खुमबहादुरको निधनपछि को–को हुँदैछन् ‘राजनीतिक टुहुरा’ ?

सिन्धुली साैगात संवाददाता २०७४ चैत १९ गते सोमवार काठमाडौं

 

नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री भिम सिंह गुरूङ् अन्य कांग्रेसी भन्दा अधिक भावुक भए । कांग्रेस मुख्यालय वीपी स्मृति भवन सानेपामा दिवंगत नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली दिँदै गर्दा उनी यस्तो भावुकतामा देखिए । खुमबहादुरप्रति सामाजिक सञ्जालमा उनले लेखे– मृत्यु निश्चित छ । तर अकल्पनिय भयो । उनले योसँगै खुमबहादुरलाई कांग्रेसभित्र गरिएको अन्यायमाथि आक्रोश पोख्दै लेखे,‘ब्वाँसोहरूको हुलले सिंहको कायरता र छलपूर्वक न्यायीक हत्या गरेको छ ।’

 

गुरूङ तिनै हुन् जसले तत्कालिन नेकपा माओवादीको युवक संगठन वाइसीएलको अर्ध सैनिक बलको आक्रमणको प्रतिरोध गर्दा घाइते भए । अस्पतालमा बसे । जसलाई खुमबहादुरले ढाडस दिए र ढाड थपथपाए । कांग्रेसभित्र खुमबहादुर फरक प्रकृतिका पिल्लर थिए । उनका पछाडी नेताको होइन, कार्यकर्ताको ठूलो लावालस्कर थियो । खासगरी विद्यार्थी र युवक संगठनमा खुमबहादुर एउटा दह्रो पिल्लर थिए । उनको निधनसँगै यस पिल्लरसँगको भरमा कांग्रेस राजनीतिमा अगाडी बढिरहेका धेरै ‘राजनीतिक टुहुरा’ भएको महसुस गरिरहेका छन् ।

 

नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचार गराउने क्रममा खुमबहादुरको अवस्था रेखदेखमा व्यस्त थिए कांग्रेस ललितपुरका युवा नेता मिनकृष्ण महर्जन । अवस्था सुधार हुन थालेको उनले सूचना दिए पनि खुमबहादुरले राजनीतिको एउटा अध्यायसँगै जीवनको अध्याय पनि समाप्त गरिरहेका थिए । उनले पनि सायद छत गुमाएको महसुस गरेका छन् ।

 

कांग्रेसमा पूर्णबहादुर खड्का, शंकर भण्डारी, पुष्पा भुसाललगायतका नेताहरूले छत गुमाएको महसुस यसै पनि गरेका छन् । स्व. सुशिल कोइरालाको नेतृत्का बेला कांग्रेसमा खुमबहादुरका तर्फबाट पूर्णबहादुर सह–महामन्त्रीमा मनोनित पनि भएका थिए । उनको राजनीतिक ताकत जेलमा हुँदा पनि थियो । जेल सजाय सकेर उनी बाहिर निस्कँदा स्वागत गर्न बसेको ठूलो भिँड यसको प्रमाण थियो । उनको घर बुढानिलकण्ठ पछिको अर्को पिल्लर थियो, कांग्रेसका लागि ।

 

उनको निधनले गुटको नेतृत्व गुमेको छ । योसँगै कांग्रेसभित्र एउटा दरिलो मुद्दाको पनि अन्त्य भएको ठानिन्छ । सानेपामा श्रद्धाञ्जलीका लागि राखिएका खुमबहादुर खड्कालाई झन्डा ओढाउँदै गर्दा कांग्रेसभित्र जागिरहेको एउटा फरक आवाज ढाकिएको धेरैले महसुस गरे । खासगरी युवा संगठन र महासमितिमा बहुमतमा रहेका खड्काको भौतिक समाप्तीसँगै कांग्रेसभित्रको धार्मिक एजेन्डा पनि विलय हुँदै थियो ।

भागवन्डाको गुट र उपगुटका विषयमा चर्को बहस चलिरहेको केन्द्रीय समितिको बैठकमा खुमबहादुर गयल भएका कारण धार्मिक एजेन्डाले स्थान पाएन । त्यसअघि महाधिवेशनमा यस विषयले ठूलो धक्का दिएको थियो ।

 

युरोपियन युनियनको खिलाफमा कांग्रेसभित्र अभियान चलाउने खुमबहादुर कुनै पनि हालतमा हिन्दू राज्य कायम गर्ने अभियानमा थिए । पछिल्लो समय भारतीय संस्थापनको विश्वास जित्ने एकमात्र नेता उनै थिए । जसको स्वास्थ्यको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि चासो राखेका थिए ।

 

१२ औं महाधिवेशनका समयमा कांग्रेसभित्र धर्म निरपेक्ष राज्यको चर्को विरोध भयो । माओवादीको एजेन्डामा गिरीजाप्रसाद कोइरालाले कांग्रेसलाई उभ्याए पनि कांग्रेससँग बहुमत जनसंख्याले मान्ने धार्मिक मुद्दामा लिवरल बन्न नहुने आवाज उठेको थियो । खुमबहादुरको नेतृत्वमा नै यस्तो आवाज बन्दसत्र भित्र उठेको थियो । बहुमत सदस्यले उनको एजेन्डालाई स्थापित गर्नुपर्ने मानेका कारणले नै केन्द्रीय सदस्यमा उनी तेस्रो ठूलो मतले विजयी भएका थिए ।

 

नेपालको कानुनले बाँधेको परिधिका आधारमा उनी आम निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । बनेको भए सायद जित हात पार्ने थिए । ‘कांग्रेस पतनको बाटो हिन्दू राज्यको विपक्षमा मत गर्दादेखि नै भएको थियो । अब हिन्दूत्वको रक्षा कांग्रेस बाहेकले गर्न सक्तैन, नेतृत्व त्यसमा लाग्नुपर्छ । म निरन्तर लागिरहन्छु ।’, उनी भन्ने गर्दथे । उनको यो अभियानका कारण कतिपयले कांग्रेसको साधारण सदस्य समेत नरहेगरी कारबाही गर्नुपर्ने माग राखे । तर, नेतृत्वले यो कदम उठाउन सकेन । अत्तालिनु, त्रसित हुनु र डारउनुपर्ने एउटै कारण थियो– खुमबहादुर धेरै कार्यकर्ताका प्रिय अभिभावक थिए, एउटा शक्तिशाली पिल्लर थिए । त्यसैले उनको हिन्दूवादी अभियान पनि रोकिएको थिएन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top