विद्यालय पुस्तकमा करोडौ कमिसन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १८ गते मंगलवार काठमाडौं

 

निजी विद्यालयहरुले वर्षेनी पुस्तकका नाममा करोडौ रुपैयाँ कमिसन लिने गरेको पाइएको छ । जसको सोझो मार अभिभावकले बेहोर्न बाध्य भएका छन् ।

 

निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनका अनुसार नेपालमा ८ हजार निजी विद्यालय सञ्चालनमा छन् । जानकारहरुका अनुसार निजी विद्यालयमा अहिले करिब २० लाख विद्यार्थी अध्ययन गर्छन । कक्षा १ देखि १० कक्षासम्म पुस्तकलाई औसतमा भाग लगाउने हो भने ८ वटा किताब पर्छन् ।

 

यसरी हेर्दा निजी विद्यालयमा अध्ययनरत २० लाख विद्यार्थीका लागि १ करोड ६० लाख किताबको आवश्यकता पर्छ । औसतमा १ किताब बराबर २०० रुपैयाँ मान्दा पुस्तकको मुल्य ३ अर्व २० करोड पर्न जान्छ ।

 

विद्यालय, पब्लिकेशन र स्टेशनरीले एउटा पुस्तकबाट ३५ प्रतिशत कमिसन खाँदा एउटा किताबबाट ७० रुपैयाँ हुन्छ भने १ करोड ६० लाख किताबबाट १ अर्व १२ करोड फाइदा हुन्छ ।

 

१ अर्व १२ करोड रुपैयाँलाई तीन भाग लगाउँदा प्रत्येकको भागमा ३७ करोड ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पर्न जान्छ । अब सोच्नुहोस् यसरी विद्यालय, स्टेशनरी र पब्लिकेशनको मिलेमहतोमा अभिभावकबाट पुस्तकका नाममा कति ठगी हुन्छ ।

 

निजी विद्यालयले पब्लिकेशन र स्टेशनरीसँग साझेदारी गरी कमिसनका आधारमा पब्लिकेशन छान्ने गरेको आरोपलाई प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमालले अस्वीकार गरेकी छिन् । रिमालका अनुसार हामीले कमिशनका आधारमा नभई विद्यार्थीका लागि किताब छान्दा लेखक हेरेर छान्ने गछौं । राम्रो लेखकले जुन पब्लिकेशनमा किताब प्रकाशन गर्छन् हामीले त्यहीँ पब्लिकेशनको किताब किन्न लगाउछौं ।

 

पुस्तक छान्दा राम्रो लेखकका साथ साथै छपाइको गुणस्तरीयता, सम्पादन जस्ता कुराहरुलाई पनि ध्यान दिने गरेको उपाध्यक्ष रिमालले बताइन् । हामीलाई कुनकुन स्टेशनरीले कुनकुन पब्लिकेशनको किताब बच्न राख्छ भन्ने कुरा थाहा हुँदैन जसले गर्दा अभिभावकहरुले पुस्तकका लागि पसलपसल डुल्दै हिड्ँनु पर्ने समस्या भएकाले हामीले यो स्टेशनरीमा पाइन्छ भनि सहजकर्ताको भूमिका निर्वाह गरिदिएका छौं कमिशन खाएका छैनौ । कमिसनकै आधारमा किताब छान्ने हो भने हामीलाई नयाँ पब्लिकेशनहरुले २५ देखि ३० प्रतिशत कमिशन दिन्छौं भन्ने गरेका छौ तर हामीले किताबको गुणस्तीयता चाहिन्छ भन्छौ । हामीलाई कमिशनको लोभ छैन ।

 

उपाध्यक्ष रिमालले विद्यार्थीहरुको पुस्तकबाट कमिसन नलिने तर विद्यालयको पूर्वाधार निमार्ण गर्नेका लागि पब्लिकेशनले सहयोग गर्ने गरेको बताइन् ।

 

प्याब्सनका महासचिव राजेन्द्र बाँनिया विद्यार्थीको पुस्तकबाट विद्यालयले कमिसन खाने कुरालाई अस्वीकार गर्छन् । विद्यार्थीका लागि किताब छान्दा कमिसनका आधारमा छान्ने कुरालाई उनले पनि स्वीकार गरेनन् । हामीले पुस्तक छान्दा सरकारी पाठ्यक्रमसँग आबद्ध भएको, सरकारले तोकेको मूल्य अनुसारको मूल्य भएको, विषयवस्तुका हिसाबले गुणस्तरीय र बजारमा यसको उपलब्धता कस्तो छ भन्ने कुरा बुझि किताब छान्ने गछौं ।

 

भन्छन्,“हामी किताब छनोट विज्ञाहरुलाई राखेर गर्न लगाउछौं कमिसनका आधारमा होइन ।”
रिमाल जस्तै बानियाँले पनि पुस्तकबाट कमिसन नलिए पनि विद्यालयको पूर्वाधार निर्माणमा भने पब्लिकेशनहरुले सहयोग गर्ने कुरा स्वीकार गर्छन् । बाँनियाले राम्रो कामका लागि जसले पनि सहयोग गर्ने बताए । उनले पुस्तक पसलेले विद्यार्थीलाई पुस्तक खरिद गर्दा दिँदै आएको छुटको प्रतिशत बृद्धि गर्नुपर्ने बताए । कतिपय विद्यालयहरुले कमिशन खाएका छैन भन्दैमा सबै निजी विद्यालयहरुलाई त्यस्तै गर्छन् भन्ने हुँदैन ।

 

एनप्याब्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही विद्यार्थीको पुस्तकबाट कमिसन खाने कुरालाई स्वीकार गर्दैनन् । उनले करोडौं लगानी गरी खोलिएको विद्यालयहरुले दुईचार हजारको लोभमा विद्यालयको स्थापित ख्याती गुमाउन नचाहेको बताए ।

 

उनले पब्लिकेशनहरुले विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्ने गरेको जानकारी दिए । पब्लिकेशनहरुले विद्यार्थीका लागि आवश्यक पर्ने सबै विषयको किताब प्रकाशन गरेपनि विद्यालयले फरक–फरक पब्लिकेशनको लिस्ट दिने गरेका छन् । अभिभावकलाई पुस्तक लिस्ट दिँदा विभिन्न पब्लिकेशनको लिस्ट दिइन्छ । जसले गर्दा अभिभावकले एकै ठाउँमा पुस्तक पाउँदैनन् । अनि पुस्तक लिस्ट लिएर चार्दै हिड्ँनुपर्छ ।

 

शाही भन्छन्,“पब्लिकेशनहरुको कुनै एक वा दुई विषयको पुस्तक मात्र गुणस्तरीय हुन्छ ।” कुनै पनि मान्छे सबै कुरामा पोख्त हुन्छ भन्ने हुँदैन यसरी नै पब्लिकेशनहरुले प्रकाशन गरेको पुस्तकहरु पनि कुनै विषयवस्तुको पाठ्यक्रम राम्रो हुन्छ भने त्यही पब्लिकेशनको अर्को किताबमा आवश्यक गुणस्तरीयता वा विद्यार्थीहरुलाई चाहिने विषयवस्तुलाई नसमेटिएको हुन सक्छ । त्यसैले गर्दा विद्यालयहरुले राम्रो विषयवस्तु हेर्ने भएकाले विभिन्न पब्लिकेशनको किताब पर्ने गरेको निवर्तमान अध्यक्ष शाहीले बताए ।

 

शाहीका अनुसार पब्लिकेशनहरुले कुनै एउटा मात्र विषयलाई महत्व दिई पुस्तक प्रकाशन गर्ने भएकाले हामीले विद्यार्थीहरुलाई एकै पब्लिकेशनको पुस्तक नपढाउने गरेको हो ।

 

एनप्याब्सनका वर्तमान अध्यक्ष ऋतुराज सापकोटाका अनुसार हामीले फरकफरक पब्लिकेशनको किताब राख्दा हामीलाई यस्तो आरोप लागेको हो । भन्छन्,“हामीले फरकफरक पब्लिकेशनको किताब राख्नु हाम्रो बाध्यता हो । ” समय अनुसार पाठ्यक्रम परिवर्तन नभएकाले यस्तो भएको हो ।

 

राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेको पाठ्यक्रममा विषयवस्तुलाई अपडेट गरी बढी भन्दा बढी विषयवस्तुलाई समेटिएको पाठ्यक्रम अहिलेका विद्यार्थीहरुलाई आवश्यक पर्छ । त्यसैले जुन पब्लिकेशनले यसमा ध्यान दिन्छ हामी त्यहि छान्ने गरेका कमिशनका आधारमा होइन ।

 

अध्यक्ष सापकोटाले निजी विद्यालयहरुले विद्यार्थीलाई अनावश्यक किताब किन्न लगाउँछ भन्ने आरोपलाई यसरी प्रष्ट पारेका छन्, हामीले धेरै किताब पढाउनका लागि हामीलाई पनि पढाउने समय मिलाउनुपर्छ । ७ घण्टी सम्म पढाउँदा हुन्छ भने हामीले विद्यार्थीलाई किन बढी किताब पढाउछौं समयलाई व्यवस्थापन गर्न हामीलाई पनी गाह्रो हुन्छ । सापकोटाले विद्यार्थीलाई सन्दर्भ सामग्रीका रुपमा नेपाली र अंग्रेजी किताबमा व्याकरण राख्ने गर्ने गरेको बताए । कलेजहरुमा जस्तै सन्दर्भ सामग्रीका रुपमा किताब राखेका छौं अनावश्यक होइन ।

 

निजी विद्यालयहरुले विद्यार्थीहरुको रकमबाट कमिशन खाएको कुरा अस्वीकार गरेको अवस्थामा अभिभावक संघका अध्यक्ष केशव पुरी निजी विद्यालयहरुले ४५ प्रतिशत भन्दा बढी रकम विद्यार्थीको पुस्तकबाट खाने गरेको दाबी गर्छन् । पब्लिकेशनले विद्यालयलाई किताब लिए वापत माटो रकम दिने र त्यसो मार अभिभावकमा पर्ने उनको भनाइ छ ।

 

एउटै पाठ्यक्रमहरु पनि पब्लिकेशन अनुसार फरकफरक मुल्य पर्ने गरेको छ । पब्लिकेशन अनुसार मुल्य मात्र फरक नभई पेजमा पनि फरक हुन्छ । बुद्ध पब्लिकेशनको कक्षा १ को १९२ पेज भएको गणितलाई २६५ रुपैयाँ तोकिएको छ भने कक्षा १ कै युनाइटेड पब्लिकेशनको १८८ पेजको गणित २७४ रुपैयाँ पर्छ । त्यस्तै एकता पब्लिकेशनको १४४ पेजको गणित प्लसलाई २१० पर्छ । यसरी गणित विषयमा विभिन्न नामक आधारमा फरकफरक शुल्क पाइन्छ । सबै गणित किताब बहुरङ्गमा प्रकाशित छ ।

 

त्यस्तै बृद्ध पब्लिकेशनको कक्षा ८ को २२८ पेजको कम्प्युटर किताबको मुल्य रु २६७ छ भने युनाइटेडको २२० पेजको कम्प्युटर किताबको मुल्य ३१९ रुपैयाँ छ । यसरी एउटै विषयको किताबमा पब्लिकेशन अनुसार फरकफरक मुल्य निर्धारण गरिएको छ ।

 

सबै विद्यालयको विषयवस्तु नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित र मुल्य पनि निर्देशिकामा तोके बमोजिम हुनु पर्ने भएपनि किताबको मुल्य पब्लिकेशनमा आधारित हुने गरेको छ । राज्यले पुस्तकको पृष्ठ संख्या र किताबमा प्रयोग गरिएको रङको आधारमा मुल्य निर्धारण गर्ने गरेको छ ।

 

विद्यालयको शुल्क र पुस्तकको मुल्यबाट अजित भएका अभिभावकलाई निजी विद्यालयहरुले आवश्यकता भन्दा बढी किताब किनाई अर्को आर्थिक बोझ थपि दिने गरेका छन् । । अहिले विद्यालयहरुले विद्यार्थीका लागि आवश्यक नपर्ने किताबहरु समेत किनाउने गरेको भेटिन्छ । निजी विद्यालयले विद्यार्थीलाई ज्ञानमुखी बनाउनका सन्दर्भ सामग्रीका रुपमा एउटा विषयका लागि २ देखि ३ वटा किताबहरु पनि किनाउने गरेका छन् ।

 

विद्यालयले विद्यार्थीलाई ज्ञान दिने नाममा धेरै भन्दा धेरै किताब किनाउने गरेको पाइन्छ । किताब बढी हुँदैमा विद्यार्थीमा ज्ञान बृद्धि हुँदैन । यो कुराको ज्ञान निजी विद्यालयका सञ्चालकहरुमा हुन आवश्यकता छ । विद्यार्थीहरुलाई उनीहरुले पढ्न सक्ने किताब र ग्रहण गर्न सक्ने ज्ञान दिनुपर्छ । निजी विद्यालयहरुले विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने कुरा गरिरहन्छन् भने अर्को तिर विद्यार्थीलाई किताबको रास किन्न लगाउँछन् ।

 

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को परिच्छेद ४ को शैक्षिक व्यवस्था सम्बन्धी शिर्षकमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ४ के.जी., ६ देखि ८ का लागि ६ के.जी.को पाठ्यक्रम र खाजा सहित झोला बोक्न पाउने नियम छ । पूर्व प्राथमिक तहका विद्यार्थीलाई भने पाठ्यसामग्री सहितको झोला बोक्न निरुत्साहन गर्नुपर्ने कुराको उल्लेख गरिएको छ तरपनि विद्यालयहरुले विद्यार्थीलाई आवश्यकता भन्दा बढी पुस्तक किनाउने गरेका छन् ।एजुकेसन न्यूज बाट ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top