छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र

रासस २०७४ फागुन ३० गते बुधवार लिबाङ, रोल्पा

 

रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुन । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गरेकी हुन ।

 

सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै उनको पहिलो सन्तानको जन्म भएको हो । सुन्तलीको कोखबाट २÷३ वर्षको जन्मान्तरमा नौ बहिनी छोरी र तीन भाइ छोरा जन्मिए पनि उनको काखमा आठ बहिनी छोरी मात्र जीवित छन् ।

 

एक छोरी र तीन भाइ छोरा भने जीवित रहेनन् जसका कारण सुन्तलीले रातदिन यातना सहनुप¥यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उनका श्रीमान्ले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खानलाउन नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहे । तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो । उनका अनुसार छोराहरू जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमान्ले सौता हालेका थिए ।

 

दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमान्ले दोस्रो विवाह गरेपनि उनका श्रीमान्को सपना पूरा हुन सकेन । दोस्रो श्रीमतीबाट पनि दुई बहिनी छोरीहरूको जन्म भयो । कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमान्को छोरा जन्माउने सपना सपनामै सीमित रह्यो । कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आए । जेठीबाट आठ बहिनी र कान्छीबाट दुई बहिनी गरी सुनारका १० बहिनी छोरी जीवितै छन् ।

 

सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमान्ले जे गरे पनि हुने मान्यता कायमै रहेको हुँदा सुनारले दोस्रो बिहे गरेका थिए र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै आएका छन ।

 

‘मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,’ उनले भनिन । हिजोआज यो दम्पती निकै चिन्तित छ । बाचुञ्जेल पाल्न र मर्ने बेलामा चितासम्म पु¥याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पतीलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ । सबै छोरी विवाह गरेर घरघर गइसकेका छन् । उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहेकी छिन ।

 

सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उनमा झन् निराशा थपिने गर्छ । बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा अपुताली पर्नेभो भनेको सुन्दा सुनार दम्पतीलाई असह्य पीडा हुने गर्छ । ‘यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमान्बाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि,’ उनले गुनासो गरिन ।
धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करीब ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको रासससँग बताए । थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन् । उनि पुनः गर्भवती भएकी छिन । आइतबार जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको छ ।

 

यस्तै, चिकित्सकले यही फागुन १९ गते सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्ला बाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया युवतीले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताइन ।

 

उनका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार बहिनी छोरी छन् । तर पनि उनि आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चाहन्छिन । ‘छोराछोरी बराबर भन्छन् तर बराबर हुनै सक्दैन, छोरा भनेको छोरा नै हो त्यसैले छोरा जन्माउन चाहन्छु, तर हेरौँ भाग्य कस्तो छ ? भाग्यमानी छु कि अभागी’, उनले भनिन ।

 

यस्तै कारणले गर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकिराखेको छैन । समानताका कुरा नारा र भाषणमा मात्र सीमित बनेका छन् । छोरा नपाए सौता हाल्ने, श्रीमतीलाई कुटपिट गर्ने, खानलाउन नदिने तथा घर निकाला गर्ने परम्परा अझै पनि देख्न र सुन्न पाइन्छ जसका कारण हिंसामुक्त हुन महिला पनि छोरा नै जन्माउन चाहन्छन् ।

 

ठूलो संख्याका महिला पछिल्ला दिनमा न्याय खोज्न भन्दै सरोकारवाला निकायमा पुग्ने गरेका छन् । त्यसैले छोरा होस् वा छोरी दुवै जन्मनुमा महिला र पुरुष दुवैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा सबैलाई बुझाउनु जरुरी देखिन्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top