पहिलोपटक पुरूषको ’प्राइभेट अंग’ र अण्डकोष एकसाथ प्रत्यारोपण

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १४ गते शुक्रवार काठमाडौं

 

अमेरिकी डाक्टरहरुले विश्वमै पहिलोपटक पुरूषको ‘प्राइभेट अंग’ लिंग तथा अण्डकोष प्रत्यारोपणमा सफलता पाएका छन् । मेरील्याण्ड बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयका सर्जनहरुले अफगानिस्तानमा भएको बम बिस्फोटमा घाइते भएका सैनिकको लिंग तथा अण्डकोष प्रत्यारोपण गरेका हुन् ।

 

यो शल्यक्रियाका लागि लिंग, अण्डकोष र एब्डोमिनल वाल भने एक दाताबाट लिइएको थियो । ती दाताको निधन भइसकेको छ । चिकित्सकहरुले ती सैनिक पुनः यौन गतिविधिमा सक्रिय हुन सक्ने दाबी गरेका छन् ।

 

गत २६ मार्चमा ११ डाक्टरहरुको टीमले १४ घण्टाभन्दा बढी समय लगाएर अपरेशन गरेका हुन् । अण्डकोष आसपासको एब्डोमिनल क्षेत्रसमेतको सबै भाग प्रत्यारोपण गरिएको यो पहिलोपटक हो ।
बिरामीको परिचय भने सार्वजनिक गरिएको छैन । बिरामीको भनाई उद्धृत गर्दै अस्पतालका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘जब म होसमा आएँ, पहिलेभन्दा अवस्था सामान्य भएको महसुस गरेको छु, अब म ठीक छु ।’

 

मेडिकल भाषामा यो अपरेशनलाई ‘भास्कुलराइज्ड कम्पोजिट एलोट्रान्सप्लान्टेशन’ भनिन्छ । यसको अर्थ, ‘छाला, हड्डी, मांसपेशी, टेन्डल र रक्तवाहिनी नली सबै परिवर्तन गर्नु’ भन्ने बुझिन्छ ।
गल्तीले बममाथि खुट्टा राख्दा पड्किएर ती सैनिकको अंगमा क्षति पुगेको थियो । शल्यक्रियामा संलग्न एक डाक्टरका अनुसार ती सैनिक ६ देखि १२ महिनासम्ममा पूर्ण रुपले निको हुनेछन् । जेनिटेरिनरी ट्रान्सप्लान्ट प्रोग्रामका क्लिनिकल निर्देशक डा. रिक रेडेटका अनुसार सैनिकको अवस्थामा सुधार भइरहेको छ र उनी यसैसाता घर जान सक्नेछन् ।

 

सन् २०१६ मा अमेरिकाको बोस्टनस्थिति म्यासाचुसेट्स जनरल हस्पिटलमा पहिलोपटक लिंग प्रत्यारोपण गरिएको थियो भने २०१४ मा दक्षिण अफ्रिकाका डाक्टरहरुले विश्वमै पहिलोपटक लिंग प्रत्यारोपण गरेका थिए । लिंग, अण्डकोष र एब्डोमिनल सहित प्रत्यारोपण गरिएको भने यो पहिलोपटक हो । (बिबिसि)

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top