दुना टपरी उद्योग विपन्न समुदायको जीविकोपार्जनको बिकल्प बन्दै

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १० गते सोमवार खनिया(सिन्धुली)

 

 

जंगलमा सुकेर खेर जाने सालको पातलाई सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ४ खनियाका विपन्न समुदायले जीविकोपार्जनको विकल्प बनेका छन् ।

 

लघु उद्यम विकास कार्यक्रम सिन्धुलीले तीन बर्षअघि यहाँका झण्डै दुई दर्जन बिपन्न महिलाहरुलाई संगठित गरी टपरी उत्पादन सम्बन्धि ज्ञान दिएपछि अहिले उनीहरुले गाँउमा नै कारखाना खोलेर आम्दानीको दरिलो माध्यम बनाएका छन् । उक्त कारखाना स्थापना भएपछि जङ्गलमा सुकेर खेर जाने सालको पात अहिले पैसामा परिणत भएको स्थानीयको भनाई छ ।

 

विपन्न समुदायले टपरी बनाउने ज्ञान पाएसँगै गाँउमै वरपिपल दुना टपरी उद्योगका खुलेको छ । साना तथा घरेलु उद्यमीका रुपमा गाँउमै परिचय बनाई सक्नु भएका टंकप्रसाद सापकोटाले उक्त उद्योगका अध्यक्ष हुन । अहिले उनले सालको पातबाट दुना टपरी बनाएर यसको विक्रिबाट आम्दानी त गरि रहेको छननै, सँगै आफ्नो समूहमा आबद्ध दुई दर्जन भन्दा बढि स्थानीयलाई समेत आम्दानीको बाटो देखाएका छन् ।

 

उद्योगका अध्यक्ष सापकोटाका अनुसार वि.सं. २०७१ सालमा गाँउमा लघु उद्यम विकास कार्यक्रम (मेडेप) शुरु भयो । यहि कार्यक्रमले यहाँका विपन्न समूदायलाई सालको पातबाट दुना टपरि बनाएर आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान दियो । स्थानीय समुदाय समुहमा संगठित बने र २२ जनाले यस सम्बधि तालिम लिए ।

 

‘त्यसपछाडी यो वरपिपल दुना टपरि उद्योग सञ्चालनमा आयो’ उनले भने, ‘यो उद्योग सञ्चालनका लागि मेडेपको आर्थिक सहयोग र स्थानीयको श्रमदान सहित दुई लाख ९३ हजारमा दुई कोठाको सामुदायिक भवन पनि बनाइएको छ । उक्त भवनमा मेसिन र टयांकिका लागि जिल्ला स्थित साना तथा घरेलु विकास समितिले सहयोग गरेको छ ।’

 

वि.सं. २०७२ साल चैत्र महिनामा यो दुना टपरी उद्योगलाई समुदायले सदरमुकाम सिन्धुलीमाढीस्थित स्थित घरेलु तथा साना उद्योग विकास समितीको कार्यालयमा दर्ता समेत गरेको उद्योगका सचिब टेकबहादुर दाहालले बताए । उनका अनुसार उक्त कार्यालयमा उद्योग दर्ता गरेर संगठित रुपमा उद्यमी बनेका यहाँका समूदायलाई प्रोत्साहन गर्न घरेलु विकास समितिले विभिन्न किसिमका सहयोग उपलब्ध गराउदै आइरहेको छ । समितिको सहयोगमा यो उद्योगबाट राष्ट्रिय तथा क्षेत्रिय प्रदर्शनीहरुमा सहभागिता र अन्यत्र रहेका यस्तै उद्योगहरुको अवलोकन भ्रमण लगायतका काम भएका छन् । यसले पनि समुदायलाई निकै प्रोत्साहन मिलेको छ ।

 

वरपिपल दुना टपरि उद्योगका अनुसार राजधानी काठमाडौँ लगायतका ठूला शहरी क्षेत्रमा समेत दुना टपरिको खपत बढेपछि यहाँ उत्पादित दुना टपरीको माग बढेको छ । यसैलाई मध्यनजर गर्दै यहाँका समुदायले दुना टपरी उत्पादन बृद्धि गर्ने र उद्योगको क्षमता समेत विस्तार गर्ने सोच बनाएका छन् । नजिकै जंगल रहेकोले १२ महिना नै यो उद्योग सञ्चालन हुन्छ ।

 

‘वरपिपल दुना टपरी उद्योगमा अहिले २ साइजमा टपरी र विभिन्न ३ साइजमा दुना उत्पादन गरिन्छ’, उद्योगका अध्यक्ष सापकोटाले भने, ‘यो उद्योगमा गत वर्ष दुई लाख पिस दुना टपरी उत्पादन गरि विक्री भएको थियो । यो वर्ष दुई लाख ५० हजार दुना टपरी उत्पादनको लक्ष्य राखिएको छ ।’ अहिले उत्पादित दुना, टपरी दुधौली बजार, मिर्चैया, काभ्रेको बनेपा लगायतका स्थानमा जाने गरेको छ भने स्थानीय स्तरमा पनि खपत हुने गरेको उनको भनाई छ ।

 

यहाँ उत्पादित तयारी दुना प्रति गोटा ८० पैसा र टपरी प्रतिगोटा २ रुपैयाँ २५ पैसामा होलसेलमा विक्रि भई रहेको उद्योले जनाएको छ ।

 

‘दुना बनाउनेले १०० वटा दुनाको २० रुपैया र १०० वटा टपरीको २५ रुपैयाका दरले ज्याला पाई रहेका छन्,’ उक्त व्यवसायमा संलग्न स्थानीय तुलसा बास्तोलाले भनिन, ‘दुना टपरी बनाउने व्यक्तिलाई ज्याला र ढुवानी खर्च कटाएर कच्चा पर्दाथ ल्याउने समुदायले दुनाका लागि प्रति गोटा ३० पैसा र टपरीको लागि प्रति गोटा एक रुपैयाँ १० पैसाका दरले शुल्क पाउछन् । स्थानीय समुदायले फुर्सदको समयमा नजिकै रहेको वनबाट निशुल्क ल्याउन सकिने सालको पात संकलन गरि आम्दानी गरिरहेका छन् ।’

 

केहि बढि समय दिएर काम गर्नेहरुले मासिक १० देखि १२ हजारसम्म पनि कमाउने गरेको उनले बताइन । व्यवसायि बास्तोलाका अनुसार समुदायले गर्ने आम्दानी भने उनीहरुले दिने समयमा निर्भर रहन्छ । यसरी हुने आम्दानीले विपन्न समुदायलाई आफना छोरा छोरीलाई विद्यालयको कपि किताव किन्नेदेखि घरयासी कामका लागि पनि राम्रो टेवा पुगेको छ ।

 

स्थापनाको समयदेखि नै उद्योगमा दुना टपरी बनाउने काम गर्दै आइ रहेका स्थानीय सन्तोष तामांग दम्पतीले दैनिक विहान ७ बजेदेखि १२ बजेसम्म दुना टपरी बनाएर मासिक १५ देखि २० हजारसम्म कमाउने गर्छन । उनले भने, ‘गाँउमा टपरी उद्योग खुलेपछि बेरोजगार बस्नु परेको छैन । घर व्यवहार राम्रोसँग चलेको छ भने छोराछोरीले पढाउन पाईएको छ । गाउँमै रोजगारीको अवसर मिलेपछि खुसि नहुने त कुरै भएन ।’

 

दुना टपरीको बजार बढ्दो क्रममा रहेको र माग उच्च भए पनि विभिन्न साइजका डाइ र सामुदायिक भवनमा कोठाको अभावले गर्दा उत्पादन बृद्धि गर्न कठिनाई भइरहेको छ । यहाँका समुदायले यसका लागि विभिन्न निकायहरुमा पहल गरिरहेका छन् । उद्योगको क्षमता बढाउन सके आफूहरुले हाल गरिरहेको आम्दानी बढ्ने उनीहरुले विश्वास लिएका छन् ।

 

प्लाष्टिकको प्लेटबाट हुने वातावरणिय प्रदुषण न्यूनिकरण गर्नका लागि पनि सालको पातबाट तयार हुने दुना टपरीको प्रयोगमा जोड दिनु पर्ने आवश्यकता रहेको उद्योगका सचिब दाहालको भनाई छ । ‘सालको पातबाट बन्ने दुना टपरी एक हिसाबले बाताबरण मैत्री पनि छ,’ उनले थपे, ‘हामै्र आसपासमा रहेका जंगल र यसमा उपलब्ध श्रोतहरुको उचित पहिचान गर्न सकिएको छैन । जसले गर्दा एकातिर बहुमूल्य ती श्रोत साधन त्यत्तिकै खेर गइरहेका छन । तिर मानिसहरु बेरोजगार बनेर गरीविमा बाँच्न बाध्य छन् ।’

 

त्यस्ता प्राकृतिक श्रोतको उचित प्रयोग गर्न सके यसले स्थानीयस्तरमै रोजगारीको सिर्जना त हुने नै छ, सँगै खेर गइरहेका ती श्रोतबाट राम्रो आम्दानी पनि गर्न सकिने बरपिपल दुना टपरि उद्योगका उद्यमीहरुको भनाई छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top