए र उनीसँग उक्त बैठकमा के कुरा भएको थियो भन्नेबारे बयान लिएको देखिँदैन।

 

एलबी भन्ने लालबहादुर मगरले पनि बयानका क्रममा सुन तस्करी गर्नेबारे २०७४ पुस २० गतेतिर भएको बैठकमा भुजुङका भान्जो पर्ने फाल्दुङ पनि उपस्थित हुने गरेकोबारे बताएका छन्। चन्दन भन्ने वीरेन्द्रमान श्रेष्ठले पनि बयानका क्रममा फाल्दुङको बारेमा बताएका छन्। उनले विभिन्न समयमा आफुले फाल्दुङले भनेका मान्छेहरूलाई भेटेर तस्करीको सुन दिने गरेको बताएका छन्।

 

हराएको भनिएको सुन तस्करीमा एउटी केटी पात्रको भूमिकाबारे चूडामणि उप्रेती, महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले समेत चासो राखेको देखिन्छ। मृतक सनम शाक्यको काठमाडौं बस्ने गर्लफ्रेन्ड निशा सेन ठकुरीसँग समितिले बयान लिएको छ। सुन हराएपछि सनम खुसुक्क काठमाडौं आएर गर्लफ्रेन्डसँग बसेको पनि खुलेको छ तर हराएको सुनबारे महानगरीय अपराध महाशाखाले उनको कोठा खानतलासी गर्दा केही भेट्टाएन।

 

समितिसँग बयानका क्रममा निशाले बताएकी छिन्, ‘मेरा साथी रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमलाई लुटने योजना बनाएका रहेछन्।’ समितिले भने निशाको बयानअनुसार सुन लुट्ने योजना बनाएकाहरूलाई शंकाको घेरामा राखेको देखिँदैन। समितिका एक सदस्य निशाले उक्त सुन लुटने घटना यो ३३ किलोको घटनासँग सम्बन्धित नरहेको र अरू नै प्रसंगमा भनेकाले शंकाको सुई त्यता नसोझ्याइएको बताउँछन्।

 

हराएको सुन खोज्न समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखासँग समेत सहयोग लिएको देखिँदैन। सुनको खोजीमा समितिले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागसँग समन्वय गरेको देखिन्छ।

 

तर अहिलेसम्म हराएको भनिएको सुन कहाँ छ भन्ने प्रश्नको उत्तर समितिसँग छैन। हराएको भनिएको सुनमा भारतीय लगानीकर्ता रहेको र लगानीकर्ताबीचको बेमेलका कारण सुन लुटिएको हुन सक्ने आशंका गरिए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला परेको छैन।कान्तिपुरमा खवर छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top