सिन्धुलीका चम्किला युवा जो आफ्नो क्षेत्रमा असाधरण देखिए

सगुन रायमाझी २०७४ चैत १९ गते सोमवार सिन्धुली

 

कुनै पनि कामको शुरुवात गर्दा त्यस्ले दिने प्रतिफलको सम्झनाले दुखलाई कम गरिदिन्छ । मान्छेले चाहेमा जेपनि गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण विश्वमा थुप्रै छन् । चाहे त्यो ‘रोबट सोफिया’ होस् वा चन्द्रमामा मान्छेको कदम नै किन नहोस्, मान्छेले परिकल्पना गरेको हरेक कुरालाई मान्छेले नै पुरा गरिरहेका छन् । हरेक क्षेत्रमा मान्छेले हात हालिसकेका छन् । तर, चर्चित उही व्यक्ति भएको छ जो असाधरण देखियो, सफल उही व्यक्ति छ जस्ले आफ्नो क्षेत्रमा नयाँ आयम ल्यायो र अनुकरणीय उही छ जस्ले फरक तरिकाले आफ्नो क्षेत्रमा श्रम एवं लगाव लगाएर मिहिनेतको धरातलमा उभियो । सधैँ आफ्नो क्षेत्रको विकास गर्न तत्पर रहने युवाहरुको संख्या नेपालमा बढ्दो छ । सिन्धुली जिल्लाको सन्दर्भमा हेर्ने हो भने अहिलेका पुस्ताहरु जिल्लाको विकासमा लाग्नुपर्छ भन्ने हुटहुटि बोकेर हिडिँरहेका छन् । निर्माण क्षेत्र, होटल व्यवसाय, सांगितिक क्षेत्र, फेसन क्षेत्र लगायत हरेक क्षेत्रमा जिल्लाका युवाहरुले आफ्नो योग्दान दिएका छन् । चर्चा गरौँ तिनै जिल्लाका युवाहरुको जस्ले आफ्नो क्षेत्रमा सफलता हासिल गरिरहेका छन् ।

 

दिनेश काफ्ले

 

सिन्धुली जिल्लालाई देश विदेशमा चिनाउन सफल बनेका छन्, कलाकार दिनेश काफ्ले । कमेडियन काफ्लेले कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनले थुप्रै देशहरुमा स्टेज कार्यक्रमहरु गरेर लाखौँेको संख्यामा प्रशंसक कमाएका छन् । चैत्र १५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज डान्स रियालिटी शो ‘बुगि वुगि’मा काफ्लेले होस्ट गरिरहेका छन् । सिन्धुलीका कलाकारले अन्तर्राष्ट्रिय फ्रेन्चाईज सोको होस्ट गर्न पाउनु सिन्धुलीवासीका लागि गौरवको विषय बनेको छ ।

 

 

काफ्लेले सय भन्दा बढि विभिन्न ब्यक्तिहरुको क्यारिकेचर गरेको भिडियोहरु सामाजिक संजालमा भाइरल बनेका छन् । सिन्धुली जिल्लाबाट कलाकारीता क्षेत्रमा पाइला टेकेका काफ्ले अहिले हास्य क्षेत्रमा राज गर्न सफल बनेका छन् । उनले आगामी दिनमा सिन्धुली जिल्लाबाट कलाकारीता क्षेत्रमा लाग्न चाहानेलाई एउटा राम्रो मञ्च दिने सोच बनाएका छन् ।

 

उज्जवल थापा

 

सिन्धुलीको वडा नं. ६ का वडाध्यक्ष उज्जवल थापाले जोसिलो उमेरमा ठुलो जिम्मेवारी पाएका छन् । उनी जननिर्वाचित वडाध्यक्ष हुन् । राजनितिमा युवाहरुको घट्दो चाखलाई उनले पुनजिवित गराएका छन् ।

 

 

वडाध्यक्ष थापाले आफ्नो वडालाई समृद्ध बनाउन थुप्रै योजनाहरु बनाएका छन् । उनले आगामी दिनमा आफ्नो वडालाई समृद्ध वडा बनाउन लागिपरेका छन् । जिल्लाका उदाहरणीय युवामा थापालाई लिने गरिएको छ ।

 

सन्तोष सापकोटा

 

उमेरले तीन दशक पार गरेका सन्तोष सापकोटाले सिन्धुलीको शिक्षा क्षेत्रको विकासमा पहलदारी कदम चलाइरहेका छन् ।

 

 

जिल्लाको पुरानो विद्यालय, कमला विद्यालयमा एकाउन्टेन्टका रुपमा ९ वर्ष काम गरेका सापकोटा अहिले भने सिन्धुली कम्मयुनिटि टेक्निकल ईन्ष्टिच्युटमा एकाउन्टेन्टकै रुपमा काम गरिरहेका छन् । उनले आगामी दिनमा शिक्षा क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

 

 

रोशन लामा

 

काठमाडौँको च्यासलमा रहेको हिमालयन कलेजबाट आर्किटेक्टमा स्नातक गरेका रोशन लामा जिल्लाका लोकप्रिय युवामा गन्निछन् । उमेरले २८ वर्ष पुगका लामालाई जिल्लामा मन नपराउने सायदै कोहि होलान् ।

 

 

मिजासिलो स्वभावका लामाले ईन्जिनियरिङको क्षेत्रमा जिल्लामा एकछत्र राज गरिरहेका छन् । कुनैपनि काम गर्दा निष्ठापुर्ण भएर लाग्नुनै उनको विशेषता हो । जिल्लामा युवाहरुले विभिन्न कार्यक्रम वा केहि गर्न खोज्दा प्राय सबैले उनको सल्लाह लिने गर्दछन् । सहयोगी भावना बोकेका लामाले आफ्नो निजी कन्सल्टेन्सी स्थापना गरेर दर्जनौँ युवाहरुलाई रोजगार दिएका छन् । हरेक उमेरका मानिससँग उनको सम्बन्ध सुमधुर छ । त्यसैले त उनको लोकप्रियता चुलिदै गएको छ ।

 

सुवाष कार्की

 

सुवाष कार्की जिल्लामा एउटा यस्तो परिचित नाम बनेको छ, जस्ले सिन्धुलीको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याउने प्रयत्न गरिरहेका छन् । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका कार्कीले जिल्ला अस्पतालमा थुप्रै परिवर्तन ल्याएका छन् ।

 

 

युवालाई जिम्मेवारी दिए जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् कार्की । उनले गरेको कामको प्रशंसा धेरैले गर्ने गरेका छन् । जिल्लाको स्वास्थ्य क्षेत्रमा उनले थालेको सुधारको सबैले प्रशंसा गरेका छन् ।

 

दिन्जुल कटुवाल र दिपेन्द्र थापा

 

पढ्नकालागि आफ्नो जिल्ला छोडेर बाहिरीनेको कुनै कमि छैन सिन्धुली जिल्लामा । तर, पढ्नकालागि बाहिर गएकाहरुले जिल्लालाई कर्मथलो बनाउन सकिरहेका छैनन् । सिन्धुलीका डाक्टरद्वय दिन्जुल कटुवाल र भिमानका दिपेन्द्र थापाले भने जिल्लमै हस्पिटल खोलेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रयास गरिरहेका छन् । सिन्धुली जिल्ला स्वास्थ्यको क्षेत्रमा निकै पिछडिएको छ । यो अवस्थामा डाक्टरद्वय कट्वाल र थापाले जिल्लामै गुणस्तरिय पोलिक्लिनिक खोल्नु जिल्लावासीकालागि खुशीको विषय बनेको छ ।

 

 

जिल्लाका लोकप्रिय नेता प्रदिप कट्वालका छोरा दिन्जुल कट्वालले आफ्नो बुवाको प्रतिष्ठालाई झन् उच्च बनाएका छन् । कट्वाल र थापाले उच्च शिक्षा बाहिर जिल्लाबाट लिएर आफ्नै गृह जिल्लामा सिन्धुली पोलिक्लिनिक खोलेका छन् । उनले जिल्लामा अत्यावश्यक रहेको हस्पिटल खोलेर जिल्लावासीलाई सेवा दिदैँ आएका छन् । सिन्धुली जिल्लाकै नागरिकले स्वास्थ्य क्षेत्रमा देखाएको चासो र कामप्रति सबै जिल्लावासी खुशी छन् ।

 

गोपाल वाईबा

 

अहिलेका युवापुस्ता फेसनमा लगाव राख्ने गर्दछन् । आफू फेसनेवल भएर हिँड्ने रहर सबै उमेरका मानिसमा हुन्छ । सिन्धुली जिल्लामा नयाँनयाँ फेसन भित्राउनेमा कपडा व्यवसायी गोपाल वाईबाको महत्वपुर्ण योग्दान छ । वाईबा कनपा–६, गैरीबजारमा रहेको खुशी कलेक्सनका संचालक हुन् । उनले युवाजमातको मनोविज्ञान बुझेर देश, विदेशमा चलिरहेको फेसन जिल्लामा भित्राउने गरेका छन् ।

 

 

उनका ग्राहक अधिकांश युवाहरु छन् । सदरमुकाम देखि गाउँगाउँका युवाहरु उनका ग्राहक हुन् । कपडा व्यवसायमा प्रतिस्पर्धा अत्याधिक भएपनि उनले आफ्नो वर्चश्वलाई घट्न दिएका छैनन् । युवा व्यवसायीका रुपमा आफूलाई स्थापित गर्न सफल बनेका वाईबाले जिल्लामा संचालन भएका कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आएका छन् । वाईबाले जिल्लामा कपडा व्यवसायमा प्रतिस्पर्धा बढ्दा ग्राहकले झन् धेरै विकल्प पाएकोमा खुशी व्यक्त गर्ने गरेका छन् । ग्राहकको मन जित्न सफल व्यवसायीले नै यस क्षेत्रमा राज गर्ने उनको ठम्याई छ ।

 

प्रिन्स राज

 

जिल्लामा सिन्धुली आइडल र मिस टिन जस्ता ठुला कार्यक्रमहरु ल्याएर जिल्लाका प्रतिभाहरुलाई सुनौलो मञ्च दिएका राजकुमार पौडेल उर्फ ‘र्‍यापर प्रिन्स राज’ले जिल्लाको कला क्षेत्रको विकासमा विशेष भुमिका खेलेका छन् । उनको योग्दानलाई जिल्लावासीले आत्मशात गर्दै सहयोग गर्दै आएका छन् ।

 

 

विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय स्तरका कलाकारलाई सिन्धुली भित्राएका र्‍यापर राजले कला क्षेत्रमा आफ्नो भविष्य देखेकालाई ठुलो मञ्च दिदैँ आएका छन् । जिल्लामा उनका हजारौँ प्रशंसकहरु छन् । जिल्लावासीहरुले उनको कामलाई सम्मान गरेका छन् । कलाकारिता क्षेत्रमा लागेपछि आलोचनाको शिकार नहुने कोहि हुदैँन । उनका आलोचकहरु जिल्लामा नरहेका होइनन् तर उनले आफ्नो काममा देखाएको निष्ठाले आलोचकको मुख थुन्न सफल भएका छन् ।

 

सिताराम पहाडी

 

सिन्धुलीमा सानो व्यवसायबाट आफ्नो व्यवसायिक यात्रा शुरु गरेका सिताराम पहाडी अहिले होटल व्यवसायमा चर्चित नाम बनेका छन् ।

 

 

उनको संघर्षको यात्रा र सफलता उदाहरणिय छ । उनले कनपा–६, रातमाटामा संचालन गरेको सिताराम पार्टी प्यालेस जिल्लाको उत्कृष्ट पार्टी प्यालेसमा गनिन्छ । होटेल व्यवसायमा झण्डै एक दशकको अनुभव बोकेका पहाडीले आफ्नो क्षेत्रमा प्रशंसनिय काम गरिरहेका छन् ।

 

ट्रिभा थापा (साने)

 

जिल्लाको एकमात्र स्विमिङ पुल रहेको होटेल संचालन गर्दै आएका ट्रिभा थापा, ३३ वर्ष, उर्फ ‘साने’ ले आफ्ना दाईको सहकार्यमा ठुलो जोखिम लिएर जिल्लामा उत्कृष्ट होटल संचालन गर्दै आएका छन् । करोडौँको लगानी लगाएर संचालन गरेको उक्त होटलका संचालकले सिन्धुली जस्तो सानो जिल्लामा जोखिम मोलेकै हुन् । जिल्लामा पर्यटकहरुकालागि रमणिय एवं गुणस्तरिय होटलको कमि भइरहदा थापाले उक्त होटल संचालन गर्नु जिल्लाकै गौरवको विषय हो । किनभने, जोकोहि पर्यटकलाई बस्नकालागि सजिलै प्रयास होटलको नाम सुझाउँदा आफैँलाई आनन्दको महशुश हुनेगर्दछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top