सिन्धुलीका ५६ प्रतिशत घरपरिवार बैदेशिक रोजगारीको भर

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १५ गते शनिवार सिन्धुली

 

सिन्धुलीका अधिकांश परिवारको आय स्रोत बैदेशिक रोजगारी रहेको छ । जिल्लाका विभिन्न स्थानीय तहका आधाभन्दा धेरै घरपरिवार बैदेशिक रोजगारीबाट आश्रित छन् ।

 

सुरक्षित आप्रवासन परियोजना(सामी) सिन्धुलीका अनुसार कुल जनसंख्याको ५६ प्रतिशत परिवारका सदस्य रोजगारीको शिलशिलामा विदेशिएका छन् । विदेशिएका मध्ये सबैभन्दा धेरै ६७ प्रतिशत जनजातीहरु बैदेशिक रोजगारीमा गएको सामी परियोजनाको तथ्यांकले देखाएको छ ।

 

गरिबी, अशिक्षा र वेरोजगारीका कारण सिन्धुलीका युवाहरु विदेशिन बाध्य भएका हुन् । दैनिक जीविकोपार्जनमा समस्या परेपछि युवाहरु विदेशिने गरेका छन् ।

 

५४ प्रतिशत घरपरिवार विदेशि पैसाले धानिरहदाँ जिल्लामा कत्ति रेमिट्यान्स भित्रिन्छ भन्ने यकिन तथ्यांक भने कुनै पनि निकायसँग छैन । सामी परियोनकी कार्यक्रम संयोजक उमा पौडेलले जिल्लामा बैदेशिक रोजगारीबाट कत्ति रेमिट्यान्स आउछ भन्ने तथ्यांक राख्न आफुहरुले प्रयास गरिरहेको बताइन् । जिल्लाका विभिन्न स्थानबाट मानिसहरुले आईएमई गर्ने भएकाले तथ्यांक राख्न असजिलो भएको उनको भनाई छ ।

 

रोजगारीमा गएका आफ्ना आफन्तले पठाएको रकम लिन परिवारका सदस्यहरु सदरमुकामस्थित विभिन्न रेमिट्यान्स सेवा तथा बैंक कार्यालयमा आउने गरेका छन् भने केहीले जिल्लाको आफ्नै ठाँउमा स्थापना भएका लघुवित्त बैंक तथा राष्ट्रिय बाणिज्य बैंकका शाखा उपशाखाबाट रकम लिने गरेका छन् ।

 

सात हजार युवा विदेशिए

 

सिन्धुलीबाट एक वर्षमा नै झण्डै सात हजार युवा रोजगारीका लागि विदेशिएका छन् । जिल्लाबाट आर्थिक वर्ष २०७३ /७४ मा झण्डै सात हजार युवा रोजगारीको शिलशिलामा विदेशिएका हुन् ।

 

(सामी) तथ्याङक अनुसार आव २०७३ /७४ मा ६ हजार ८१६ जना युवा बैदेशिक रोजगारीमा गएका छन् । जसमा सिन्धुलीबाट सबैभन्दा धरै युवाहरु मलेसिया गएको तथ्यांकले देखाएको छ ।

 

बैदेशिक रोजगारीमा गएका मध्ये ४५ प्रतिशत मलेसिया गएका छन् भने २२ प्रतिशत साउदी अरबमा रोजगारीका लागि युवाहरु विदेशिएको सामी परियोजनाकी कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिइन् । त्यस्तै जिल्लाबाट रोजगारीका लागि विदेशिएका मध्ये १९ प्रतिशत कतार र १० प्रतिशत युएई गएको तथ्यांकमा उल्लेख छ ।

 

आर्थिक वर्ष २०७१ / ७२ को तुलनामा आव ०७३ / ७४ मा विदेश जाने युवाको संख्या घटेको कार्यक्रम संयोजक पौडेलले बताइन् । ०७०/७१ मा सिन्धुलीबाट अहिलेसम्मकै धेरै संख्यामा युवा विदेश पलायन भएको उनले बताइन् । सो आवमा जिल्लाका आठ हजार ६१३ जना युवा विदेश गएका थिए भने ७३ / ७४ मा ६ हजार ८१६ जना मात्रै युवा रोजगारीका लागि विदेश गएको सामीको तथ्यांकले देखाएको छ ।

 

जिल्लाबाट आव ०७२/७३ मा ५ हजार ३७१ जना विदेशिएका थिए । सामीका अनुसार ०६८/६९ मा ४ हजार ९१८, आव ०६९/७० मा ६ हजार ६९०, आव ०७०/७१ मा ७ हजार ९७३ विदेशिएका थिए ।

 

सवै भन्दा बढि २१ देखि २५ वर्ष उमेर समूहका मानिसहरु विदेशिने गरेको देखिएको छ ।

 

वैदेशिक रोजगारीमा जानेमा सिन्धुली १३ औँ स्थानमा रहेको सामिको तथ्यांककले जनाएको छ ।

 

अहिलेसम्म १ सय ३ जना वैदेशिक रोजगारीका क्रममा सिन्धुलीका नागरिकको ज्यान गएको तथ्यांक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top