नेपालले हङकङलाई ५ विकेटले हरायो

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार काठमाडौं

 

विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ ।

 

हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने ।

 

त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् ।

 

हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।

 

हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २/२ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

 

 

यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो ।

 

पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top